खेलकुदआइतवार, पौष १५, २०७५

प्रिमियर लिगः अपराजित लिभरपुललाई ९ अंकको अग्रता, टोटनहमलाई धक्का

हिमालखबर

इङलिस प्रिमियर लिगको जारी सिजनमा एकमात्र अपराजित टोली लिभरपुलले अंक तालीकाको शीर्षस्थानमा ९ अंकको अग्रता लिएको छ ।

शनिबार राति एनफिल्डमा सम्पन्न खेलमा प्रतिद्धन्द्धी पाहुना टोली आर्सनललाई ५–१ गोल अन्तरले पराजित गर्दै योर्गन क्लोपको टिमले उपाधि दाबेदारी थप मजबुत पारेको हो ।

खेलमा अग्रता भने आर्सनलले लिएको थियो । मैटलेन्ड नाइल्सले ११ औं मिनेटमा गोल गर्दै पाहुना टोलीलाइ अग्रता दिलाएका थिए । तर, त्यसको तीन मिनेटमै रोबर्टो फिर्मिन्होले गोल गर्दै लिभरपुललाई बराबरीमा ल्याए । दुइ मिनेटको बीचमा अर्को गोल गर्दै फिर्मिन्होले नै लिभरपुललाई अग्रतामा पुर्‍याए ।

फिर्मिन्होले प्रिमियर लिगमा आफ्नो पहिलो ह्याट्रिक समेत पुरा गरे । त्यसका लागि उनले ६५ औं मिनटमा प्राप्त पेनाल्टीको सहयोग लिनु पर्‍यो ।

३२ औं मिनटमा साडियो माने र पहिलो हाफको इन्जुरी समयमा मोहम्मद सलाहले पेनाल्टीमार्फत् गोल गरेपछि लिभरपुल मध्यान्तरअघि नै ४–१ गोलको मजबुत अग्रतामा पुगिसकेको थियो ।

लिगका कूल ३८ मध्ये २० खेल खेल्दा अपराजित रहेको लिभरपुलले ५४ अंक जोडेको छ र शीर्षस्थानमा स्पष्ट ९ अंकको अग्रता लिएको छ ।
यो अग्रतामा भने टोटनहम हटस्पर्सको पराजय प्रमुख कारक बन्यो ।

शनिबार साँझ सम्पन्न खेलमा उपाधि दाबेदार मानिएको टोटनहमले घरेलु मैदान वेम्बलीमा ओल्भससँग ३–१ गोल अन्तरको नमीठो हार व्यहोर्नुपर्यो । यो हारसँगै माउरिसियो पोचेटिनोको उपाधि जित्ने लक्ष्यमा ठूलो धक्का लागेको छ । ह्यारी केनको गोलमा अग्रता लिएको टोटनहमले अन्तिम १८ मिनेटमा तीन गोल खाएको थियो ।

२० खेलबाट टोटनहमको ४५ अंक छ ।

तेस्रो स्थानको म्यानचेस्टर सिटीको ४४ र चौंथो स्थानको चेल्सीको ४० अंक छ । सिटी र चेल्सीले भने एक खेल कम खेलेका छन् ।

प्रतिकृया दिनुहोस