टिप्पणीमंगलबार, १७ पौष , २०७५

पानी अभावबाट सताइएका महिला

चन्द्रकिशोर

पानीसम्मको पहुँचजस्ता समस्याले देहातका महिलाको समग्र विकासमा कति बाधा पुर्‍याइरहेको छ, त्यो उनीहरूको कथा सुनेपछि मात्र थाहा हुन्छ।

“पुस से जेठ तक पानी के बड समस्या छै,” सिरहाको मुसहर्नियाकी रामवती सदा भन्छिन्। धनगढीमाई-९ स्थित मुसहरबस्तीमा पुसदेखि जेठसम्म पानीको समस्या निकै चर्किन्छ। यो अवधिमा बस्तीका इनारहरू सुक्छन्। यस्तो अवस्था सिरहा र सप्तरीका दर्जनौं गाउँमा छ।

स्थानीय तहको निर्वाचनपछि कतिपय टोलमा इनारको मर्मत गरिनुका साथै ट्यूबवेलसमेत जडान गरिएको छ। लहान-१५ मोहनपुरमा खानेपानीका लागि जडान भएका दुई ट्यूबवेल ‘कांग्रेस’ र ‘कम्युनिष्ट’ नामले चिनिन्छन्। एउटा नगरप्रमुख (तत्कालीन एमाले) को र अर्को वडाध्यक्ष (कांग्रेस) को पहलमा जडान भएकाले। तर, जमीनमुनि पानीको सतह गहिरिँदै जाँदा यस्ता ट्यूबवेलबाट एक-दुई वर्षमै पानी आउन छोड्छ र थप गहिरो ‘बोरिङ’ गर्नुपर्ने हुन्छ। समुदायमा आधारित यी ट्यूबवेल बिग्रिएमा हप्तौं अलपत्र अवस्थामा हुन्छन्।

चुरे पर्वत शृंखलादेखि पूर्व-पश्चिम राजमार्गको छेउछाउका बस्तीमा बढी देखिएको यो समस्याबाट सम्पूर्ण तराई आक्रान्त हुँदैछ। जानकारहरूका अनुसार चुरेको अत्यधिक दोहन र जथाभावी वन फडानी नै यसको मुख्य कारण हो।

गाउँको दलित टोलको कुनै इनारमा पानी छ भने त्यस इनारबाट पानी झिक्न सबैभन्दा पहिला अरू टोलका कथित उच्च जातिकाले पालो पाउँछन्। दलितहरूलाई आफ्नै घरआँगनको इनारबाट पानी लिन घण्टौं कुर्नुपर्छ।

पानीको बन्दोबस्त गर्ने जिम्मा प्रायः महिलाहरूकै हुन्छ। घरको कामधन्दा र बनिबुतोबाट फुर्सद मिलाएर पानीको स्रोतसम्म पुगेर लुगा धुने काम पनि महिलाहरूकै जिम्मामा हुन्छ। पानी प्रबन्धको जिम्मेवारीले गर्दा स्कूल जाने उमेरका बालिका होउन् वा बनिबुतोमा खटिने महिला; अरू काम सहजै निप्टाउन पाउँदैनन्।

पानीको यो समस्या बर्खायाममा केही सहज भैदिन्छ। तर, मनसुनी वर्षाका बेला आउने बाढीको विपत्तिको कथा फेरि बेग्लै छ। र, यो समस्याको प्रमुख कारक पनि चुरे दोहन नै हो।

पूर्व-पश्चिम राजमार्ग निर्माण हुनु अघिसम्म चुरे क्षेत्रबाट घरायसी प्रयोजनका लागि मात्र काठदाउरा संकलन गरिन्थ्यो। तर, राजमार्ग निर्माणपछि नयाँ शहर र बस्तीको विकास भइरहँदा चुरे र वनमाथिको अतिक्रमण अतिशय बढ्यो। सँगै भावर क्षेत्रमा बढेको जनघनत्वले खानेपानीको माग ह्वात्तै बढायो, जसलाई खानेपानी आपूर्तिका पारम्परिक स्रोतहरूले थेग्न सकेनन्।

२०६० सालदेखि चुरे क्षेत्रमा आधुनिक मेशीनहरू प्रवेश गर्न थाले। जंगल फडानी, गिट्टी-ढुंगा-बालुवा उत्खनन्, बस्ती विकासका नाममा जथाभावी सडक निर्माणजस्ता मानव सिर्जित समस्याका कारण खानेपानीको संकट गहिरिँदै गयो।

चुरे क्षेत्रका अध्येता डा. विजयकुमार सिंहका अनुसार तराई क्षेत्रका लागि भूमिगत पानी भण्डारको काम गरिरहेको भावर क्षेत्रको चारकोसे झाडी केही ठाउँमा बाहेक अन्यत्र मासिइसकेको छ। पहिले यहाँ रहेको काँडे खयरको बाक्लो जंगलले बाढीले ल्याउने गेग्रान रोक्थ्यो, पानीको वेग कम गर्थ्यो। गेग्रानमा सोसिएको पानी पछिसम्म जमीनमुनिबाट बग्दै दक्षिणसम्म पुग्थ्यो र मूल फुट्थ्यो, जरुवा रसाउँथे।

अब स्थानीय र प्रदेश सरकारले पानीको संकट व्यवस्थापनका लागि नगरी नहुने काम हो- चुरे क्षेत्र र वनमाथिको दोहन नियन्त्रण। पितृसत्तात्मक सामाजिक संरचनाले गर्दा देहातमा घरगृहस्थीका कठिन कामहरू महिलाहरूले नै गर्नुपर्ने बाध्यता हुँदा महिलाहरूको समग्र विकासमा नकारात्मक असर पुगेको छ। पानी संकटको प्रभाव गाईवस्तुपालनदेखि हिउँदेबाली उत्पादनमा समेत परेको छ।

पानीमाथिको पहुँच जातीय र लैङ्गिक विभेदबाट मुक्तिसँग जोडिएको पाटो पनि हो। पानीको संकट बढ्दै जाँदा जसको पानीमाथि वर्चस्व हुन्छ, उसैले नयाँ तरिकाबाट बन्धनका जालहरू फैलाउँदै जाने खतरा जो देखिएको छ।

प्रतिकृया दिनुहोस