कला/साहित्यशनिबार, १४ पौष , २०७५

दक्षिणएशियाको परमाणु ज्वरो

हिमालखबर

- निरज लवजू

११ मे १९९८ मा भारतले आफ्नो इतिहासकै दोस्रो पटक परमाणु हतियारको सफल परीक्षण गर्‍यो। त्यतिबेला अटलबिहारी बाजपेयी नेतृत्वको भारतीय जनता पार्टी (भाजपा) को सरकार थियो।

सफल परमाणु परीक्षणले भाजपाका नेताहरूलाई मात्र खुशी बनाएन, केही भारतीय जनता आफ्नो देश पनि परमाणु शक्ति बनेकोमा बाटोमा लड्डु बाँड्दै हिँडे। प्रतिपक्ष दल कंग्रेस आईले समेत यसको चर्को स्वरमा विरोध गर्न सक्ने अवस्था थिएन, किनभने इन्दिरा गान्धी नेतृत्वको कंग्रेस आई सरकारले नै भारतमा पहिलो पटक सन् १९७४ मा परमाणु परीक्षण गरेको थियो।

तर, भारतले दोस्रो सफल परमाणु परीक्षण गरेको १७ दिनपछि नै उसको ‘परम्परागत दुश्मन’ पाकिस्तानले पनि उस्तै परीक्षण गर्‍यो। यही परिदृश्यमा भारतको परमाणु परीक्षण स्थलसँगै पाकिस्तान र नेपालको भ्रमणपछि भारतीय लेखक अमिताभ घोषले लेखेको पुस्तक काउन्टडाउन सन् १९९९ मा प्रकाशित भयो।

पुस्तकमा घोषले मुख्य चार विषयमा चर्चा गरेका छन्ः पहिलो, परमाणु परीक्षणले परीक्षणस्थल वरपरका मानव बस्तीमा पारेको प्रभाव। लेखकले परमाणु परीक्षण गरिएको भारत राजस्थानको पोखरणको स्थलगत अध्ययन गरी परीक्षणले पारेको प्रभावबारे लेखेका छन्। सन् १९७४ मा सोही स्थानमा गरिएको परमाणु परीक्षणको दुष्प्रभाव भोगेका केही स्थानीयलाई लेखकले भेटे। परमाणु परीक्षणपछि विकिरणले त्यहाँको पानी पिउन अयोग्य भएको थियो। धेरै मानिस क्यान्सरजस्तो प्राणघातक रोगका कारण मरेका थिए। धेरै आमाहरूबाट विकलाङ्ग सन्तान जन्मेका थिए। सत्तासीन नेताहरूले आफ्नो राजनीतिक स्वार्थ पूरा गर्न गरेको परमाणु परीक्षण स्थानीय जनतालाई अभिशाप सिवाय केही बनेन।

दोस्रो, पाकिस्तान र भारतको दुश्मनीका कारण राज्यले अनावश्यक रूपमा बेहोरिरहेको लगानी। सन् १९९८ मा भारतका रक्षामन्त्री जर्ज फर्नान्डेजसँग लेखक भारतनियन्त्रित काश्मिर र काराकोरम क्षेत्रमा रहेका भारतीय सैनिक चौकीहरूको अवलोकनमा पुग्छन्। बाह्रै महीना हिउँ पर्ने निर्जन शिखरमाथि हेलिकप्टरबाट बन्दोबस्तीका सामग्री ल्याएर बसालिएका सैनिक चौकीको औचित्य र त्यहाँ भइरहेको अनावश्यक लगानीबारे लेखकले चर्चा गरेका छन्।

काराकोरम क्षेत्रमा भारतले राखेका चौकीहरूको लागि मात्र प्रतिदिन २ करोड अमेरिकी डलर खर्च भइरहेको तथ्याड्ढ झस्काउने खालको छ। सन् १९९२ मा भारत र पाकिस्तानबीच ती क्षेत्रमा दुवै पक्ष नबस्ने सम्झौता भएको थियो। तर, भारतले सम्झौता उल्लंघन गर्दा आज दुवै देशले अनावश्यक लगानी गर्नुपरेको छ।

