रिपोर्टबुधबार, १८ पौष , २०७५

स्टेयरिङ समात्दै महिला

गोपाल गडतौला

आत्मनिर्भर बन्‍ने हुटहुटीले डोर्‍याएका महिलाहरूको रोजाइमा ड्राइभिङ पनि परिरहेको छ।

ड्राइभिङ सिकाउँदै मीना चन्द । तस्वीरहरुः मोनिका देउपाला

पदमपुर-८, चितवनकी एलिसा प्रजा (२६) को ८ कक्षा पढ्दै गर्दा १६ वर्षकै उमेरमा विवाह भएको थियो। श्रीमान्‌ले कान्छी श्रीमती ल्याएर आफूलाई छोडेपछि छोरो यावेज (७) लाई लालनपालन गर्ने र पढाउने जिम्मा उनको काँधमा आयो। यत्तिकैमा उनलाई कसैले गैह्रीधारा, काठमाडौंस्थित नेपाल यातायात चालक महिला समूहले थोरै शुल्कमा ड्राइभिङ प्रशिक्षण दिन लागेको खबर सुनायो।

एउटा निजी विद्यालयमा आयाको काम गरिरहेकी एलिसालाई ड्राइभिङ सिकेमा आफू काम गरिरहेको ठाउँ वा अन्यत्र सवारी चालकको काम पाइएला भन्‍ने लाग्यो र मंसीर दोस्रो सातादेखि तालिम लिन थालिन्।

स्टेयरिङ समात्‍न सिक्दै गरेकी एलिसालाई आफ्नो समुदायको अगुवा महिला चालक बनिएला भन्‍ने उत्साह पनि छ। भन्छिन्, “ड्राइभिङ सिकेका अरू चेपाङ महिला भएको सुनिएको छैन।”

ड्राइभिङ सिक्नेमा भीमेश्वर, दोलखाकी लक्ष्मी थामी (४०) पनि छिन्। १७ वर्षको उमेरमा विवाह भएकी उनका २१ वर्षकी छोरी र १३ वर्षका छोरा छन्। छोरीको विवाह भइसक्यो। लक्ष्मीका श्रीमानले दोस्रो विवाह गरेपछि उनी जीविकोपार्जनको आधार बनाउन ड्राइभिङ सिक्न थालेकी हुन्। “सडकमा महिलाले मोटर गुडाएको देख्दा यो काम त म पनि गर्न सक्छु भन्ने लाग्यो,” उनी भन्छिन्।

बोहोरागाउँ, बाग्लुङ घर भएकी कल्पना बुढामगर (२८) नेपाली सेनामा भर्ती हुन गएको वर्ष काठमाडौं आएकी थिइन्। तर, सेनाको तालिममा छनोट हुन सकिनन्। सडकमा यात्रा गर्दा उनी सवारी साधनको चालक सीटमा महिला देख्दा रोमाञ्‍चित हुन्थिन्। सेनामा जाने सपना विफल भएपछि उनले चालक बन्‍नुलाई नै नयाँ सपना तय गरिन् र उक्त समूहमा तालिम लिन शुरू गरिन्। उत्साहित हुँदै सुनाइन्, “गाडी हाँक्न सिकेर अब नयाँ पाराले जीवन चलाउनेछु।”

यी महिलाहरूले सवारी चालक महिला समूहकी अध्यक्ष तथा प्रशिक्षक मीना चन्दसँग ड्राइभिङ प्रशिक्षण लिइरहेका छन्, जो आफैं कठिन विगत झेल्दै अहिले धेरै महिलाका लागि सारथि बनिरहेकी छन्।

सारथि बनिन् मीना
प्रशिक्षक मीना चन्दले १० वर्षदेखि थोरै शुल्कमा महिलाहरूलाई टेम्पो र ट्याक्सी चलाउन सिकाइरहेकी छन्। रु.२००० मा एक महीनाको प्रशिक्षण लिएर सवारी चालक अनुमतिपत्र पाएपछि ती महिला स्वतः समूहको सदस्य बन्छन्। हाल समूहमा १४ जना महिलाले तालिम लिइरहेका छन्।

जुभुम झिलवास, गुल्मी घर भएकी मीना २०५८ सालमा काठमाडौं आएकी हुन्। तत्कालीन माओवादी विद्रोहीले युवायुवतीलाई युद्धमा लाग्‍न घरघरै पुगेर दबाब दिइरहेका थिए। उनलाई पनि त्यस्तो दबाब आएपछि भागेर काठमाडौं त आइन् तर गुजाराको मेलो थिएन, न त हातमा कुनै सीप थियो।

