वैदेशिक लगानी भित्र्याउन चैतमा लगानी सम्मेलन
सरकारले १५ र १६ चैतमा लगानी सम्मेलन गर्ने भएको छ । सरकारले नेपाललाई लगानीको आकर्षक गन्तव्यको रुपमा प्रवद्र्धन गर्ने उदेश्यले लगानी सम्मेलन गर्न लागेको हो ।
‘नेपाल लगानी सम्मेलन’ मा विभिन्न देशका सम्भावित लगानीकर्ता, अन्तर्राष्ट्रिय वित्तीय संस्थाका प्रतिनिधि, कुटनीतिक नियोग, विकास साझेदार, गैरआवासीय नेपाली, निजी क्षेत्र, विषय विज्ञको सहभागिता हुनेछ ।
जलविद्युत, निर्यातमूलक उद्योग तथा सडक रेलसहितका पूर्वाधारका क्षेत्रलाई प्राथमिकता राखेर सरकारले सम्मेलनको आयोजना गर्न लागेको हो ।
सम्मेलनमा नेपालमा उपलब्ध अवसरहरु, आर्थिक रुपान्तरणका लागि विभिन्न क्षेत्रमा लगानी लगायतका विषयमा छलफल हुनेछ । सम्मेलनमा मुख्य वक्ताका रुपमा प्रमुख दातृ निकाय विश्व ब्यांकका प्रमुखलाई बोलाउने विषयमा छलफल जारी छ ।
सम्मेलनको विषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारको दीर्घकालीन विकासको सोच तथा रणनीतिलाई कार्यान्वयन गर्न यो सम्मेलन आयोजना गर्न लागेको जानकारी दिए ।
सम्मेलनमार्फत सरकारले लगानीका लागि कसरी अनुकूल वातावरण तयार गरिरहेको छ भन्ने विषयमा जानकारी दिइने बताए ।
सरकार सुधारको बाटोबाट पछाडि नफर्कने बताउँदै अर्थमन्त्री खतिवडाले लगानीकर्ताको दुविधासमेत सम्मेलनले हटाउने बताए ।
नेपालको डुइङ बिजनेस इण्डेक्सको सुधारका लागि विश्व ब्यांकसँगको सहकार्यमा प्रयत्नशील रहेको उनले बताए ।
सम्मेलनमा लगानीकर्ता सामु प्रस्तुत गर्नका लागि सरकारले अढाई दर्जन आयोजनामा अध्ययन गरिरहेको बताइएको छ ।
सम्मेलनको तयारीका लागि अर्थमन्त्रीको संयोजकत्वमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, नेपाल सरकारका सचिवहरुसमेत रहेको निर्देशक समिति गठन भएको छ ।
यसअघि, २०७३ सालमा लगानी सम्मेलन आयोजना गरिएको थियो । उक्त सम्मेलनमा रु. २ खर्ब ७५ अर्बको लगानी प्रतिवद्धता भएपनि अधिकांश परियोजना अघि बढेका छैनन् ।