कला/साहित्यसोमबार, १६ पौष , २०७५

भारतीय फिल्मका यी हस्ती, जसलाई फाप्यो २०१८

हिमालखबर

अंग्रेजी नयाँ वर्ष २०१९ ढोकैमा आइपुग्दा बिदा हुँदै गरेको वर्षबारे यतिबेला सबै क्षेत्रमा समीक्षा भइरहेको छ। यस्तो लेखाजोखा फिल्म क्षेत्रमा झन् हुने नै भयो।

भारतीय फिल्म उद्योगको कुरा गर्दा वर्ष २०१८ फिल्म र अभिनेताहरूका लागि रोमाञ्चक वर्ष रह्यो। ठूलो अपेक्षा गर्दै प्रचार-प्रसारमा तामझाम गरिएका 'ठग्स अफ हिन्दोस्तान' जस्ता फिल्महरू नराम्ररी पछारिए भने कम लगानी गरिएका फिल्मले बक्स-अफिसमा अनपेक्षित सफलता पाए। यो वर्ष 'पद्मावत', 'बागी २', 'सञ्जु', 'स्त्री' जस्ता फिल्महरूले दर्शकलाई गहिरो छाप पारे। सन् २०१८ मा उपलब्धि हासिल गरेका भारतीय फिल्म क्षेत्रका केही नाम यस्ता छन्:

दीपिका पादुकोण
दीपिका पादुकोणले २०१८ को शुरुआत सानदार फिल्म 'पद्‍मावत' बाट गरिन्। उनले रानी पद्मिनीको भूमिकाबाट दर्शको मन जित्दै समीक्षकहरूबाट समेत तारिफ बटुलिन्। दीपिकाले 'सय करोड क्लबकी रानी' को उपमा पाउँदै आएकी छन्। उनले अभिनय गरेका सात फिल्मले भारु एक सय करोड क्लबमा स्थान बनाइसकेका छन्। 'पद्‍मावत' भने बक्स-अफिसमा ३०० करोड कलेक्सन गर्न सफल भएको थियो।

श्रद्धा कपुर
प्राय: फिल्ममा सामान्य पात्रका रूपमा उपस्थिति जनाएर पनि प्रशंसा पाउने अभिनेत्री हुन्, श्रद्धा कपुर। २०१८ मा प्रदर्शनमा आएको फिल्म 'स्त्री' मा भने अद्‍भूत भूमिका र स्त्रीको उपयुक्त चित्रणका कारण उनी प्रशंसित बनिन्। 'एक भिलेन' र 'एबीसीडी २' पछि एक सय करोड क्लबमा प्रवेश गर्ने 'स्त्री' उनको तेस्रो फिल्म बन्यो। यो फिल्मको सफलतापछि श्रद्धाले बलिउडमा 'स्त्री' को उपनाम पाउन थालेकी छन्।

टाइगर श्राफ
साजिद नाडियाडवालाको फिल्म 'बागी २' को सफलताबाट टाइगर श्राफले दर्शक र आलोचक दुवैलाई चकित पारे। टाइगरले आफ्नो यो फिल्मबाट बक्स-अफिसको कैयौं रेकर्ड तोड्दै देशभर अनगिन्ती प्रशंसकलाई प्रभावित पारे। उनका प्रतिस्पर्धी अभिनेताहरु वरुण धवन र अर्जुन कपुरले उनीभन्दा अधिक फिल्म गरेका छन्। तर, 'बागी २' को बक्स-अफिसको कमाइ ती दुई अभिनेताको उत्कृष्ट फिल्मभन्दा ठूलो छ। टाइगर बलिउडका पहिलो युवा अभिनेता हुन्, जसले सबैभन्दा छिटो एक सय करोड क्लबमा प्रवेश गर्ने कीर्तिमान आफ्नो नाममा बनाएका छन्।

एकता कपुर
मनोरञ्जनको दुनियाँमा रूढिवादी सोच तोड्दै अगाडि बढेर एकता कपुरले दर्शकका लागि नयाँ विषयवस्तु तयार गरी आफ्नो स्थान बनाएकी छन्। सन् २०१८ मा एकताले डिजिटल प्लेटफर्ममा 'होम' र 'एक्सएक्सएक्स' जस्ता वेब सिरिज, फिल्म 'वीरे दी वेडिङ' र टेलिभिजनमा 'नागिन' र 'कसौटी जिन्दगी की' जस्ता बहुचर्चित सिरियलसहित सबै माध्यममा राज गरिन्।

