रिपोर्टमंगलबार, १० पौष , २०७५

सशस्त्र द्वन्द्वको पीडा– छोराहरूको सम्झनामा आमाकाे कल्याणकारी काम

दीपक ज्ञवाली

यो कथा तिनै आमा तुलसा पाण्डेको हो, जसले अभाव र शोकका बीच सशस्त्र द्वन्द्वमा ज्यान गुमाएका छोराहरूको सम्झनामा कल्याणकारी काम गरिरहेकी छन् ।

गुमिसकेका छोरा र पतिसहितको सामूहिक तस्वीर नियाल्दै तुलसा पाण्डे । तस्वीरहरूः दीपक ज्ञवाली

रूपन्देहीको सैनामैना नगरपालिका–९, बाँसगढीमा रहेको टायल र टीनले छाएको सानो घरको साँघुरो कोठामा झुन्ड्याइएका छन् देवी–देवताका तस्वीर । त्यसमुन्तिर तुलसा पाण्डे, झविन्द्र र उनीहरूका दुई छोरा दुर्गा र युवराजको तस्वीर छ । तस्वीरमा देखिएकामध्ये अहिले तुलसा मात्र जीवित छिन् ।

कुनै बेला यी देवी–देवताका तस्वीरको ठाउँमा माक्र्स, एंगेल्स, लेनिन र नेपालका माओवादी नेताका तस्वीर सजिएका हुन्थे । यही घरका दुई ऊर्जावान् छोराहरू मारिए/बेपत्ता पारिएपछि भने ती तस्वीर हराए । छोराहरूलाई युद्धमा होम्ने नेता र कमाण्डरहरू पनि हराए ।

यो कथा तिनै आमा तुलसा पाण्डेको हो, जसले अभाव र शोकका बीच सशस्त्र द्वन्द्वमा ज्यान गुमाएका छोराहरूको सम्झनामा कल्याणकारी काम गरिरहेकी छन् । बुटवलबाट २१ किलोमिटर पश्चिम जाँदा सडकको बायाँतर्फ छ ‘शहीद तथा बेपत्ता स्मृति गेट’ । गेटबाट छिरेपछि नजिकैको सबैभन्दा जीर्ण घर हो तुलसाको ।

२०४५ सालमा गुल्मीको बाँझखर्कबाट तराई झरेकी तुलसाका श्रीमान् झविन्द्रको एक वर्षअघि नै हृदयघातबाट मृत्यु भइसकेको थियो । माओवादी युद्धमा होमिएका कान्छा छोरा युवराज पाण्डे २०५८ सालमा गुल्मीको वामीटक्सारमा सुरक्षाकर्मीसँग भएको भिडन्तमा घाइते भए । उपचारका लागि दिल्ली लगिएका उनी पूरा निको नहुँदै फर्किए र माओवादीको युद्ध प्रचारको काममा लागे । १९ असोज २०६० मा उनलाई सुरक्षाकर्मीले पक्राउ गरेपछि बेपत्ता पारिए ।

भाइ बेपत्ता भएको प्रतिशोधमा तुलसाका जेठा छोरा दुर्गा माओवादीमा संलग्न भए । १७ फागुन २०६० मा माओवादीले आयोजना गरेको कार्यक्रममा सहभागी हुन गएका उनी रूपन्देहीको सेरुवा बुद्धनगरमा सेनाको गोलीबाट मारिए । तुलसा भन्छिन्, “गोली हानेपछि पनि कुटीकुटी मारेको रे ! हजार विन्ती गर्दा पनि छोराको शव दिएनन् ।”

दुर्गाको शव नपाएपछि तुलसाले सद्गत गर्न पाइनन् । युवराज अझैं बेपत्ताको सूचीमै छन् । भर्भराउँदो उमेरका दुवै छोरा गुमाएकी उनी अहिले एक्लै पीडादायी जीवन बिताइरहेकी छन् । भन्छिन्, “सधैं सपनामा देख्छु, खाना खाने बेला आमा भन्दै आइपुग्छन् कि जस्तो लाग्छ ।”

यसअघि २०५६ सालमा तुलसाकी माइली छोरी कमलाका देवर बाँसगढीकै बासिन्दा टोपबहादुर श्रेष्ठको तत्कालीन माओवादीले चोरीको आरोपमा हत्या गरेको थियो ।

