खेलकुदआइतबार, १५ पौष , २०७५

अष्ट्रेलियामा भारतको दबदबा, टेस्ट सिरिज जितको नजिक

हिमालखबर

भारतले विश्व क्रिकेटको चिरपरिचित प्रतिप्रतिद्वन्द्वी अष्ट्रेलियाकै घरमा टेस्ट सिरिज जित्ने सम्भावना बलियो बनाएको छ ।

मेलबर्नमा आइतबार बिहान सम्पन्न तेस्रो टेस्टमा अष्ट्रेलियालाई १३७ रनले पराजित गर्दै भारतले चारवटा टेस्ट म्याचको श्रृंखलामा २–१ को अग्रता लिएको हो । भारतको जितमा जसप्रित बुमराहले सनसनीपूर्ण बलिङ प्रदर्शन गरे । उनले पहिलो इनिङमा ६ र दोस्रो इनिङमा ३ विकेट लिए ।

टस जितेर व्याटिङ गरेको भारतले पहिलो इनिङमा बनाएको ४४३ रन नै यो जितको प्रमुख आधार बन्न पुग्यो । पहिलो इनिङमा भारतका लागि चेतेश्वर पुजाराले १०६, कप्तान विराट कोहलीले ८२ र मयंक अग्रवालले ७६ रन बनाएका थिए ।

पहिलो इनिङमा अष्ट्रेलिया भने १५१ रनमै समेटिएको थियो । अष्ट्रेलिया फलो अनमा परे पनि भारतले दोस्रो इनिङमा पुनः व्याटिङ रोजेर १०६ रनमा ८ विकेट गुमाउँदा इनिङ समाप्तिको घोषणा गरेपछि अष्ट्रेलियाले जितका लागि ३९९ रनको लक्ष्य पाएको थियो । तर, अष्ट्रेलियाको पुरै टोली २६१ रनमा अलआउट भयो ।

यो हारसँग अष्ट्रेलियाका बलर प्याट कमिन्सको अविश्वसनीय प्रदर्शन छायाँमा पर्‍याे । कमिन्सले पहिलो इनिङमा ३ र दोस्रो इनिङमा ६ विकेट लिए ।

व्याटिङमा पनि अष्ट्रेलियाको तर्फबाट एकमात्र अर्धशतक उनैले प्रहार गरे । दोस्रो इनिङमा भारतीय बलरको परीक्षा लिने क्रममा उनले ६३ रन जोडेर चौंथो दिनमै सकिने निश्चित भइसकेको खेललाई पाँचौं दिनसम्म पुर्‍याएका थिए । पहिलो इनिङमा पनि उनको व्याटबाट १७ रन निस्केको थियो ।

एडिलेडमा सम्पन्न पहिलो टेस्ट भारतले जितेको थियो भने पर्थको दोस्रो टेस्ट जित्दै अष्ट्रेलियाले श्रृंखला बराबरीमा ल्याएको थियो । अष्ट्रेलियाले घरेलु भूमिमै भारतसँग श्रृंखला हारको नतिजा टार्न सिड्नीमा हुने अन्तिम टेस्ट जित्नैपर्नेछ । भारतलाई भने अन्तिम टेस्ट बराबरी मात्र गरे पुग्नेछ ।

गत बर्ष बल टेम्परिङ प्रकरणमा कप्तान स्टिभ स्मिथ, विष्फोटक व्याट्सम्यान डेबिड वार्नर र टेस्ट ओपनर क्यामरुन ब्यांकरफ्ट प्रतिबन्धमा परेपछि अष्ट्रेलियाको टेस्ट टिमको सन्तुलन नै खल्बलिएको छ ।

प्रतिकृया दिनुहोस