टिप्पणीसोमवार, पौष ९, २०७५

शहरी आगलागी र नियन्त्रणका उपाय

हिमालखबर

पछिल्लो समय बिजुलीमा हुने गडबडी आगलागीको मुख्य कारण देखिएकाले घरमा वायरिङ राम्ररी गर्ने र आगो तथा धूप बाल्दा सावधानी अपनाउने हो भने सम्भावित विपत्‌बाट बच्न सकिन्छ ।

२०५९ मंसीरमा तेह्रथुमको सदरमुकाम म्याङलुङ बजारमा ठूलो आगलागी भएको थियो । त्यसयताका १६ वर्षमा पटक–पटक आगलागी भए पनि केही गरी आगो लागिहाले तत्कालै निभाउन सक्ने भरपर्दो उपायको व्यवस्था नगरिंदा पीडितहरू अझैं पनि सन्त्रासमै बाँचिरहेका छन् । आगलागीको क्षति त छँदैछ, त्यसभन्दा पनि क्षति भोगेका समुदायहरू पुनः पुरानै अवस्थामा फर्कन कति समय लाग्छ भन्ने विषय अझ् महत्वपूर्ण हुन्छ ।

आगलागीले अल्पविकसित मात्र होइन, विकसित देशमा पनि क्षति गरेको पाइन्छ । हालसालै अमेरिकाको क्यालिफोर्नियामा भएको आगलागीले धेरै बस्ती नष्ट गर्‍यो । हामी र विकसित देशबीचको फरक विपत्पछिका कार्यहरूमा देखिन्छ ।

काठमाडौंको बुद्धनगरस्थित फर्निचर उद्योगमा भएको आगलागी । तस्वीरः बिक्रम राई

विकसित देशमा विपत् सुरक्षणका साधनहरू उपलब्ध हुने भएकाले त्यहाँ अल्पविकसित देशमा जस्तो लामो र गहिरो प्रभाव नपर्न सक्छ । तर, हामीकहाँ आगलागीपछिको केही समय राहतको कुरा गर्ने र लगत्तै सबथोक बिर्सने बानी भइसक्यो ।

विगत १६ वर्षमा मात्र तेह्रथुम, ताप्लेजुङ, इलामलगायत विभिन्न जिल्लाका सदरमुकाम र बजारमा ठूला आगलागीका घटना भएका छन् । आगलागी फरक किसिमको विपत् हो । आगो सामान्यतः मानवीय कारणबाट लाग्छ र यसको विस्तार कसरी र कहिलेसम्म हुन सक्छ भन्न सकिन्न ।

एउटा झुप्रोमा लागेको आगोले बस्ती नै सखाप पारेका उदाहरण धेरै छन् । अझ्, हाम्रो शहरी क्षेत्रका घरहरू झुरुम्म टाँसिने भएकाले यस्ता स्थानमा आगो लाग्नु ठूलो जोखिम हुन्छ । आगलागीले घर मात्र खरानी पार्दैन, घरपरिवार र त्यसका प्रत्येक व्यक्तिको सपना, योजना र जीविकोपार्जनको रणनीति समेत समाप्त हुन्छ, जसलाई पुनः सामान्य अवस्थामा ल्याउन जीवनको लामो समय र प्रयास खर्चनुपर्छ ।

सम्पत्तिको नाममा एउटा घर मात्र हुने, त्यही घरमा आधारित व्यवसायबाट गुजारा चलाउने परिवारहरूमा घर आगलागी हुँदाको प्रभाव कस्तो होला, सम्झँदा पनि कहाली लाग्छ । ताप्लेजुङको सदरमुकाम फुङलिङमा २०६० सालमा भीषण आगलागी भएको थियो । त्यसपछि पनि सोही ठाउँमा फेरि तीन पटक आगलागी भइसक्यो । यसरी बारम्बार एकै क्षेत्रमा आगो लाग्नु प्रभावकारी निरोधात्मक उपाय अवलम्बन नहुनुको परिणाम हो ।

आगलागीका प्रमुख घटना
नेपालमा घरबस्तीमा हुने आगलागीका विवरणहरू राख्ने चलन देखिंदैन । सामान्य समाचारहरूमा आएको आगलागीको हिसाब गर्ने हो भने पनि यसबाट ठूलै क्षति हुने गरेको बुझ्न सकिन्छ ।