अहिले तुलसाका साथमा उनकी कान्छी छोरी विष्णु खत्री छिन् । तत्कालीन शाही नेपाली सेनाका हबल्दार प्रेमबहादुर खत्रीसँग विवाह गरेकी विष्णु श्रीमान्‌ले दोस्रो विवाह गरेपछि एक्ली भइन् । ती महिलाकै लागि प्रेमबहादुरले जागिर समेत छोडेका थिए । विष्णु भन्छिन्, “मन पराएका श्रीमान्ले अर्कैलाई अँगालेपछि त्यो घरमा जानै मन लागेन ।”

द्वन्द्वकै बेला बाँसगढीका अरू दुई व्यक्ति पनि मारिएका थिए । तीमध्ये एक थिए, माओवादीको आरोपमा सेनाद्वारा मारिएका गोपाल रिजाल र अर्का, सुराकीको आरोपमा माओवादीबाट मारिएका गिरिराज अर्याल ।

सम्झना मात्रै
मारिएका र बेपत्ता पारिएका छोराहरूका नाममा तुलसालाई सरकारले रु.२० लाख राहतस्वरुप दियो । आफूसँग भएको केही रकम र गाउँलेको सहयोग समेत थपथाप गरेर तुलसाले दुर्गा र युवराजको सम्झ्नामा गाउँमा सडक र स्मृतिद्वार निर्माण गराइन्, दुई छोराको प्रतिमा स्थापना गरिन् ।

तुलसा पाण्डे, बाँसगढीस्थित आफ्नै घरको आँगनमा ।

बाँसगढीका स्थानीय विभु पाण्डे भन्छन्, “यो गेट र बाटोले दुर्गा र युवराज मात्र होइन, सबै शहीद र बेपत्ताको सम्झ्ना गराइरहन्छ ।” तुलसाले छोराहरूको स्मृतिमा स्थानीय जनचेतना माध्यमिक विद्यालयमा छात्रवृत्तिका लागि अक्षय कोष समेत स्थापना गरेकी छन् । उक्त कोषबाट हरेक वर्ष गरीब र दलित विद्यार्थीलाई छात्रवृत्ति दिइन्छ ।

तुलसा आफू भने एकतले, टायल र टीनले छाएको घरमा बस्छिन् । माटोको चूलोमा दाउरा झेसेर कसौंडी र डेक्चीमा खाना पाक्छ । तर, साँझ्–बिहान के पकाउने भन्ने समस्या छ ।

मधुमेह, युरिक एसिडलगायतका रोगबाट थलिएकी तुलसा भन्छिन्, “सुगर र युरिक एसिड छ भन्ने थाहा छ, अरू के के छ जाँच गराउनै सकेकी छैन ।” अहिले उनीसँग उपचार गराउने र औषधि किन्ने पैसा छैन । सामाजिक सुरक्षा भत्ता बापत एकल महिलाले पाउने मासिक रु.१००० बाहेक उनको थप आम्दानी केही छैन ।

“हिजोआज कसैले फर्केर पनि हेर्दैन” तुलसा भन्छिन्, “छोराहरू हराएपछि त्यसबेलाका कमाण्डर–समाण्डर पनि आउनै छाडे ।” घरको तस्वीर लिंदै गर्दा उनले भनिन्, “नेताहरू ठूल्ठूला बंगलामा बस्छन् रे, उतैको फोटो खिचे हुन्थ्यो नि !”

गएको २५ मंसीरमा उनी भदाको विवाहमा गएकी थिइन् । त्यहाँ आफ्नै छोराजस्ता युवाहरू रमाइरहेको देखिन् र, सम्झ्इिन् दुर्गा र युवराजलाई । साँझ् घर फर्केपछि छोराका तस्वीरसम्म औंला पुर्‍याइन् । भन्छिन्, “आमा भन्दै आइपुग्लान् र ढोका खोलौंला जस्तो लाग्यो, रातभर निदाउनै सकिनँ ।”

उनले पालेको बाख्रो भर्खरै ब्याएको छ । गत साताको एक बिहान घाममा खेल्दै गरेका पाठाहरू हेरेर भनिन्, “यस्तै मायालु थिए मेरा सन्तान पनि ।”

प्रतिकृया दिनुहोस