कला/साहित्यमंगलवार, पौष १७, २०७५

रहेनन् बलिउड अभिनेता कादर खान

हिमालखबर

बलिउडका ख्यातिप्राप्त अभिनेता कादर खानको ८१ वर्षको उमेरमा निधन भएको छ। लामो समयदेखि बिरामी भएर क्यानाडामा उपचार गराइरहेका उनको अस्पतालमै निधन भएको हो।

सरफराजले भारतीय समाचार एजेन्सी पीटीआईसँग कुरा गर्दै क्यानाडाको समय अनुसार ३१ डिसेम्बर साँझ ६ बजे पिताको निधन भएको बताए। "बुवा १६-१७ हप्तादेखि अस्पतालमै हुनुहुन्थ्यो। हाम्रो पूरै परिवार यतै भएकाले उहाँको अन्तिम संस्कार क्यानाडामै गरिनेछ", उनले भने।  उनी स्नायुसम्बन्धी रोग 'प्रोग्रेसिभ सुप्रान्यूक्लियर पाल्सी' बाट थलिएका थिए।

सन् १९३७ मा अफगानिस्तानको काबुलमा जन्मिएका कादर खान इन्डो-क्यानेडियन मूलका थिए।  उनले बलिउडका ३०० भन्दा बढी फिल्ममा अभिनय गरेका छन्। सन् १९७० को दशकमा उनले करीब २०० फिल्ममा संवाद लेखेका थिए। उर्दू भाषामा उनको राम्रो पकड थियो।

कादर खानले खासगरी हास्य कलाकारका रुपमा दर्शकमा अमिट छाप छाडेका छन्। उनले अभिनेता गोविन्दासँग धेरै फिल्ममा काम गरेका छन्।

सन् १९७३ मा फिल्म 'दाग' बाट उनले बलिउडमा डेब्यू गरेका थिए। उनले पछिल्लो पटक शक्ति कपुरसँगको कुराकानीमा बलिउडमा फर्केर फेरि अभिनयमा सक्रिय हुने बताएका थिए। - एजेन्सी

प्रतिकृया दिनुहोस