रिपोर्टबुधबार, ११ पौष , २०७५

मलेशियामा नेपाली कामदारमाथि रोकिएन शोषण

रामु सापकोटा

नेपाली कामदारलाई मलेशिया लैजाने प्रक्रिया ७ महीनायता ठप्प छ तर यसअघि नै मलेशिया पुगिसकेका कामदारले भने श्रमशोषण र अमानवीय व्यवहार भोगिरहेका छन्।

खोटाङका मनोज (२७, नाम परिवर्तन) सन् २०१५ डिसेम्बरमा ‘निड इग्लोमेन्ट’ म्यानपावरलाई रु.१ लाख २५ हजार बुझाएर मलेशिया उडे। सेलांगोर राज्यको मेरुमा रहेको ‘टप ग्लोभ’ कम्पनीमा राम्रो सेवा सुविधासहितको काम पाइने म्यानपावर कम्पनीको आश्वासनमा विश्वस्त बनेका मनोजको राहदानी मलेशिया पुग्नासाथ कम्पनीले नियन्त्रणमा लियो। राम्रो सेवा सुविधा होइन, बरु ज्यानकै असुरक्षा हुने काममा खटायो। हिमालखबरको सम्पर्कमा आएका मनोज भन्छन्, “हामीमाथि ठूलो श्रमशोषण छ, कम्पनीले समस्याबारे कसैलाई भन्नसमेत बन्देज लगाएको छ।”

दैनिक १०-१२ घण्टा काम गरिरहेका मनोज कम्पनीले मासिक १७०० मलेशियन रिंगिट तलबबाहेक अतिरिक्त समयको पारिश्रमिक र बिदा नदिएको, बिरामी वा दुर्घटनामा पर्दा औषधि उपचार नगरी बेवारिसे छाडिदिने गरेको बताउँछन्। मलेशिया पुग्नासाथ सबै कामदारको राहदानी कम्पनीले जफत गर्छ। कतिसम्म भने कामदारले आफूले चाहेको ठाउँमा गएर खानसमेत पाउँदैनन्।

सोही कम्पनीमा कार्यरत अर्का कामदार राजीवले भने, “कम्पनीले तोकेकै ठाउँमा खानुपर्छ, त्यसबापतको रकम तलबमा काटिन्छ।” टप ग्लोभ कम्पनीमा कार्यरत कामदारहरूका अनुसार म्यानपावर व्यवसायी रविन गुरुङले सञ्चालन गरेको क्यान्टिनमै सबै कामदारले खाना खानुपर्छ।

मलेशियाको टप ग्लोभ कम्पनीले कामदारको तलबबाट विभिन्न शीर्षकमा कटाएको रकम ।

‘टप ग्लोभ’ मेडिकल तथा सर्जिकल ग्लोभ्स (पञ्जा) निर्माता कम्पनी हो, जसका उत्पादन नेपालसहित १९५ देशमा निर्यात हुन्छन्। त्यहाँ नेपालसहित इन्डोनेसिया, बाङ्लादेश, म्यानमार, भियतनामलगायत देशका करीब ११ हजार कामदार कार्यरत छन्। नेपाली कामदार मात्र ४ हजारभन्दा बढी छन्। तिनैमध्येका मनोज घातक रसायनमार्फत ग्लोभ्स उत्पादन गर्दा सुरक्षाका उपायबेगर काम गरिरहेको र खाली हातले नै रसायन चलाउने गरेको बताउँछन्।

काठमाडौं मेडिकल कलेजका सामुदायिक चिकित्सा विभाग प्रमुख प्रा.डा. सुनिलकुमार जोशीका अनुसार ग्लोभ्स उत्पादन कम्पनीमा प्रयोग हुने ‘हाइड्रो कार्बन’ रसायनले सीधै फोक्सोमा असर गर्छ। त्यसबाट प्रजनन् क्षमतामा ह्रास हुनेदेखि श्वासप्रश्वास प्रणाली र मस्तिष्कमा समेत असर पर्न सक्छ। डा. जोशी मलेशिया तथा खाडी मुलुकमा अत्यधिक तापक्रम र घातक रसायनसँग काम गर्ने कामदारको स्वास्थ्य नै जोखिमपूर्ण बनेको बताउँछन्।

नेपालीकै मिलेमतोमा शोषण
राम्रो सेवा सुविधाको लोभ देखाएर नेपाली कामदारलाई नाम चलेका मलेशियाली कम्पनीमा पठाउने र त्यहाँ पुगेपछि श्रमशोषण गर्ने काममा नेपाली म्यानपावर व्यवसायी नै संलग्न छन्।

