कला/साहित्यशनिवार, पौष १४, २०७५

मुनामदनको सुरुचिपूर्ण अनुवाद

सेवा भट्टराई

महाकवि लक्ष्मीप्रसाद देवकोटाको मुनामदन (संवत् १९९२) लाई नेपाली साहित्यको सर्वाधिक लोकप्रिय कृति मानिन्छ। प्रकाशनको झण्डै ८३ वर्षपछि प्राध्यापक पद्म देवकोटाले यस खण्डकाव्यलाई अंग्रेजीमा अनुवाद गरेका छन्। यसअघि पनि धेरै पटक अनुवाद भइसकेको कृतिको अनुवाद महाकवि देवकोटाका आफ्नै छोरा अंग्रेजीका प्राध्यापक पद्मबाट गरिएको हुँदा अघिल्ला अनुवादहरू भन्दा राम्रो हुनुपर्ने पाठकको स्वाभाविक अपेक्षा हुन्छ। पाठकको त्यो अपेक्षा पूरा गर्न प्राध्यापक देवकोटा धेरै हदसम्म सफल छन्।

अंग्रेजी प्राध्यापन र प्राज्ञिक लेखनमा लामो समय बिताइसकेका पद्म देवकोटाको भाषा सरल र काव्यात्मक छ। यो स्तरीय अनुवादले नेपालको लोकप्रिय साहित्यलाई विश्वका साहित्यप्रेमीमाझ फैलाउन मद्दत पुग्नेछ।

हुन त अनुवादका लागि सबैभन्दा कठिन विधा हो, कविता। त्यसैले पनि होला, अनुवादकले झ्याउरे छन्दमा लेखिएको कविताको लयभन्दा भावानुवादमा जोड दिएका छन्, जुन सराहनीय छ। यद्यपि नेपाली साहित्यमा मुनामदनको परिचय झ्याउरे लयसँगै गाँसिएको हुँदा कविताको मूल मर्म अनुवाद हुन सक्यो कि सकेन भन्ने प्रश्न भने बाँकी नै रहन्छ।

भनिन्छ, महाकवि लक्ष्मीप्रसाद देवकोटा साहित्य सृजनाका क्रममा आफूले चाहेजस्तो शब्द नभेटेपछि नयाँ शब्द सृजना गरिदिन्थे। तर, त्यो सुविधा अनुवादकलाई हुँदैन। त्यसैले पुस्तक परिचयमा अनुवादक भन्छन्- ‘महाकवि देवकोटा आफ्नो लेखाइलाई फेमिनिन भन्थे।’ अर्थात् कोमल र लयात्मक। शायद यस्तो गुणको पनि अनुवाद सम्भव छैन। प्राध्यापक देवकोटाले यस अनुवादमा निकै मिहिनेतका साथ मुनामदनका विभिन्न संस्करण जुधाएर छुटेका, गल्ती भएका हरफहरू समेत सच्याएका छन्, जसका कारण पाठकका लागि यो अनुवाद मूल्यवान् बनेको छ।

अनुवादकले पुस्तकको झण्डै आधा भाग परिचयमै खर्चेका छन्। तर, परिचयमा प्राज्ञिक अध्ययन मात्रै नभई पिताबारे उनको व्यक्तिगत बुझाइ पनि भएकाले पाठकलाई मुनामदन र लक्ष्मीप्रसाद देवकोटा दुवैलाई बुझ्न सघाउँछ।

मुनामदनको मूल कथा नेपालभाषाको लोक कविताबाट लिइएको हो कि होइन भन्ने विवादलाई पनि अनुवादकले सम्बोधन गरेका छन्। अनुवादक प्राध्यापक देवकोटा भन्छन्, ‘महाकवि देवकोटा नेपालभाषा जान्दथे, र नेपालभाषाका रोपाईं गीतसँग परिचित थिए। त्यति मात्रै होइन, उनले कलेज पढ्ने बेला एक दिन आफ्ना मित्रलाई नेपालभाषाका लोकरचनाबारे सोधेका पनि थिए। र उनका मित्र चन्द्रबहादुर श्रेष्ठले उनलाई ल्हासा जाने व्यापारीको कथा सुनाएका थिए, जुन मुनामदनको कथासँग निकै मिल्दोजुल्दो छ।’

सँगसँगै महाकवि देवकोटा त्यस्तै कथानक भएको अंग्रेजी कवि लर्ड टेनिसनको ‘इनोक आर्डेन’ सँग पनि परिचित थिए भन्ने तथ्य पनि अनुवादकले खुलाएका छन्। उनले मुनामदनमा नेपालभाषाको लोककविता वा टेनिसनको कविता वा दुवैको प्रभाव हुनसक्ने सम्भावना स्वीकारेका छन्।

महाकवि देवकोटाको समयमा ‘कल्चरल एप्रोप्रिएसन’ अर्थात् लोकसाहित्यमाथि अन्यायको प्रश्न अहिले जसरी चर्किएको थिएन। त्यसैले उनले आफ्नो जीवनकालमा यो प्रश्नको उत्तर दिनु परेन। तर ढिलै भए पनि यो प्रश्नलाई सम्बोधन गरेर अनुवादकले लोकसाहित्यमाथि न्याय गर्ने सराहनीय प्रयास गरेका छन्।

पुस्तकको परिचयमा मुनामदन र कवि देवकोटामाथि अनुवादकको गहिरो अध्ययन देखिन्छ, जहाँ उनले शृंगारिक भावका लागि प्रसिद्ध कृतिभित्रका दार्शनिक र आध्यात्मिक पाटाहरू समेत पाठकसामु उघारेका छन्। ल्हासा जान उकालो चढ्दै गर्दा मदन हिमाल र पहाडमा राधा र कृष्ण झुलेको देख्छ र ती स्थानलाई उमा र शिवको बासस्थान भन्ठान्छ। तर, हैजाले थकित गलित भएर भोटेले उद्धार गरेपछि ऊ सुन र पैसालाई बेवास्ता गर्ने भोटे साथीको बौद्ध दर्शन र जीवनबाट प्रभावित हुन्छ। यात्राको शुरुआतमा मदन ल्हासाको भौतिक सुखमा रमाएको हुन्छ भने फर्किने बेलासम्म आध्यात्मिक भइसकेको हुन्छ।

प्रत्येक पृष्ठमा एकातर्फ नेपाली मूल कविता र अर्कोतर्फ अंग्रेजी अनुवाद रहेको यो पुस्तकले मुनामदन पढिसकेका नेपाली पाठकलाई समेत यस कृतिसँग दोहोर्‍याएर परिचित गराउँछ। पुस्तकको सरल भाषा साथै प्रेम र विछोडका भावनाको सहज अभिव्यक्तिले मुनामदन नेपालमा किन यति प्रशंसित छ भन्ने पनि पुष्टि हुन्छ।

यो अनुवादबाट नेपालमा लोकप्रिय मुनामदनलाई अंग्रेजी भाषाका कुनै पनि पाठकले सहज रूपमा बुझ्नसक्ने भएका छन्। स्तरीय भाषा र चाखलाग्दो परिचयका कारण यो अनुवाद पठनीय र संग्रहणीय बनेको छ।

पुस्तक: मुनामदन
अनुवाद: पद्म देवकोटा
प्रकाशक: आदर्श बुक,नयाँदिल्ली
पृष्ठ: १५०

प्रतिकृया दिनुहोस