कला/साहित्यसोमबार, ९ पौष , २०७५

‘घामै अबेला लाग्ने ठाउँमा सपना पनि धुमिल देखिंदोरहेछ’

हिमालखबर

नायकको सपना देख्ने बुद्धिसागर, लेखकको सपना देख्ने दयाहाङ र खलाबाट खगेन्द्र लामिछाने बनेका तीन साथीको कथाः

तस्वीरः युवराज श्रेष्ठ

कवि श्रवण मुकारुङ ठट्टा गर्थे, “मेरो घरमा बिहानैदेखि बेलुकासम्म घाम लाग्थ्यो, पारिडाँडामा दयाहाङ राईको घरमा भने घामै लाग्दैन, अहिले उनी आफैं घाम भएका छन् ।” लेखक बुद्धिसागरले जब यो कुरा सुनाए, दयाहाङले भनिहाले, “शायद त्यही घाम खोज्न काठमाडौं आए ।”

भोजपुरको खावा गाउँबाट दयाहाङको काठमाडौं यात्रा कम्ति फिल्मी छैन ।

उनले खेतमा काम गरिरहेको बेला भाईले एसएलसीको रिजल्ट सुनाए । रिजल्टले उनलाई खिन्न बनायो, काठमाडौं जाने राईको सपना खेतको माटोमै विलायो । स्कूलमा जहिल्यै चौथो हुने उनलाई विज्ञान विषय लागेछ ।

एसएलसीको नतिजाले भावुक बनेका दयाहाङले त्यसपछि कविता कोर्न थाले । “पास भएको भए काठमाडौं, विराटनगर वा कुनै शहरमा पढ्न जान्थिस्” भनेर घरमा सुनिरहनुपथ्र्यो ।

आफन्तको घर दमक जाँदा १८ वर्षको उमेरमा दयाहाङले पहिलो पटक गाडी देखेका थिए । अर्को वर्ष पुनः एसएलसी दिए र पास भए । अनि शुरु भयो उनको काठमाडौं यात्रा... ।

काडमाडौंमा पनि उनले कविता, कथा नलेखेका होइनन् । तर, कसैलाई सुनाएनन् । एक दिन कविता भन्ने कार्यक्रम थियो । बुद्धिसागरलाई पहिले म भन्छु भने तर, बुद्धिसागरले आफूलाई हतार छ भन्दै स्टेजमा चढेर सुनाइहाले । दयाहाङलाई आप्mनो कविता बुद्धिसागरको भन्दा झुर लाग्यो । उनी कविता नै नसुनाई फरार भए ।

घरबाट निस्कँदा उनको केही बन्ने सपना नै थिएन । प्राथमिक तहको शिक्षकसम्म बनिएला भन्ने लाग्थ्यो । “जुन ठाउँमा घामै अबेला लाथ्यो, दयाहाङले भने, त्यो ठाउँमा सपना पनि धुमिल देखिँदोरहेछ ।”

काठमाडौंमा नाटक लेख्ने कार्यशाला हुने थाहा पाए । उनले त्यसमा भाग लिए । प्रशिक्षक थिए, अनुप बराल । त्यहीबेला उनले अभिनय पनि सिके । त्यसपछि मात्रै उनले कलाकार बन्ने सपना देखे ।

अभिनय सिक्न जाँदा नै दयाहाङ र बुद्धिसागरको भेट भयो । हिरो बन्ने सपना देखेका बुद्धिसागरले सिक्ने क्रममै राम्रो भुमिका पाएका थिए भने दयाहाङले एउटै डाइलग बोल्न नपर्ने सामान्य भुमिका । जब सिक्दै गए, त्यही कथामा दयाहाङ मुख्य भुमिकामा आए, बुद्धिसागर बोल्नै नपर्ने भुमिकामा बिलाए ।

चर्चित उपन्यास ‘कर्णाली ब्लुज’ र ‘फिरफिरे’का लेखक बुद्धिसागरको काठमाडौं कथा झनै पिडादायी छ । कालिकोटको मान्माबाट दिनहुँ रेडियो र पत्रिकामा कविता पठाउँदा कहिल्यै बजेन/छापिएन । त्यसका लागि पनि काठमाडौं जानुपर्ने उनले निचोड निकाले ।

काठमाडौं बस्दा तीन दिनसम्म भोकै बस्नुपर्‍यो । छिमेकमा पाकेको खानाको वासना नै उनको खान्की बन्यो । ग्यास्ट्राइटिसले सतायो । पुराना कवि/लेखकसँग संगत गर्दा उनीहरुले पनि खाना नखाएको, बस्ने ठाउँ नै नभएको जस्ता संघर्षका कुरा सुन्दा उनको मन पनि शान्त हुन्थ्यो ।

