अर्थ/बजारमंगलबार, १७ पौष , २०७५

स-साना सुधारबाट फेरियो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (तस्वीरहरू)

शरद ओझा

फोहोर शौचालय, बस्ने ठाउँको अभाव, वाईफाई सिग्नल आउने तर नचल्ने। काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल यी विषय सामान्यझैं लाग्न थालेका थिए। तर, सुधार हुन सकेको थिएन।

पहिल्लो समय विमानस्थलको अवस्था केही फेरिएको छ। शौचालयहरू सफा भएका छन्। यात्रीका लागि नयाँ कुर्सी राखिएका छन्। वाईफाई चल्न थालेको छ। मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय र आन्तरिक टर्मिलनमा देखिने गरी सुधार आएको छ।

११ पुसमा विमानस्थलको आन्तरिक टर्मिनलमा भेटिएका मोहनराज जोशीले भने, “अब भने राजधानीको विमानस्थल भन्न लायकको भएछ।” विगतमा विमानस्थलको दूरवस्थाले देशकै बेइज्जत हुने गरेको उनको भनाइ छ। आन्तरिक टर्मिनलमा १०० कुर्सी र यात्रु प्रतीक्षा कक्षबाट जहाजसम्म पुग्ने अर्को द्वार थपिएको छ।

आन्तरिक टर्मिनलमा विगतमा दुई वटा द्वार थिए। दैनिक करीब २०० आन्तरिक उडान हुने हुँदा व्यस्त रहन्छ, यो टर्मिनल। आन्तरिक टर्मिनलको प्रतीक्षा कक्षको धुम्रपान क्षेत्र सारिएको छ। स्तनपान कक्ष पनि निर्माण भएको छ। यसअघि जाडो-गर्मी दुवै याममा यात्रीलाई हुने सकस हटाउन प्रतीक्षा कक्षलाई वातानुकुलित बनाइएको छ।

यस्तै, अन्तर्राष्ट्रिय टर्मिनल भवनमा ५ महीनाअघि ‘सेन्ट्रल एसी’ सञ्चालनमा आएको छ। टर्मिनल भवनको भुईंमा करिब रु. १ करोड लागतमा कार्पेट बिछ्याइएको छ। त्यसका कारण अन्तर्राष्ट्रिय टर्मिनल सफा र आकर्षक देखिएको छ।

अन्तर्राष्ट्रिय टर्मिनलको प्रतीक्षा कक्षमा बस्ने कुर्सी अभावको समस्या केही हदसम्म हटेको छ, जहाँ १ हजार कुर्सी राखिएको छ। त्यसयता यात्रुको गुनासो कम भएको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षत्री बताउँछन्।

“यी सबै प्रारम्भिक चरणका काम हुन्,” क्षत्री भन्छन्, “नेपाल भ्रमण वर्ष २०२० सम्ममा विमानस्थलमा धेरै सुधार आउनेछ।” विमानस्थलमा भएका स-साना कामले विदेशी यात्रुलाई आकर्षित गरिरहेको उनको भनाइ छ। उनका अनुसार नेपाली संस्कृति झल्काउने कलश राखिएको ठाउँ अहिले विदेशी यात्रुको सेल्फीस्थल बन्दै गएको छ।

विमानस्थलका शौचालयहरूमा यसअघि दिसा-पिसाब भरिएको हुन्थ्यो। नाक थुनेर र सास रोकेर शौच गर्नुपर्ने बाध्यता हुन्थ्यो, यात्री र विमानस्थल कर्मचारीलाई। अहिले हरेक घण्टा शौचालय सफा भए-नभएको अवलोकन गर्ने गरिएको महाप्रबन्धक क्षत्री बताउँछन्।

१० महिनायता सफाइ कर्मचारी राखेर सफा गर्ने गरिएको छ। दिनभरको ‘चेक लिस्ट’ र सारांश बनाएर कर्मचारीले महाप्रबन्धकलाई बुझाउने गरेका छन्। कुनै शौचालयमा समस्या आए तत्काल समाधान गर्ने गरिएको छ।

अन्तर्राष्ट्रिय टर्मिनल बाहिरको पार्किङ स्थल हटाइएको छ। विमानस्थलबाट बाहिरिने यात्रीलाई ट्याक्सी चालकले तानातान गरिरहेको कुरूप दृष्य हटेको छ।

तर, विमानस्थलबाट अझै विभिन्न कम्पनीका अव्यवस्थित विज्ञापन हटेका छैनन्, जसले विमानस्थलमा भएको सुधारलाई गिज्याइरहेको प्रतीत हुन्छ। महाप्रबन्धक क्षत्री भने विमानस्थल भित्र र बाहिरका सबै विज्ञापन व्यवस्थित गर्ने तयारी भइरहेको बताउँछन्।

 

प्रतिकृया दिनुहोस