खेलकुदशुक्रवार, पौष १३, २०७५

'ए' डिभिजन लिग- आर्मीको छैटौं जित

हिमालखबर

शहीद स्मारक 'ए' डिभिजन लिग फुटबलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले सरस्वती युवा क्लबलाई पराजित गर्दै प्रतियोगितामा छैटौं जित दर्ता गराएको छ।

ललितपुर सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघको टेक्निकल सेन्टरमा आज भएको खेलमा आर्मीले सरस्वतीलाई ४-० गोलअन्तरले पराजित गरेको हो। यो जितसँगै ११ खेल खेलेको आर्मीले २१ अंक जोडेको छ भने अंक तालिकाको चौथो स्थानमा यथावत छ।

आर्मीको जितमा नवयुग श्रेष्ठले एक गोल गरे भने कप्तान भरत खवासले दुई गोल गरे। नवयुगले खेलको सातौं मिनटमा दीपक गुरुङको पासमा करीब ६ यार्डबाट गोल गर्दै आर्मीलाई शुरुआती अग्रता दिलाए। त्यसपछि खेलको ३०औं मिनटमा कप्तान भरतले पेनाल्टीमार्फत एक गोल थप्दै आर्मीलाई दोस्रो अग्रता दिलाए। सरस्वती खेलको २८ औं मिनटदेखि १० खेलाडीमा सीमित बन्यो।

सरस्वतीका सुमन लामाले आर्मीका कप्तान भरत खवासलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि उनले दोस्रो पहेंलो कार्ड पाएका थिए। सोही पेनाल्टीलाई सदुपयोग गर्दै आर्मीका कप्तान भरतले गोल गरेका थिए।

खेलको पहिलो हाफसम्म २-० को अग्रता बनाएको आर्मीले दोस्रो हाफमा पनि समान दुई गोल थप्यो। खेलको ६१औं मिनटमा आर्मीका कप्तान भरतले व्यक्तिगत दोस्रो गोल गरे। उनले सन्तोष तामाङको फ्री किकलाई सरस्वतीका गोलरक्षक प्रदीप भण्डारीले नियन्त्रणमा लिन नसक्दा आएको रिबाउन्ड बललाई गोलमा परिणत गरेका थिए।

त्यस्तै आर्मीका लागि चौथो तथा अन्तिम विजयी गोल सरस्वतीका विदेशी खेलाडी ओलुसोला एब्राहिमले उपहारस्वरूप आत्मघाती गोल गरे। ११ खेल खेलेको सरस्वती १० अंकसहित तालिकाको दशौं स्थानमा छ। खेलमा म्यान अफ दी म्याच आर्मीका कप्तान भरत खवास चुनिए। रासस

प्रतिकृया दिनुहोस