धान उत्पादनमा नयाँ रेकर्ड, गत वर्षभन्दा ९ प्रतिशत धेरै फल्यो
प्रमुख कृषि बाली धानको उत्पादनमा नयाँ रेकर्ड कायम भएको छ । यो वर्ष अहिलेसम्मकै सर्वाधिक धान फलेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।
धान उत्पादन गत वर्षभन्दा ८ दशमलव ८९ प्रतिशतले बढ्दै यो वर्ष ६५ लाख १० हजार मेट्रिक टन पुगेको छ ।
योसँगै धानबालीको उत्पादकत्व ३ दशमलव ७६ मेट्रिक टन प्रतिहेक्टर पुगेको छ । गत आर्थिक वर्ष २०७४/७४ मा ५१ लाख ५१ हजार मेट्रिक टन धान उत्पादन भएको थियो ।
यसअघि आर्थिक वर्ष २०७३/७४ मा सबैभन्दा धेरै ५२ लाख ३० हजार मेट्रिक टन धान फलेको थियो । (हे. टेबुल)
मौसमी अनुकुलता, प्रविधिको प्रयोग एवं रोपाइँको क्षेत्रफल बढेका कारण धान उत्पादन बढेको मन्त्रालयका सचिव डा. युवकध्वज जीसीले जानकारी दिए ।
मन्त्रालयले आज पत्रकार सम्मेलन गरेर तथ्यांक सार्वजनिक गरेको हो । समयमै पर्याप्त पानी परेको र धान रोपाइँ हुने क्षेत्रफल बढेका कारण धान उत्पादन बढेको हो । यद्यपि, यो उत्पादनले पनि धानको माग भने पूर्ति गर्दैन । देशमा वार्षिक ६१ करोड मेट्रिक टन धानको माग रहेको मन्त्रालयको तथ्यांक छ ।
धानको उत्पादन बढेपछि कुल गार्हस्थ उत्पादन (जीडीपी) मा पनि सकारात्मक योगदान पुग्छ ।
धानको उत्पादन वृद्धिले यो वर्षको कुल गार्हस्थ उत्पादनको वृद्धिमा करीब १ प्रतिशतसम्मको योगदान पु्र्याउने अनुमान मन्त्रालयले गरेको छ ।
देशको कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान २७ दशमलव ५९ प्रतिशत छ । कुल कृषिको गार्हस्थ उत्पादनमध्ये धान बालीको मात्रै भूमिका २१ प्रतिशत हाराहारीमा छ । सरकारले यो वर्ष ८ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखेको छ ।
आर्थिक वर्ष धान उत्पादकत्व (मेट्रिक टन/प्रतिहेक्टर) उत्पादन (लाख मेट्रिक टन)
२०७५/७६ ३.७६ ५६.१०
२०७४/७५ ३.५१ ५१.५१
२०७३/७४ ३.३६ ५२.३०
२०७२/७३ ३.१५ ४२.९९
२०७१/७२ ३.३६ ४७.८८
२०७०/७१ ३.३९ ५०.४७
२०६९/७० ३.१७ ४५.०४
२०६८/६९ ३.३१ ५०.७२