तेस्रो, परमाणु परीक्षणबारे पाकिस्तानी जनताको अभिमत। पाकिस्तानकी मानवअधिकारवादी वकिल आस्मा जहाँगिरसँग घोषले लाहोरमा गरेको भेटमा पाकिस्तान, भारत-पाकिस्तान, परमाणु कार्यक्रमलगायत थुप्रै विषयमा कुराकानी हुन्छ। पाकिस्तानका मुस्लिम धार्मिक अतिवादी र भारतका हिन्दू अतिवादी भाजपाबीच भिन्नता नभएको जहाँगिरको विश्लेषणबारे चर्चा पुस्तकमा गरिएको छ। अमेरिका र पश्चिमा देशहरूको छायामा आफ्नो नीति बनाउने पाकिस्तानी रणनीति र दक्षिण एशियालीभन्दा पश्चिम एशियाली देशको रूपमा आफूलाई चिनाउन चाहने पाकिस्तानी सोचबारे उनले आफ्नो बुझाइ लेखकलाई बताएकी छन्।

चौथो विषय ज्यादै रोचक छ। भारत र पाकिस्तान दुवै परमाणु शक्ति बनिसकेको अवस्थामा के उनीहरूले आफूसँग भएको हतियार एकअर्कोविरुद्ध प्रयोग गर्लान् ? वास्तवमा दुवै देशको लागि परमाणु हतियार प्रयोगको लागि भन्दा पनि अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो प्रतिष्ठा र सत्तासीनको राजनीतिक लक्ष्यपूर्तिको लागि भएको एकथरीको दृष्टिकोण छ।

कदाचित् पाकिस्तानले भारतको प्रशासकीय र सुरक्षा केन्द्र नर्थ र साउथ ब्लकलाई लक्षित गरी परमाणु हमला गरे त्यसले भौतिक रूपमा कहाँ कहाँ कस्तो प्रभाव पार्ला भन्ने विषयमा लेखकको चासो र सम्बन्धित विषयविज्ञसँग मिलेर गरेको त्यसको हिसाबकिताब भने घतलाग्दो छ। घोषले आणविक हमलाले जापानी शहरहरू हिरोसिमा र नागासाकीमा पारेको प्रभाव तथा त्यसको आधारमा भारतको नयाँदिल्ली र कोलकातामा पर्न सक्ने प्रभावबारे विश्लेषण गरेका छन्। नेपालको हिमालय क्षेत्रमा कस्तो प्रभाव पर्ला भनी उनले नेपालका पत्रकार कुन्द दीक्षितसँग कुरा गरेका छन्। “नेपालमा विकिरणको वर्षा हुनेछ,” दीक्षितले भनेका छन्, “यहाँका हिमालहरू पानीको मुहानभन्दा पनि विकिरणका स्रोतमा परिणत हुनेछन्।”

भारत र पाकिस्तानको हिजो र आजको अवस्था सतही रूपमा हेर्दा केही अनुहारमा मात्र परिवर्तन देखिन्छ। अटलबिहारी बाजपेयीको ठाउँ आज उनकै पार्टीका नरेन्द्र मोदीले लिएका छन्, नवाज सरिफको ठाउँमा इमरान खान छन्। तिनका भाषणमा प्रयोग हुने शब्दमा केही भिन्नता होला, तर दुवै देशको सत्तामा उही वर्गकै प्रधानता छ। हिन्दू अतिवादी मोदी सरकार बनेयता भारतीय शासक वर्गमा सैनिक शक्ति बन्ने अभिलाषा अझ बढेको छ।

पाकिस्तानको राजनीति अझै पनि तरल नै छ। इमरान खानले जगाएको झिनो ‘आशा’ कतिबेला भत्कने हो, टुंगो छैन। पाकिस्तान विदेशी शक्तिको क्रीडास्थल पनि हो। त्यसैले सुरक्षा र हतियारको सन्दर्भमा घोषले उठाएका कतिपय मुद्दा अझै पनि सान्दर्भिक छन्। आजको दक्षिण एशियाली राजनीतिक र सुरक्षा नीतिबारे बुझ्न यो पुस्तक अझै उपयोगी छ।

पुस्तकः काउन्टडाउन
लेखकः अमिताभ घोष
प्रकाशकः रवि दयाल पब्लिसर, दिल्ली
पृष्ठः १०८

प्रतिकृया दिनुहोस