हामीले नेपालमा भएका आगलागीका केही मुख्य घटनाको समय शृंखला बनाएका छौं (हे.तालिका–१) । देशको मुख्य प्रशासनिक केन्द्र सिंहदरबार २०३० सालको आगलागीबाट क्षतिग्रस्त भयो । भवनसँगै यसमा रहेका कला, प्रशासनिक कागज र महत्वपूर्ण दस्तावेजहरू नष्ट भए । यस्तै, २०४० सालमा नवलपरासीको भृकुटी कागज कारखानालाई आगोले तहसनहस पार्‍यो ।

२०५९ सालमा तेह्रथुमको म्याङलुङ नगरपालिकामा भएको क्षति, २०६० सालमा ताप्लेजुङमा, आठ वर्षअघि इलाममा, तीन वर्षअघि तेह्रथुममा, करीब एक वर्षअघि काठमाडौंको बल्खु तथा ताप्लेजुङको फुङलिङमा आगलागी भएर ठूलो क्षति भएको थियो । २०६८ माघमा धनकुटाको राजारानीमा घर जल्दा एकै परिवारका पाँच जनाको मृत्यु भएको थियो । प्रत्येक वर्ष फागुन–चैतमा तराईका बस्तीहरूमा आगलागी भएका खबर आइरहन्छन् ।

आगलागीको संख्या र क्षतिको अनुमान गर्न हामीले यस महीना भएका आगलागीका घटनाबारे अनलाइन र पत्रपत्रिकामा आएका समाचारहरू खोजी गरेका थियौं । गएको १५ कात्तिकदेखि १५ मंसीरसम्ममा आगलागीका सात घटना भएको देखियो । यी घटनामा तीन जनाको मृत्यु भएको र करीब रु.५ करोडको क्षति भएको उल्लेख छ । हामीले सरसर्ती खोजी गरेको र सानातिना आगलागीका समाचार नआउने हुँदा संख्या योभन्दा धेरै हुन सक्छ ।

आगलागी हावा बढी चल्ने र सुक्खायामका कारण फागुनदेखि वैशाखसम्म धेरै हुन्छ । बिजुली र ग्यासको पहुँच नभएका ग्रामीण बस्तीहरूमा टुकी, अँगेनोको आगो ननिभाई छाड्नु आदि कारणले आगो लागेको पाइन्छ । तर, बजार क्षेत्रको आगलागीको मुख्य कारण भने विद्युतीय सटसर्किट, ग्यास सिलिन्डर पड्कनु, ग्यास लिक हुनु र धूप बाल्ने चलन आदि हुन् ।

क्षति धेरै हुने कारण
आगलागीको जोखिम बढ्नु तथा क्षति धेरै हुनुमा धेरै कारण छन् । तर, यहाँ हामी केही मुख्य कारणबारे छलफल गर्छौं:

निरोधात्मक उपायको कमीः आगलागी धेरै हुनु नै क्षति बढी हुने मुख्य कारण भएकाले सावधानीका उपाय अवलम्बन गर्नु नै सबैभन्दा राम्रो उपाय हो । तर, हाम्रो परम्परागत रहनसहनमा विपत् तथा जोखिम न्यूनीकरण गर्ने गरी लगानी गर्ने चलन छैन । पछिल्लो समय बिजुलीमा हुने गडबडी आगलागीको मुख्य कारण बन्न थालेको छ । घर बनाउँदा वायरिङ राम्ररी गर्ने र आगो तथा धूप बाल्दा सावधानी अपनाउने हो भने मात्र पनि आगलागी र यसबाट हुने क्षति घटाउन सकिन्छ ।

पूर्वतयारीमा लगानी अभावः आगलागी भइहाले कसरी तत्काल नियन्त्रण गर्ने भन्ने पूर्वतयारीका प्रभावकारी रणनीति हामीसँग छैनन् । विकास साझेदारहरूको सहयोगमा बनाइएका पूर्वतयारी कार्ययोजना उपयोग हुनसकेको छैन । यसो हुनुमा ती कार्ययोजना स्थानीयस्तरमा अभ्यासको लागि उपलब्ध भएनन् वा प्रयोगको लागि उपयुक्त भएनन् ।

काठमाडौंमा चैत–वैशाखमा आगलागीका घटना धेरै भएको देखिन्छ । यो समयमा पानीको चर्को अभाव हुन्छ भन्ने थाहा हुँदाहुँदै पनि हामी उपयुक्त व्यवस्था गर्दैनौं । भएका दमकल पुरानो हुनु, सतर्कताको सूचना प्रसार गर्ने प्रभावकारी प्रबन्ध नमिलाइनु, बहुआयामिक अग्नि नियन्त्रण पद्धति अपनाउन ध्यान नदिनु जस्ता कारणले आगलागी भइहाले पनि प्रभावकारी रूपमा नियन्त्रण गर्न सकिएको छैन ।

