कला/साहित्यबुधबार, १८ पौष , २०७५

अमेरिकी नागरिकको प्रश्नले ‘मनमगन’ जन्मियोः दीपक बज्राचार्य

हिमालखबर

११ वर्षअघि अमेरिकाको लुजियानामा कन्सर्ट गर्दा गायक दीपक बज्राचार्यलाई त्यहाँका एक नागरिकले सोधे– “गीतमा प्रयोग भएको भाषाबाहेक तिमीहरुको आफ्नो के छ ? यो गीतार, ड्रमसेट, शैली सबै हाम्रो होइन र ?”

मनमगन गीतको भिडियोमा दीपक बज्राचार्य ।

पश्चिमा शैलीतर्फ झुकाव भएका बज्रचार्यले गीतार र ड्रमसेट बजाएर मज्जाले तताएको माहोलकाबीच यही प्रश्नले उनको मन एकाएक चिऽसो हुन पुग्यो ।

धेरै बेरसम्म सोचमग्न भएपछि बज्राचार्यले इतिहास बोकेको आफ्नो मौलिक नेवारी बाजा सम्झिए ।

उनी भन्छन्, “नेवार समुदायमा हुर्किएर पनि आफ्ना लोक–साँस्कृतिक बाजाहरुलाई मैंले जात्रा र पर्वहरुमा मात्रै बजाउने साधन भनेर बुझेको रहेछु ।”

त्यसबेला ती विदेशीलाई जवाफ दिन नसकेका दीपकले त्यसयताका हरेक गीतमा भने नेवारी बाजा र संस्कृति समावेश गर्न थालेका छन् ।

त्यसै क्रममा सन् २०१३ देखि उनले ‘लेट्स द वल्र्ड डान्स इन नेपाली म्यूजिक’ अभियान चलाएर गीत गाउन थालेका छन् ।

पछिल्लो समयको बहुचर्चित गीत ‘मनमगन’ त्यसै अभियानको उपहार हो । उक्त गीतमा उनले नेवारी धिमे बाजा, जात्रा, धिमे बोल, कुमारी, लाखे नाचका साथै अन्य मौलिक, परम्परागत संस्कृति झल्कने छलिया नाच, झाँक्री नाच पनि समावेश गरेका छन् ।

दीपक भन्छन्, “हाम्रो भाषामा पनि मनमगन गीत गाइदिनु पर्‍यो भन्दै विभिन्न देशबाट समेत अफर आइरहेको छ ।”

‘मनमगन’ नेपाली बाहेक नेवारी र हिन्दी भाषामा पनि रेकर्ड भइसकेको छ ।

उक्त गीतले नेपाली मौलिकतालाई विश्वसामु चिनाएपछि प्रफुल्ल भएका दिपक भन्छन्, “ती विदेशीले प्रश्न नसोधेको भए मलाई कहिल्यै पनि मौलिक बाजा, संस्कृति झल्कने गीत बनाउने सोच आउँदैन्थ्यो कि !”

‘मनमगन’को चर्चापछि आफूले गीत/संगीतलाई हेर्ने दृष्टिकोण परिवर्तन भएको दीपक बताउँछन् ।

संगीतले पर्यटनमा पनि टेवा पुग्ने सक्ने विश्वास राख्ने बज्राचार्य भन्छन्, “गीतले प्रभावकारी रुपमा संस्कृति पनि बोक्दोरहेछ ।”

गत वैशाखमा यूट्युबमार्फत् सार्वजनिक भएको ‘मनमगन’ को एक करोड १४ लाख बढी पटक हेरिएको छ । असोजको दोस्रो साता यूट्युबमा राखिएको हिन्दी संस्करण तीन लाख ६७ हजार बढी दर्शकले हेरेका छन् भने साउनमा सार्वजनिक भएको नेवारी संस्करण तीन लाख ८२ हजार पटक हेरिएको छ ।

२०४७ सालबाट सांगीतिक यात्रामा रहेका दीपकलाई ‘मनमगन’ गीतले अहिलेको पुस्तामाझ पनि चिनाएको छ । ‘ओ अमिरा’ गीतमार्फत गायकको छवि बनाएका बज्राचार्यको ‘मायाको डोरीले’, ‘कालीकाली’ लगायतका गीत चर्चित छन् ।

प्रस्तुतिः सविना देवकोटा

प्रतिकृया दिनुहोस