पछिल्लो समय मलेशियामा धेरै कामदार पठाइरहेको काठमाडौं महाराजगञ्जस्थित ‘ट्रष्ट नेपाल ओभरसिज प्रालि’ टप ग्लोभ कम्पनीलाई कामदार आपूर्ति गर्ने नेपालस्थित एजेन्ट हो।

कम्पनीमा क्यान्टिन चलाउने रविन गुरुङ यही म्यानपावरका सञ्चालक हुन्। हिमालको सम्पर्कमा आएका एक कामदारले भने, “ट्रष्ट नेपालसँगको सम्झौताअनुसार हामीले अतिरिक्त समय काम गरेको तलब, विदा सुविधा र राहदानी पाएनौं, बरु ज्यानकै जोखिम हुने काममा लगाइएको छ।”

ट्रष्ट नेपाल प्रालिले मलेशिया जाने कामदारबाट अनधिकृत रकमसमेत असुल्ने गरेको पाइएको छ। सरकारले २६ जेठ २०७१ मा मलेशिया र खाडीका मुलुकमा ‘फ्री भिसा फ्री टिकट’को नीति लागू गरे पनि ट्रष्ट नेपालले मलेशिया जाने कामदारबाट रु.१ लाख ३० हजारदेखि रु.१ लाख ५० हजारसम्म असुल्दै आएको कामदारहरू बताउँछन्।

सेक्युरिटी गार्डको काम गर्न जाने कामदार पनि शोषणमा परेका छन्। जस्तो कि, चार वर्षदेखि क्वालालम्पुरस्थित म्याक्सहिज सेक्युरिटी एसडीएन बीएचडी कम्पनीमा सुरक्षा गार्डका रूपमा कार्यरत गैंडाकोट, नवलपरासीका राजीव (नाम परिवर्तन) ले मलेशिया पुगेपछि सगुन ओभरसिज सर्भिसेज प्रालिसँग भएको सम्झौताअनुसार सेवा-सुविधा पाएनन्। बरु रोजगारदाता कम्पनीले नयाँ सम्झौता गर्‍यो, जसमा नेपालमा भनिएझैं कुनै सेवा-सुविधा उल्लेख थिएनन्।

राजीवका अनुसार सेक्युरिटी कम्पनीमा काम गर्ने नेपाली कामदारले दुई महीना काम गरेपछि एक महीनाको तलब पाउँछन्। म्यानपावर कम्पनीसँग २६ दिन काम गरेबापत १६०० मलेशियन रिंगिट तलब पाउने सम्झौता भए पनि महीनामा एक दिन पनि विदा नपाएको र विदा नदिइनुको कारण सोध्दा कुटाइसमेत खानुपरेको कामदारहरूको गुनासो छ।

कतिसम्म भने परिवारका सदस्यको मृत्यु हुँदासमेत नेपाल आउन दिइँदैन। नेपाल फर्कनु परे कामदारहरूलाई कम्पनीको खातामा ४ हजार मलेशियन रिंगिट जम्मा गर्न लगाइन्छ, जुन रकम जम्मा गर्ने क्षमता प्रायः कामदारको हुँदैन।

१५ वर्षदेखि पेनाङ राज्यमा रहेको ‘सी-फुड’ उत्पादक कम्पनी ‘गोह सियोन टी’ (जीएसटी) मा काम गरिरहेका बुटवलका गोपाल (३५, नाम परिवर्तन) सँग पनि मलेशिया जाँदा म्यानपावर कम्पनीले अतिरिक्त समय काम गरेको छुट्टै पारिश्रमिक र राम्रो सुविधा दिने सम्झौता गरेको थियो।

तर, दैनिक १२ घण्टा काम गरिरहेका उनले अहिलेसम्म अतिरिक्त समय काम गरेको पारिश्रमिक पाएका छैनन्। हिमालको सम्पर्कमा आएका गोपालले भने, “कम्पनीले पासपोर्ट खोसेर आफैंसित राखेको छ, चाहेको बेला कतै जान पाइँदैन।”

गोपालका अनुसार यो कम्पनीमा ७० नेपाली कामदार कार्यरत छन्। दुर्घटनामा परेका कामदारलाई उपचार खर्च नदिइने, बिरामी हुँदा पनि घर जान नपाउने र आफूले भोगेका समस्या कतै भन्न नपाइनेजस्ता बन्देज लगाइएको उनले बताए। होस्टलमा झन् सामान्य मानवीय सुविधा पनि हुँदैन, धेरै जना कामदारलाई एउटै कोठामा राखिन्छ। मलेशियाबाट सम्पर्कमा आएका सबैजसो कामदारले विदेशमा भोग्नुपरेको शोषण र अमानवीय व्यवहारबाट जोगिन देशभित्रै रोजगारीका अवसर सिर्जना गर्नुपर्ने माग गरे।

