खेलकुदबिहिवार, पौष १२, २०७५

‘ए’ डिभिजन लिग- आठौं पटक मनाङको पोल्टामा

हिमालखबर

शहीद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि यस वर्ष पनि मनाङ मस्र्याङ्दी क्लबको पोल्टामा परेको छ। मनाङले ‘ए’ डिभिजन लिग जितेको यो आठौं पटक हो।

बिहीवार भएको खेलमा संकटा क्लबलाई ३-१ गोल अन्तरले हराएपछि मनाङले उपाधि पक्का गरेको हो। अझै २ खेल बाँकी छँदै अंक तालिकाका आधारमा मनाङ च्याम्पियन बनेको हो । लगातार ११ खेलमा शतप्रतिशत जितसहित ३३ अंक जोडेर मनाङ लिगको शीर्ष स्थानमा रहँदै च्याम्पियन बनेको हो।

मनाङ र संकटाबीच बिहीवार सातदोबाटोस्थित एन्फा मैदानमा भिडन्त भएको थियो। पहिलो हाफमा १-० को अग्रता बनाएको मनाङले दोस्रो हाफपछिको खेलको ८१ औं मिनटमा दोस्रो गोल थप्यो।

त्यसपछि ८७ औं मिनटमा विदेशी खेलाडी एडिलाजा सोमिडीको गोलमार्फत मनाङले ३-० को अग्रता बनायो। संकटाका सेड्रिक अवाले ९० औं मिनटमा १ गोल फर्काए।

मनाङ यसअघि २०४३, २०४४, २०४६, २०५७, २०६०, २०६२ र २०७१ मा ‘ए’ डिभिजन लिगमा च्याम्पियन बनेको थियो। संकटाले पनि २०३७, २०४० र २०४२ मा लिग जितेको थियो।

प्रतिकृया दिनुहोस