पद छोड्नु बुद्धिमानी होइनः गगन थापा (उपचार खर्च प्रकरण)
स्वास्थ्यमन्त्री गगन थापाले विशिष्ट व्यक्तिहरुलाई उपचार खर्च भन्दै राज्यकोषबाट जथाभावी रकम दिइने परम्परा रोक्न आफूले गरेको प्रयास असफल भएकोमा दुख व्यक्त गरेका छन् ।
राज्यकोषबाट दिइने उपचार खर्चसम्बन्धी कार्यविधि मन्त्रिपरिषदमा पेश भइसकेका बेला त्यसमा छलफल नै नगरी सरकारले कांग्रेस नेतृ सुजाता कोइरालालाई उपचारका लागि रु ५० लाख दिने निर्णय गरेपछि मन्त्री थापाले असन्तुष्टि व्यक्त गरेका हुन् ।
स्वास्थ्यमन्त्रालयले उपचार खर्चसम्बन्धी कार्यविधि बनाएर मन्त्रिपरिषदमा पेश गरेका बेला त्यसको बेवास्ता गर्दै अस्वाभाविक रुपमा ठूलो रकम नेतालाई उपचार खर्चबापत दिइने भएपछि सामाजिक सञ्जालमा त्यसको व्यापक विरोध भइरहेको छ ।
कतिपयले थापाले पदबाट राजीनामा गर्नुपर्ने पनि बताएका छन् ।
ट्विटरमा मन्त्री थापाले भनेका छन्, “धेरै काम गर्नुछ, त्यसैले छोडेर हिंडनु (राजीनामा गर्नु) मेरो विचारमा उपयुक्त होइन । त्यसो गर्दा पुराना गलत प्रचलनले निरन्तरता पाउन झन सजिलो हुनेछ ।”
उनले जन–चासोको सम्बोधन र सार्वजनिक स्वास्थ्यप्रतिको आफ्नो कर्तव्य पूरा गर्न विभिन्न चुनौतिका बाबजुद संघर्ष गरिरहने बताएका छन् ।