शहरी क्षेत्रमा भौतिक विकाससँगै आगलागीको चुनौती कम गर्ने प्रयास हुनुपर्छ । शहरहरूमा अग्ला भवनका लागि अग्नि नियन्त्रण तथा पूर्वतयारीको मापदण्ड बनाइएको पनि छ । तर, ती मापदण्डको प्रयोग के–कति भएका छन् भन्ने अनुगमन हुँदैन । यस्तै, त्यस्ता भवनमा आगलागी भए कसरी थाहा हुन्छ र आगो कसरी निभाइन्छ भन्ने जानकारी कतै गराइएको पाइन्न । आगलागी भइहाले कहाँ कति नम्बरमा खबर गर्ने, धेरैलाई जानकारी नहोला ।

प्रतिक्रिया समयको निर्धारण र समन्वयको कमीः विकसित शहरहरूको अभ्यास हेर्दा आगलागी भएको कति समयमा घटना भएको स्थानमा पुग्ने भन्ने (जसलाई यहाँ प्रतिक्रिया समय भनिएको छ) निर्धारण गरी त्यो पूरा गर्ने प्रयास गरिन्छ । जस्तैः अष्ट्रेलियाको ब्रिसबेन नगर परिषद्ले खबर पाएको १४ मिनेटमा आगलागी भएको स्थानमा पुग्ने योजना बनाएको छ ।

अमेरिकाको न्यूयोर्कको आगलागी नियन्त्रण गर्ने विभागको औसत प्रतिक्रिया समय चार मिनेटदेखि ५ मिनेट रहेको तथ्याङ्कले देखाउँछ । नयाँदिल्लीमा प्रतिक्रिया समय करीब ९ मिनेट छ । काठमाडौंको प्रतिक्रिया समय कति छ, विश्लेषण गर्न तथ्याङ्क पाइँदैन ।

काठमाडौंमा भएका आगलागी नियन्त्रण गर्न दमकलले लगाउने औसत समय निकाल्न २१८ वटा घटनालाई विश्लेषण गरिएको छ । तीमध्ये ३८ वटा घटनामा कार्यालयबाट हिंडेको दुई घण्टामा दमकल आगो निभाएर फर्केको देखिन्छ (हे.तालिका–२) ।

जुद्ध वारुणयन्त्र कार्यालयको तथ्याङ्कमा खबर आएको कति समयमा दमकल हिंड्यो, कति समयमा पुग्यो र उद्धारमा कति समय लाग्यो भन्ने स्पष्ट विवरण राख्ने गरिएको छैन । वसन्तपुरमा राख्ने गरिएको दमकल सबै क्षेत्रमा सहज रूपमा पुग्न सक्दैन । मानौं, कोटेश्वर क्षेत्रमा आगलागी भए वसन्तपुरमा भएको दमकल कति समयमा आइपुग्ला ? अझ् ट्राफिक जामको बेला हालत के होला ?

उपलब्ध साधन–स्रोत प्रभावकारी नहुनुः अग्नि नियन्त्रणका लागि उपलब्ध साधन–स्रोतको समेत उपयोग भएको पाइँदैन । एक नगरपालिका एक दमकल नीति २०६७ सालमै बनिसकेको छ र केही नगरपालिकामा आपत्कालीन उद्धारको सामान्य संयन्त्र पनि नबनाइएको होइन । तर, तीतो यथार्थ कस्तो छ भने, कुनै नगरपालिकाको मुख्य बजारमा आगलागी हुँदा केही मिनेटको दूरीमा रहेको नगरपालिकामा रहेको दमकल समेत प्रयोग गर्न सकिंदैन ।

कति स्थानीय तहमा भएका दमकल जनशक्ति अभावका कारण सञ्चालन हुनसकेका छैनन् । आगलागीको सूचना पाएको कति समयमा दमकल त्यस क्षेत्रमा पुग्छ भन्ने टुङ्गो छैन । गाउँबस्तीमा आगलागी नियन्त्रणको उपाय गाउँलेको सहयोगमा स्थानीयस्तरमा पानी भए सोको प्रयोग गर्ने वा माटो र स्याउलाको प्रयोग नै हो, जुन धेरै ढिलो र जोखिमयुक्त हुन्छ ।