असुरक्षित मलेशिया !
मलेशियामा कार्यरत कामदारहरूले आफूमाथि भइरहेको शोषणबारे क्वालालम्पुरस्थित नेपाली दूतावासमा उजुरी पनि गरेका छन्। तर, त्यसको सुनुवाइ हुँदैन। टेलिफोन सम्पर्कमा आएका एक कामदारले भने, “दूतावास मुर्दाघर जस्तो छ, त्यहाँबाट सहयोगको अपेक्षा गर्नु बेकार छ।”

मलेशियामा अव्यवस्थित रूपमा बसिरहेका नेपाली कामदार ।

उनको भनाइमा अनुगमन गर्न जाने दूतावासका अधिकारीहरू कम्पनीका कर्मचारीलाई मात्र भेटेर फर्कन्छन्। मलेशियाली सरकारका अडिटरहरूले पनि बेलाबेला ती कम्पनीको अनुगमन गर्छन्। तर, त्यस्तो अनुगमनबारे कम्पनीहरूमा पहिल्यै सूचना पुगिसक्ने हुँदा कम्पनीहरूले आफूले जफत गरेको राहदानी केही समयका लागि कामदारकै हातमा थमाइदिन्छन्। एक कामदारले भने, “अडिटर फर्कनासाथ पासपोर्ट खोसिहाल्छन्।”

श्रम तथा रोजगार मन्त्रालयको ‘लेबर माइग्रेसन फर इप्लोइमेन्ट रिपोर्ट, २०१८’ अनुसार सन् २००८-००९ देखि २०१७-०१६ सम्ममा वैदेशिक रोजगारमा गएका नेपालीमध्ये मलेशियामा सबभन्दा धेरै २९.८८ प्रतिशत छन्। कामदारले म्यानपावर कम्पनीविरुद्ध गर्ने उजुरी पनि बढी मलेशियाकै छन्।

२०१२-०१३ देखि २०१५-०१६ सम्म श्रम तथा रोजगार मन्त्रालयमा परेका उजुरीमध्ये मलेशिया गएका कामदारका उजुरी मात्र ३५.२४ प्रतिशत छन्। त्यसैगरी, २००८-००९ देखि २०१६-०१७ सम्म वैदेशिक रोजगारका क्रममा मृत्यु भएका नेपालीमध्ये ३६.५६ प्रतिशत मलेशिया पुगेकाहरू छन्। क्वालालम्पुरस्थित दूतावासको आँकडाअनुसार मलेशियामा औसत दैनिक एक जना नेपाली कामदारको मृत्यु हुन्छ। नेपालीका समस्या हेर्ने क्वालालम्पुरस्थित दूतावासमा भने राजदूतसहित १० जना मात्र कर्मचारी खटाइएको छ।

को हुन् रविन ?
म्यानपावर कम्पनी ‘ट्रष्ट नेपाल प्रालि’का सञ्चालक रविन गुरुङ नेपाल वैदेशिक रोजगार व्यवसायी संघका द्वितीय उपाध्यक्षसमेत हुन्। वैदेशिक रोजगार विभागको अभिलेख हेर्दा उनको कम्पनीले मलेशिया गएका कामदारलाई ठगी गरेको अभियोगमा रु.१ लाख जरिवानासमेत तिरेको देखिन्छ।

यो म्यानपावरविरुद्ध सन् २००७ देखि २०१६ सम्ममा वैदेशिक रोजगारमा मलेशिया गएका कामदारका ५६ वटा उजुरीसमेत विभागमा दर्ता भएका छन्। गुरुङले ‘टप ग्लोभ’ मा काम लगाइदिएबापत कामदारको कमिशनमा मोलतोल गरेका मेसेजहरू समेत फेला परेका छन्।

‘टप ग्लोभ’ लाई कामदार आपूर्ति गर्न उनले क्वालालम्पुरमा ‘रिलिज म्यानेजमेन्ट एसडीएन बीएचडी’ नामको कम्पनी समेत खोलेको भेटिएको छ, जसको प्रबन्ध निर्देशक उनी स्वयं छन्।

(हिमालको सम्पर्कमा आएका हाल मलेशियामै कार्यरत श्रमिकहरूको सुरक्षाका लागि उनीहरूकै आग्रहमा नाम परिवर्तन गरिएको छ।)

प्रतिकृया दिनुहोस