६८ वर्षपछि देखियो चन्द्रमा चम्किलो र ठूलो
आज बेलुका चन्द्रमा पृथ्वीबाट अन्य पूर्णिमाका दिनभन्दा १४ प्रतिशत ठूलो र ३० प्रतिशत चम्किलो देखिएको छ ।
६८ वर्षपछि चन्द्रमा पृथ्वीको सबैभन्दा नजिक आएको हो। । चन्द्रमा र पृथ्वीको बीचको दूरी घटेर करिब ३ लाख ५६ हजार ५०९ किलोमिटर भएको छ ।
अमेरिकी अन्तरीक्ष संस्था नासाका अनुसार आज चन्द्रमा अन्य सामान्य दिनको तुलनामा करिब १४ प्रतिशत ठूलो र ३० प्रतिशत चम्किलो देखिएको छ ।
हरेक पूर्णिमामा चन्द्रमाको आकार ठूलो देखिन्छ । तर चन्द्रमा र पृथ्वीबीचको दुरी ३ लाख ६० हजार किलोमिटरभन्दा कम हुन्छ त्यसबेला 'सुपरमुन' देखिन्छ । यस वर्ष ६ वटा सुपरमुन रहेकोमा तीन वटा यसअघि नै देखिइसकेका छन् भने बाँकी दुई वटा (एउटा आज १४ नोभेम्बर र अर्को १४ डिसेम्बर) देखिन बाँकी छ ।
यद्यपी आजको ‘सुपर मुन’ भने अरु सुपरमुन भन्दा पनि ठूलो र चम्किलो देखिने छ । त्यसैले खगोलशास्त्रमा रुची राख्नेहरु यसलाई ‘सुपर–डुपर मुन’ भनिरहेका छन् । यसपछि २५ नोभेम्बर २०३४ मा मात्रै चन्द्रमा पृथ्वीबाट यती ठूलो आकारमा देखिने छ ।
यसअघि २६ जनवरी १९४८ मा चन्द्रमा र पृथ्वीको दुरी यसैगरी छोटिएको थियो ।
‘सुपर मुन’का बेला पृथ्वीमा भूकम्प जाने, ज्वालामुखी विष्फोट हुने जस्ता हल्ला चले पनि समुद्रमा ज्वारभाटा सामान्य दिनको भन्दा बढ्ने बाहेक सुपरमुनका कारण अरु केही नहुने नासाले जनाएको छ ।