एक आफन्तको पसलमा सहयोगीका रूपमा काम पाइन्। यसै क्रममा १७ वर्षको उमेरमा उनको हरिचन्द्र ठकुरीसँग विवाह भयो, जो सवारी चालक थिए। दुई छोरा जन्मिएपछि घर चलाउन आर्थिक दबाब बढ्न थाल्यो। त्यो अवस्थाबाट पार पाउन मीनाले पनि ड्राइभर बन्‍ने सुर कसिन्।

उनले सडकमा केही महिलाले टेम्पो चलाएको देखेपछि त्यस्तो हिम्मत जुटाएकी थिइन्। तर, श्रीमान् उनको सोचमा अवरोध बनेर उभिए। उनी मीनालाई भन्थे, “यो क्षेत्रमा महिलालाई इज्‍जत छैन।” यही विषयमा दुईबीच झगडा भइरहन्थ्यो।

एकातिर श्रीमानको कमाइले घर खर्च धान्‍न गाह्रो हुने समस्या छँदैथियो, अर्कातिर गाजल-टीकाजस्ता सामान्य किनमेल गर्न पनि श्रीमानको मुख ताक्नुपर्ने अवस्थाले उनको चित्त कुँडिन्थ्यो। मीनाले आफ्नै अडानले जितेर टेम्पो चलाउन सिकिन्।

ब्याङ्क र चिनजानका व्यक्तिहरूबाट रु.६ लाख ऋण काढेर २०६४ सालमा पुरानो टेम्पो खरीद गरिन्। उनी कलिला दुई छोरालाई कोठामा छाडेर बिहानदेखि राति अबेरसम्म टेम्पो चलाउँथिन्। “छोराहरूलाई पढाउने-लेखाउने खर्च जुटाउन उनीहरूलाई नै दिनभर कोठामा थुनेर काममा जान्थें,” उनी भन्छिन्।

उनले टेम्पो खरीद गर्दाको ऋण एक वर्षमै चुक्ता गरिन्। त्यसपछि आफूले चलाइरहेको टेम्पो साढे ६ लाखमा बेचेर रकम थपथाप गरी १० लाखमा दुई वटा पुराना टेम्पो किनिन्। एउटा आफैं गुडाउँथिन्, अर्को चलाउन ड्राइभर राखिन्। पहिलेभन्दा कमाइ बढ्दै गयो। “कमाइ हुन थालेपछि श्रीमानको व्यवहार नै नरम भयो,” उनी भन्छिन्, “अहिले घरका हरेक काममा हाम्रो बराबर निर्णय चल्छ।”

सहयोगी सोच
दुःख झेल्दै आत्मनिर्भर भएपछि मीनाको सोच केही फराकिलो भयो। उनलाई आफूजस्तै दुःख पाएका महिला देख्दा आफूले जानेको ड्राइभिङको सीप सिकाएर आत्मनिर्भर बन्‍न मद्दत गरूँजस्तो लाग्थ्यो। नेपाल यातायात महिला चालक समूह नामक संस्था खोलिन् र प्रशिक्षण दिन शुरू गरिन्।

शुरूमा टेम्पो मात्र सिकाउन थालेकी उनले दुई वर्षअघिदेखि ट्याक्सीको पनि प्रशिक्षण सञ्‍चालन गरिन्। उनको संस्थाले १० वर्षयता ४०० महिलालाई साना सवारी चालक तालिम दिइसकेको छ। तीमध्ये धेरैजसो अहिले रोजगार छन्।

टेम्पो गुडाउन थालेको ४ वर्षमा मीनाले ६ वटा टेम्पो जोडिसकेकी थिइन्। ५ जनालाई रोजगारी दिएकी उनको काँधमा रु.५० लाख ऋण थियो। २०६६ सालतिर उनी ब्याङ्कलाई ब्याज र किस्तावापत मासिक रु.१ लाख २० हजार बुझाउँथिन्।

२०७१ सालमा उनले सबै ६ वटै टेम्पो बेचेर ऋण चुक्ता गरिन्। अहिले उनीसँग कार छ, यही कारमा बिहानभर ड्राइभिङ सिकाउने उनी दिउँसो यसैलाई ट्याक्सीको रूपमा गुडाउँछिन्। ट्याक्सीबाट दैनिक रु.२००० भन्दा बढी कमाइ हुने गरेको उनी बताउँछिन्।

इलम सिकेर आत्मनिर्भर बन्‍नु महिलाका लागि अझ बढी जरूरी रहेको मीनाको अनुभव छ। आत्मनिर्भरताका लागि आफैं अघि सर्नुपर्ने सुझाउने उनी बताउँछिन्, “अलिकति आयआर्जनको मेलो समातियो भने महिलालाई कँज्याउने घर र समाजको व्यवहार बदलिँदोरहेछ। हिजो अप्ॉठेरो पर्दा थोरै ऋण पनि नपत्याउने आफन्तहरू आज नजिकिन थालेका छन्।”

प्रतिकृया दिनुहोस