नीतिगत हस्तक्षेपपछि फर्किंदै शेयर बजार
लगातार घटिरहेको बजारमा सरकारको नीतिगत हस्तक्षेपपछि शेयर बजारको बाटो बदल्न सघाउ पुगेको छ। नेप्से परिसूचकले एक महिनाअघि तय गरेको न्यूनतम विन्दुबाट सूचकांक झण्डै १०० अंक उक्लिइसकेको छ। प्राविधिक रूपमा नेप्सेको वियरिश प्रवृत्ति १००० अंकको स्तरसम्म झर्ने सम्भावना देखिए पनि कर्जा सुविधामा भएको नीतिगत बदलावले सूचकांकलाई निरन्तरको घट्दो प्रवृत्तिबाट वृद्धिको बाटोमा फर्काइरहेको छ।
१९ मंसीरको कारोबारमा शेयर बजार सूचकांक १११८ अंकमा झर्यो। त्यसको भोलिपल्ट अर्थ मन्त्रालयले पूँजी र मुद्रा बजारबारे अध्ययन गर्न नेपाल राष्ट्र ब्यांकका डेपुटी गभर्नर शिवराज श्रेष्ठको अध्यक्षतामा समिति गठन गर्यो। उक्त समाचार आएलगत्तै बढ्न थालेको नेप्से अहिलेसम्म निरन्तर उकालो प्रवृत्तिमा देखिएको छ।
११ पुसमा राष्ट्र ब्यांकले उक्त समितिको प्रतिवेदनअनुसार नै शेयरको धितोमा जारी हुने मार्जिन कर्जालाई खुकुलो बनाइदियो। सोही दिन नेप्सेले ३० अंकको ‘जम्प’ गर्यो।
यो साताको अन्तिम कारोबार दिन १२ पुसमा नेप्से १ अंक घटे पनि ३ सातायताको बढ्दो प्रवृत्तिचाहिँ रोकिनेवाला छैन। “बजारको स्वाभाविक प्रक्रियाअनुसार केही घटबढ त हुन्छ तर दीर्घकालमा शेयर बजार सुधारको दिशामै अगाडि बढ्ने विश्वास गर्न सकिन्छ,” अर्थ मन्त्रालयले गठन गरेको अध्ययन समितिका सदस्यसमेत रहेका नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष अम्बिकाप्रसाद पौडेल भन्छन्।
कर्जा नीतिमा परिमार्जनपछि नेप्सेमा लगानीकर्ताको आकर्षण व्हात्तै बढेको छ। अघिल्लो साता व्यापार रकम ३५ प्रतिशत बढेर रु. २ अर्ब २१ करोड पुगेकामा यो साता नेप्सेमा व्यापारको विस्तार ७७ प्रतिशतभन्दा धेरै भएको छ। साताभर कारोबार खुलेका ५ दिनमा नेप्सेमा रु. ३ अर्ब ९२ करोड ८६ लाखको शेयर व्यापार भयो।
यो साता नेप्सेमा एनएमबी ब्यांक सबैभन्दा ‘पपुलर’ रह्यो। यस कम्पनीको लगभग २३ करोड रुपैयाँको शेयर कारोबार भयो। नेपाल लाइफ इन्स्योरेन्स र नेपाल ब्यांकको पनि रु. २२ करोडभन्दा बढीको कारोबार भयो।
कारोबार संख्याको हिसाबमा भने नेपाल ब्यांक (७११ पटक) अगाडि देखियो। यो साताको अन्त्यमा शेयर बजारको आकार अर्थात् कुल शेयरको मूल्य (बजार पूँजीकरण) अघिल्लो साताको तुलनामा साढे ४ प्रतिशत बढेर रु. १४ खर्ब ५७ अर्ब ४५ लाख पुगेको छ।