टिप्पणीआइतवार, पौष ८, २०७५

एउटै थिए सिरिजङ्गा

हिमालखबर

- अर्जुनबाबु माबुहाङ

लिम्बू लिपिका सर्जक र शहीद सिरिजङ्गाको पुनर्जन्म र अवतारी चोलाबारे विभिन्न प्रसंग पाइए पनि उनी एउटै मात्र देखिन्छन्– अठारौं शताब्दीताका।

पश्चिम सिक्किमको मार्ताममा बनाइएको सिरिजङ्गाको मूर्ति र मार्तामकै रेसी खोलाको छाँगो । (दायाँ) तस्वीर: अर्जुनबाबु माबुहाङ

‘वाले खुम्मा वा खोंगी । फाक्ले खुम्मा फाक खोंगी ।। सिरिजङ्गा याक्थुङ साप्ला केजोक्पा । मेम्बात्लो हाङले आम्सेत्लो ।।’ अर्थात्, ‘कुखुरालाई काबुमा राख्न खोंगीमा राखिए जस्तै सुँगुरलाई कज्याउन खोरमा राखिन्छ । सिरिजङ्गाले याक्थुङ्बा लिम्बू कागज बनाएको नभन्नू । यसो भन्नेलाई राजाले मार्छ ।’

लिम्बू लिपि र भाषाका सर्जक एवम् शहीद सिरिजङ्गाका यी शब्दलाई इतिहासकार इमानसिं चेम्जोङले संकलन गरेका हुन् । सन् १९५५ मा प्रोफेसर आर. के. स्प्रिगले हज्शन पाण्डुलिपिमा पाइएका केही लिम्बू सामग्री नेपाल ल्याएपछि चेम्जोङले सिरिजङ्गाबारे अध्ययन गर्ने मौका पाएका थिए ।

उक्त पाण्डुलिपिमा भेटिएका सिरिजङ्गाका लेखोट समेटेर उनले सन् १९६१ मा ‘किरात मुन्धुम खाहुन’ भनेर प्रकाशन गरेपछि सिरिजङ्गाबारे चर्चा हुन थालेको हो । यसैले सिरिजङ्गालाई आम मानिसबीच चिनाउने इतिहासकार चेम्जोङ नै हुन् भन्दा हुन्छ ।

भारतको उपनिवेशकालमा नेपालमा ब्रिटिशको रेजिडेन्ट (राजदूत) भएर सन् १८२० देखि २३ वर्षसम्म बसेका विद्वान् ब्रायन हग्टन हज्शनले १८४५ देखि १८५८ सम्म दार्जीलिङमा रहँदा पूर्वी नेपाल र सिक्किमका लिम्बू गाउँहरूबाट लिम्बू जातिबारे सिरिजङ्गा र उनका चेलाहरूका लेखोट संकलन गरेका थिए ।

उनले ताप्लेजुङको मैवाखोलाका जोभानसिं फागो, छथर ताङ्खुवाका गुनमान खजुम र च्याङ्ग्रेसिं फेदाङमालाई लिम्बूका मुन्धुम, संस्कार, भाषा, इतिहासबारे भन्न र लेख्न लगाएर अभिलेखीकरण गरेका थिए । यी सामग्री हज्शन पाण्डुलिपिका रूपमा हाल इण्डिया अफिस लाइब्रेरी, लण्डनमा छन् ।

हज्शन पाण्डुलिपिको खण्ड ७३ र ८८ मा सिरिजङ्गा आफैंले बीस वर्ण भएका बाह्रखरी अभ्यास गरेका पत्रहरू भेटिन्छन् । पत्रहरू लिम्बू भाषा र लिपिमा लेखिएका छन् । खण्ड ८६ मा सिरिजङ्गाका मुन्धुम र खाहुन (उपदेश) हरू भेटिन्छन् । मुन्धुमहरू घाम, जून, आकाश, पानी, पशुपक्षी, रूखपात, मनुष्यको उत्पत्तिमा केन्द्रित छन् ।

उनले पशुपक्षीको उत्पत्तिको प्रसंगमा ताप्लेजुङको इङलेक्पा पहाडलाई इङ्गित गरेका छन् भने मानिसको उत्पत्ति इमि लुङधुङमा भएको भनेर लेलेपको लुङधुङ गाउँलाई देखाएका छन् । मुन्धुम अनुसार त्यहाँ लिम्बू जातिका पुर्खा मुजिङना खेयङनाका सन्तानहरू हाडनातामा बिग्रिएका थिए ।

सिरिजङ्गाले खण्ड ८८ का केही पत्रमा वर्तमान ताप्लेजुङको पाथीभरादेवीलाई मुक्तिफोमामाङ अर्थात् देउता उल्लेख गरेका छन् । यस्तै, ताप्लेजुङकै सिरिङचोक्मा भनिने पहाडलाई सिदिङचोक्मामाङ, पाँचथरको च्याङथाप्पुलाई चाङधुम्बो र फालेलुङ पहाडलाई इसाङलेमामाङ भनेर देउताको नाममा चर्चा गरेका छन् । खण्ड ८६ का धेरै पत्रहरूमा खाहुन (उपदेश) को बढी चर्चा छ ।

उपदेशमा देउतालाई स्तुति गाएर रिझउनुपर्ने, घर बिग्रिएमा दुःख पाइने, गाउँ बिग्रिएमा रोगव्याधी देखिने, नोकरचाकरलाई खान दिएर रिझाउनुपर्ने, श्रीमतीको स्वभाव राम्रो नभएमा कुरा काटिने, बानी व्यहोरा राम्रो सिकाएमा मानिस सज्जन बन्ने, मीठो मात्र खाएमा कङ्गाल भइने, पहिरोले मात्र ढुंगालाई बगाउने, लेखाइ राम्रो भएमा मात्र राम्रो चित्र कोरिने आदि उल्लेख छन् ।