कविताले उनलाई फ्रष्टेसनबाट जोगायो । ओरालो लागेको समय एउटा बिन्दुमा पुगेर समाप्त हुन्छ र उकालो शुरु हुन्छ भन्ने विश्वास लिएर बसे ।

दयाहाङ र बुद्धिसागरका साथी खगेन्द्र लामिछानेको कथा पनि कम्ता मन छुने छैन । नेपाली चलचित्रका स्थापित लेखक/कलाकार खगेन्द्र पोखरामा बस्दा नाटक लेख्ने र अभिनय गर्थे । करिअर बनाउन काठमाडौं जानुपर्छ भन्ने लागेपछि उनी काठमाडौं हानिए ।

काठमाडौं बस्दा घरबाट पैसा मगाउथे । एउटा चरणमा पुगेपछि उनलाई घरबाट पैसा माग्न पनि लाज लाग्न थाल्यो ।

छोरा–छोरी पढाउँदा बुवालाई राम्रै ऋण लागेछ । जग्गा बेच्दा पनि तिर्न पुगेन । खगेन्द्रले विदेश जाने तयारी गरे । पासपोर्ट बनाए । बुवाको ऋण तिरेर मात्र आफ्नो काममा फर्कने मनस्थिति बनाए र बुवालाई सुनाए । उनको तयारी सुनेर बुवाले भनेछन्, “धत् काम गर्न पनि विदेश कोही जान्छ ? विदेश त घुम्न जाने हो ।”

त्यसपछि उनको खुशीको सीमा रहेन । जब पुनः काठमाडौं फर्किए उनी एकाध वर्ष स्याङ्जा घर फर्किएनन् । त्यतिबेला उनले बीबीसी मिडिया एक्सनमा काम पाए । तलब राम्रो । अलिकति बैंकबाट ऋण लिएर एकै दिन बुवाको सबै ऋण तिरिदिए ।

“जीवन संघर्ष हो,” खगेन्द्रले भने, “अहिले पनि भारी छ, यसबाट भाग्न पनि सकिंदैन, लुक्न पनि सकिंदैन ।”

काठमाडौंमा त्यतिबेला संघर्ष गर्दा खगेन्द्र लामिछानेलाई छोटकरीमा सबैले “खला” भन्दा रहेछन् । तर अहिले कसैले पनि खला भन्दैनन् । उनले खलाबाट खगेन्द्र बन्न धेरै कहाली लाग्दा भोगाइहरु कटाउनुपर्‍यो ।

संघर्षको बेला प्रेरणा दिनेहरु पनि हुन्छन् । तर, त्यो प्रेरणा एउटा चरण पुरा गरेपछि नपुग हुने उनीहरु सुनाउँछन् । थप प्रेरणा पाउन आफूले देशी विदेशी लेखक, साहित्यकारलाई फलो गर्ने र उनीहरुसँग अन्तक्र्रिया गर्ने गरेको बुद्धिसागर बताउँछन् ।

यता, खगेन्द्र भने सानो पात्रले पनि ठूलो प्रेरणा दिने बताउँछन् । कथा लेख्दा होस् या पढ्दा वा फिल्म हेर्दा उनीहरु कथाका उतार चढावसँगै रुने र हाँस्ने गर्छन् ।

“म आफुलाई लुकाउन चाहन्छु, एकान्तमा एक्लै रोइदिन्छु ।” दयाहाङले भने, “मेरो परिवारको सबैभन्दा जिम्मेवार म, म रोएँ भने परिवार कमजोर हुन्छ ।”

जब खगेन्द्रको चलचित्र ‘पशुपति प्रसाद’ बुद्धिसागर र खगेन्द्रले हेर्दै थिए आफ्नै चलचित्र हेरेर खगेन्द्र सुक्सुकाउन पो थाले ।

गहभरी आँशु बनाएका खगेन्द्रलाई बुद्धिसागरले सोधे– “किन रोएको ?” खगेन्द्रले रुन्चे स्वरमा जवाफ दिए, “यसपछि झनै सिरियस सिन छ ।”

पोखरामा जारी ‘आईएमई नेपाल लिट्‌रेचर फेस्टिभल’मा लेखक बुद्धिसागर, अभिनेता दयाहाङ राई र चलचित्रकर्मी खगेन्द्र लामिछानेले ‘शहर, साथी र सपना’ शीर्षकमा गरेको अन्तरक्रियामा आधारितः 

प्रस्तुतिः युवराज श्रेष्ठ

पढ्नुहोस् ।

साहित्य महोत्सव- नेपाली साहित्य र संस्कृतिको अन्तर्राष्ट्रियकरण

 

प्रतिकृया दिनुहोस