राजकुमार हिरानी
प्रभावशाली कामका लागि चिनिने फिल्ममेकर राजकुमार हिरानीले यस वर्ष 'सञ्जु' को सानदार सफलताबाट थप जस बटुले। 'मुन्ना भाइ एमबीबीएस', 'थ्री इडियट्स' र 'पीके' जस्ता बलिउडका क्लासिक फिल्मबाट दर्शकलाई मनोरञ्जन गराएपछि निर्देशक हिरानीले २०१८ मा अर्को फिल्मबाट दर्शकको मन जिते। 'सञ्जु' मार्फत हिरानीले रणवीर कपुरको करिअरमा नयाँ इँटा थपिदिएका छन्, जसरी 'मुन्ना भाइ एमबीबीएस' मार्फत सञ्जय दत्तले उचाइ पाएका थिए।

हनी सिंह
२०१८ मा भारतीय र्‍यापर यो यो हनी सिंहले 'दिल चोरी सड्डा' र 'छोटे छोटे पेग' बाट संगीत उद्योगमा प्रभावशाली पुनरागमन गरे। यसपछि उनले फिल्म 'लभरात्रि' बाट 'रंगतारी' र फिल्म 'मित्रों' बाट 'पार्टी इज ओवर नाउ' जस्ता गीतमार्फत दर्शकको मन जिते। साथै, उनले 'उर्वशी' का लागि गाएको र्‍यापबाट पनि दर्शकबाट राम्रो प्रतिक्रिया पाएका थिए। हनी सिंहको पछिल्लो गीत 'मखना' ले रिलिजलगत्तै युवामाझ हिट हुँदै युट्युबमा राम्रो भ्यूज पाइरहेको छ।

दिशा पटानी
भारतीय बक्स-अफिसमा १६५ करोड ५ लाख कमाइ गरेको फिल्म 'बागी २' को सफलतापछि अभिनेत्री दिशा पटानीको करिअरले पनि दिशा समात्यो। उनले सलमान खानको नयाँ फिल्म 'भारत' मा आफ्नो स्थान बनाएकी छन्।

राधिका आप्टे
प्रतिभाशाली अभिनेत्री राधिका आप्टेले २०१८ मा लगातार एकपछि अर्को सफलताबाट फिल्म उद्योगलाई चमत्कृत बनाइन्। यस वर्ष फिल्मका साथै डिजिटल प्लेटफर्ममा समेत उनले राज गरिन्। 'प्याडम्यान' देखि 'अन्धाधुन' र हालै रिलिज भएको 'बाजार' सम्मका विभिन्न परियोजनाको सफलताबाट उनका लागि यो वर्ष शानदार बन्यो। उनले डिजिटल स्ट्रिमिङ स्पेसमा पनि आफ्नो स्थान बनाइन्। वेब सिरिज 'सेक्रेड गेम्स', 'लस्ट स्टोरिज' र 'घोल' मा उनको अभिनयले दर्शकको माया पायो।

महेश बाबू
दक्षिण भारतीय सुपरस्टार महेश बाबूलाई पनि २०१८ फाप्यो। उनको विश्वस्तरमा रहेको फ्यान फ्लोइङलाई ध्यान दिँदै राजनीतिक ड्रामा फिल्म 'भारत अनन नेनु' (म भारत) लाई यस वर्ष ४५ वटा देशमा रिलिज गरिएको थियो। बक्स-अफिसमा हाउसफुल हुँदै यो फिल्म बृहत् रूपमा चर्चाको विषय बन्यो। 'भारत अनन नेनु' को सफलतापछि महेश बाबू हाल आफ्नो २५औं फिल्मको सुटिङमा व्यस्त छन्।

सान्या मल्होत्रा
सान्या अभिनित सन् २०१८ को फिल्म 'बधाइ हो' को सफलताले धेरैलाई चकित बनायो। करीब भारु २० करोडमा बनेको फिल्मले भारतमा १३७ करोड ५४ लाखसहित विश्वव्यापी रूपमा २०० करोड कमायो। यो फिल्ममा सान्याले आयुष्मान खुरानाको अपोजित भूमिकामा अभिनय गरेकी थिइन्। 'बधाइ हो' विश्वव्यापी रूपमा २०० करोडको आँकडा पार गर्ने 'दंगल' (२०१६) पछि उनको दोस्रो फिल्म हो। एजेन्सी

प्रतिकृया दिनुहोस