आइओएमको डिनमा डा सिंह, डा केसीद्वारा विरोध
त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) को डिनमा प्रा डा केशवप्रसाद (केपी) सिंह नियुक्त भएका छन् ।
त्रिवि उपकुलपति कार्यालयले नौ महिनापछि आज केपी सिंहलाई डिन नियुक्त गरेको हो ।
डिन सर्च कमिटीले प्रा डा जगदीशप्रसाद अग्रवाल, प्रा डा केपी सिंह र प्रा डा ज्योति शर्माको नाम डिनका लागि सिफारिस गरेको थियो ।
त्रिविका उपकुलपति डा तीर्थ खनियाँले डा सिंहलाई आज नै पत्र बुझ्ने गरी डिन नियुक्त गरिएको जानकारी दिए ।
विसं २०४५ मङ्सिर ८ गते आइओएममा नियुक्त भएका सिंहले चार वर्षअघि त्रिवि शिक्षण अस्पतालको निर्देशकको जिम्मेवारी पाएका थिए।
चिकित्सा शिक्षा सुधार र विकृतिविरुद्ध नौ पटकसम्म अनशन बसिसकेका प्रा डा गोविन्द केसीले भने आइओएमको डिन नियुक्ति वरिष्ठताका आधार नभएकाले यसलाई नसच्याए आज अपराह्न ३ बजेदेखि अनशन शुरु गरिने चेतावनी दिएका छन् ।
डा केसीले गत बुधबार र शनिबार विज्ञप्ति जारी गर्दै आइओएमको डिन नियुक्ति वरिष्ठता आधारमा गर्न २४ घन्टाको समयावधि दिएका थिए ।
त्रिवि उपकुलकति कार्यालयले शनिबार साँझ बैठक बसी अवकाश पाउन चार महिना बाँकी समय रहेका प्रा डा सिंहलाई डिन नियुक्त गर्ने निर्णय गरेको हो ।
डा केसीले वरिष्ठताका आधारमा डिन नियुक्त गर्नुपर्ने आफ्नो माग यथावत् रहेकाले सो नसच्याए आफूले फेरि अनशन बस्ने चेतावनी दिए ।
उनले भने, “मैले कसैलाई व्यक्तिगत फाइदाका लागि नभई सिङ्गो चिकित्सा शिक्षाका लागि सिस्टममा चल्नुपर्ने मान्यताअनुसार नै वरिष्ठताका आधारमा डिन नियुक्ति हुनुपर्ने माग अघि सार्दै आएको छु । डा सिंहको नियुक्ति वरिष्ठताका आधारमा नभएकाले मेरो असहमति छ ।”
उपकुलपति खनियाँले भने बाहिर जसले जे भने पनि वरिष्ठताका आधारमा नै डिन नियुक्त गरिएको र सिफारिस भएकामध्ये डा सिंह नै वरिष्ठ भएको जिकिर गरेका छन् ।
रासस