डिपिएलका लागि २०५ खेलाडीद्वारा नाम दर्ता
आगामी २६ माघदेखि ११ फागुनसम्म धनगढीमा आयोजना हुने धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगितामा सहभागी हुन २०५ खेलाडीले नाम दर्ता गराएका छन् ।
१७ पुससम्मको समयभित्र २०५ खेलाडीले नाम दर्ता गराएको आयोजक धनगढी क्रिकेट एकेडेमीले आज जनाएको छ । ४ पुसदेखि खेलाडी दर्ता खुलेको थियो ।
आयोजकले खेलाडीलाई न्यूनतम रु ३० हजारदेखि अधिकतम रु दुई लाख ५० हजारसम्मको मूल्य राखेर नाम दर्ताको आह्वान गरेको थियो ।
दर्ता भएका खेलाडीलाई समावेश गर्दै आयोजकले अब खेलाडी लिलामी बिक्री प्रक्रिया अघि बढाउनेछ ।
खेलाडी लिलामी (अक्सन) २२ पुसमा हुने आयोजक संस्थाका अध्यक्ष सुवास शाहीले जानकारी दिए । अक्सनबाट छनोट भएका खेलाडीलाई सहभागी टोलीले आगामी तीन वर्षका लागि अनुबन्धन गर्नेछ ।
प्रतियोगिताका सम्पूर्ण खेल धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा हुनेछ ।
प्रतियोगितामा छ फ्रेन्चाइज टोलीले सहभागिता जनाउने छन् । सहभागी टोलीमा चौराहा धनगढी, सिवाइसी अत्तरिया, रुपन्देही च्यालेन्जर्स, महेन्द्रनगर युनाइटेड, काठमाडौँ गोल्डेन र विराटनगर किंग्स रहेका छन् ।
राउण्ड रोबिन लिगका आधारमा सञ्चालन हुने प्रतियोगिताका शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा सबै टोलीमा दुई÷दुई विदेशी खेलाडी अनिवार्य गरिएको छ । रासस