अव्यवस्थित शहरीकरणः काठमाडौंमा साइरन बजाइरहेको दमकल जाममा अड्केको दृश्य खासै नौलो होइन । व्यवस्थित बस्ती विकास विश्वको पुरानो अवधारणा भए पनि हामीकहाँ भर्खर बनिरहेका बस्तीहरू समेत व्यवस्थित नहुनु विडम्बना हो । काठमाडौंका सडकछेउमा आपत्कालीन अवस्थामा पानी निकाल्ने राणाकालीन संरचना अझैं देख्न पाइन्छ ।

पुराना मासिने र नयाँ नबन्ने प्रवृत्तिले हाम्रो जोखिम न्यूनीकरणको दुर्दशा झ्ल्काउँछ । तीन फिट बाटो राखेर बन्ने घरहरूमा के कस्तो आपत्कालीन सेवा पु¥याउन सकिएला, एकपटक हामी नागरिकलगायत नीति निर्माताहरूले पनि सोच्नैपर्छ । अर्कोतर्फ, सानो गल्लीमा लहरै टाँसिएर बनेका घरहरूले आगलागीको क्षति विस्तारमै सघाउँछन् ।

के गर्नुपर्ला ?
एकै नगरपालिका वा क्षेत्रमा पटक पटक आगलागी भइरहँदा यसले हाम्रो चेतनामा सुधारको सोच ल्याउन नसकेको देखाउँछ । घटनाबाट पाठ सिकेर त्यसलाई शहरी विकासको योजनामा समेट्न नसक्नु हाम्रो हेलचेक्र्याइँ हो । राज्य संयन्त्रले कुनै भवितव्य परे दमकललाई खबर गरे यथाशक्य चाँडै नियन्त्रण हुन्छ भन्ने जनविश्वास दिलाउनु जरूरी छ । यसको लागि रणनीतिक योजना र उपयुक्त कार्ययोजना चाहिन्छ ।

व्यवस्थित शहरीकरणः हामीले आगलागीको कुरा गरिरहेकाले दमकल पो प्रभावकारी बनाउनुपर्ने रहेछ जस्तो लाग्न सक्छ । तर, समग्रमा सबै नगरवासीको सुरक्षाका लागि व्यवस्थित शहरीकरणको विकल्प छैन ।

किनकि आगलागी जस्ता धेरै विपत्‌काे एकीकृत सम्बोधन व्यवस्थित बस्ती विकास र शहरीकरणले गर्ने हो । कम पैसा हुनेले पनि घर बनाउन पाउनुपर्‍यो नि भन्ने तर्क राखेर केही फिट बाटोमा शहरी भवन आचारसंहिता विपरीत घर बनाउन दिने प्रवृत्तिले समस्त शहरी घरपरिवार जोखिममा पर्न सक्छन् । भवन नापनक्शा र सुपरीवेक्षण गर्ने प्राविधिकले आगलागीलगायतका जोखिम न्यूनीकरणमा लगानी बढाउन उत्साहित गराउनुपर्छ ।

आगलागी नियन्त्रण अध्ययन तथा रणनीतिः सबैतिर आगलागीको सम्भावना समान हुँदैन । जनसंख्या, भूगोल, भौतिक संरचना आदि विभिन्न विषयले यसको निर्धारण गर्ने हुँदा कुन–कुन ठाउँमा दमकल राख्नुपर्ने हो भन्नेबारे विस्तृत अध्ययन गर्नुपर्छ । यस्ता दमकल राख्ने स्थान शहरी योजनामै समेटेर बस्ती विकास गर्दा नै आवश्यक जग्गा छुट्याउनु आवश्यक हुन्छ । आगलागी भइहाले के गर्ने भन्नेमा सर्वसाधारणलाई स्पष्ट आवधिक सूचना दिनु महत्वपूर्ण हुन्छ, सचेतनाले मात्र पुग्दैन ।

एकीकृत सूचना संकलन तथा परिचालन केन्द्रः अहिले धेरै नगरपालिकामा दमकल त छ, तर त्यसको परिचालन प्रभावकारी बनाउन सकिएको छैन । कतै आगलागी भए स्थानीयवासीले फोन गरेर बोलाउँदा ठूलो आगो भए अनियन्त्रित हुने र सानो भए निभिसकेको अवस्थामा मात्र दमकल आइपुग्ने देखिन्छ । आगलागीको सूचना पाएलगत्तै दमकल पुग्न नसक्नु हाम्रो सुधार्नुपर्ने पाटो हो ।

यसका लागि एकीकृत परिचालन केन्द्र आवश्यक हुन्छ । अन्तर–स्थानीय तह विपत् व्यवस्थापन केन्द्र स्थापना र सञ्चालन गर्न सके लागत घट्ने, सूचना प्रसार चुस्त हुने तथा आगलागीको प्रतिक्रिया समय घट्नेछ । मानौं, काठमाडौं उपत्यकाका सबै नगरपालिका मिलेर आगलागी भएको सूचना एक ठाउँबाट लिने र कहाँ आगलागी भएको हो त्यही क्षेत्रका दमकललाई सीधै सूचना दिने व्यवस्था हुने हो भने आगलागी नियन्त्रण प्रभावकारी हुनेमा दुईमत नहोला ।

आगलागी नियन्त्रणमा भएका प्रयासहरूलाई तथ्याङ्कमा राख्नुपर्छ । कतिबेला खबर आयो, कति समयमा दमकल हिंड्यो, कति समयमा पुग्यो र उद्धारमा कति समय लाग्यो भन्ने विवरण राख्ने व्यवस्थाले भावी योजना निर्माणमा सहयोग गर्छ ।

विकेन्द्रित अग्नि नियन्त्रण प्रणालीः भारतको नयाँदिल्ली तथा मुम्बईमा जस्तै हाम्रो काठमाडौं उपत्यकामा पनि ट्राफिक जाम अग्नि नियन्त्रणको ठूलो चुनौती बनेको छ । यो अवस्थामा हामीले दुई विषयमा ध्यान दिन जरूरी छ ।

पहिलो, हालको स्थानीय तहको अग्नि नियन्त्रणको व्यवस्थालाई सुधार गरी प्रभावकारी परिचालन र सञ्चार प्रणालीबाट एकीकरण गरी विकेन्द्रित अग्नि नियन्त्रण प्रणाली लागू गर्ने ।

दोस्रो, लक्ष्य तोकेर काम गर्दा प्रभावकारी हुने भएकाले आगलागीको प्रतिक्रिया समय तोक्ने र सोही अनुसार कार्ययोजना बनाई अग्नि नियन्त्रणको तयारी अगाडि बढाउन आवश्यक छ । यसअन्तर्गत कुन कुन स्थानमा दमकल राख्नुपर्छ भन्ने पहिचान गर्न ‘लोकेसन अप्टिमाईजेसन’ गर्ने जस्ता काम गर्नुपर्छ । कहाँ कहाँ कति दमकल छन् र तिनले कहाँ कहाँ सेवा दिने हो भन्ने स्पष्ट योजना पनि बनाउनुपर्छ ।

निष्कर्षः माथि उल्लिखित विषयहरूको कार्यान्वयन गर्न राम्रो योजना उत्तिकै आवश्यक छ । यसर्थ आगलागी नियन्त्रणको प्रतिक्रियात्मक रणनीतिको पहिलो शर्तस्वरूप उपत्यकाको आगलागीको विस्तृत अध्ययन गरी कहाँ कहाँ आगलागीको उच्च सम्भावना छ, त्यहाँ आगो निभाउन कस्ता चुनौती आइपर्लान्, पूर्वतयारी कसरी गर्ने, आदि विषयहरू समावेश गरी रणनीति बनाउनु आवश्यक छ ।

प्रदेश राजधानी र ठूला शहरहरूमा पनि यस्तो रणनीति तयारी र एकीकृत परिचालन केन्द्रको स्थापना जरूरी छ । यस्ता विपत्बाट कहीं कसैको क्षति हुन नदिन सबै तहको सरकारले आवश्यक कदम चाल्न त जरूरी छ नै, साथै हामी नागरिकले पनि आफ्नो सानो गल्तीले धेरै ठूलो क्षति हुनसक्नेतर्फ सचेत भई स्वीकृत मापदण्डको कार्यान्वयन र आगलागी नियन्त्रणमा सम्बन्धित पक्षसँग सहकार्य गर्न उत्तिकै आवश्यक छ ।

(भारद्वाज अष्ट्रेलियाको द युनिभर्सिटी अफ क्वीन्सल्याण्डमा विद्यावारिधि गर्दैछन् । केसी अष्ट्रेलियाको ग्रिफिथ विश्वविद्यालयमा अनुसन्धानरत छन् ।)

विपत्‌माथिको खेलबाड

त्रिचन्द्र क्याम्पसमा आगलागी

 

प्रतिकृया दिनुहोस