शब्दहरू असरल्ल रहेको र अनुपयुक्त ठाउँमा विराम चिह्नको प्रयोगका कारण सिरिजङ्गाले लेखेका लेखोट अध्ययन गर्न निकै गाह्रो छ । कतिपय शब्दहरू उनी आफैंले बनाएका छन् । मुन्धुमी शब्दहरू र लिम्बू लिपिमा मात्र लेखिएका यस्ता खण्डहरूको अनुवाद छैन । यी खण्डहरू अध्ययन गर्न पाण्डुलिपिकै खण्ड ८५ का ‘लक्ष्मी संवाद’ पत्रहरूमा जोभानसिं फागोले सिरिजङ्गाका मुन्धुम र उपदेशहरूको उल्था गरेकाले सजिलो हुन्छ ।

सिरिजङ्गाले मुन्धुम र खाहुन लेख्ने क्रममा लामाहरूस“ग सम्बन्धित मन्त्रहरू, आफ्ना लामा गुरुहरूका नाम पनि लेखेका छन् । यसका साथै विभिन्न प्रसंगमा उनले धर्म, पाप, पापी, चोरी, राजा, काशी, गोत्र, महादेव, गङ्गाजी जस्ता शब्दहरू पनि प्रयोग गरेका छन् ।

सिरिजङ्गाका यी लेखोटहरूमा लिम्बू जातिको आदिम सभ्यता प्रतिबिम्बित हुन्छ । उनी बौद्घ र हिन्दू सभ्यताबारे समेत दीक्षित देखिन्छन् । उनको योगदानको कदर गर्दै नेपाल सरकारले सिरिजङ्गाको तस्वीर अंकित हुलाक टिकट निकालेको छ । उनले चलाएको लिपिलाई सिरिजङ्गा लिपि भनिन्छ ।

सिरिजङ्गा दुई कि एक ?
ज्ञानका पुञ्ज, अध्यात्मवादी, समाज सुधारक मानिने सिरिजङ्गाको जन्म र मृत्युको मितिमा भने आजसम्म पनि विवाद नै छ । इतिहासकार इमानसिं चेम्जोङले सिरिजङ्गा र उनको पुनर्जन्म गरी दुई सिरिजङ्गा भएको जिकिर गरेका छन् । यसो हुनुमा चेम्जोङमाथि बङ्गाली लेखक बाबु शरतचन्द्र दासको प्रभाव परेको देखिन्छ ।

दासले सन् १८८१ मा दार्जीलिङ हुँदै सिक्किम र ल्हासासम्मको यात्रा गर्दा सिक्किमका हिः (गाउँ), कालीखोला, लिङचोमका लिम्बूहरूले सिरिजङ्गालाई झारफुक गर्ने देवारी फेदाङ्माको रूपमा देखेको टिपोट गरेका छन् । उनले सिरिजङ्गालाई बौद्ध गुरु पद्मसंभवको अवतारको रूपमा नवौं शताब्दीका दैवी शक्ति भएका देवांशका रूपमा प्रस्तुत गरेका छन् । उनै सिरिजङ्गाले लिम्बू जातिका लागि लिपि आविष्कार गरेको दासले उल्लेख गरेका छन् ।

बौद्ध गुरु पद्मसंभवको समय सातौं शताब्दी मानिन्छ । दासकै प्रभावस्वरूप चेम्जोङले पद्मसंभवका चेला भन्दै अनुमानित २०० वर्षपछि नवौं शताब्दीमा पहिलो सिरिजङ्गा बनाएको देखिन्छ । दासले सिरिजङ्गालाई पद्मसंभवका अवतार किन र कसरी माने त ? त्यसो त, हज्शन पाण्डुलिपिको सिरिजङ्गाका लेखोटहरूमा ‘उगेन पोमा’ प्रशस्ति गुरु पद्मसंभवका नाममा पाइएको र सिरिजङ्गाले प्रशस्ति गाएकाले उनलाई पद्मसंभवको अवतार भनिएको हो कि ?

इतिहासकार चेम्जोङले सिक्किमका महाराजा थुतोब नाम्ग्याल र महारानी येशे दोल्माले लेखेको पुस्तक ‘हिस्ट्री अफ सिक्किम’ मिहीन ढंगले अध्ययन गरेको देखिन्छ । यो पुस्तकमा वर्णित सृष्टिको मिथक अनुसार तागेरा निङवा फुमाङ (प्रकृति) ले बाँसको खरानी र पक्षीको विष्टा मुछेर मनुष्यधारी महिला मुजिङना खेयङना बनाए ।

मुजिङना खेयङनाको हावासँग संसर्गपछि सुसुवेङलालावेङ जन्मिए । उनैका सन्तानहरूको हाडनाता बिग्रिएको र पुस्तौं पुस्तापछि याङरुपमा सिरिजङ्गाको जन्म भयो । लिम्बू देवारी फेदाङ्मा रहेका सिरिजङ्गाका आठ जना चेला थिए ।

उनीमाथि सिक्किमका राजा र उनका भारदारी टछाङ लामाको विरुद्ध दाउपेच गरेको अभियोग लाग्यो । उनलाई रूखमा बाँधी धनुकाँणले हानेर खोलामा फालियो । यति गर्दा पनि उनको प्राण नगएपछि उनको मुखमा पक्षीको विष्टा हालियो । उतिबेला नेपालमा प्रतापसिंह शाह राजा थिए ।

टछाङ लामाहरू पश्चिम सिक्किमका पेमियोन्चि गुम्बाका हुन् । उक्त गुम्बाको स्थापना लाछुन नाम्खा जिग्मेले सन् १६४७ मा गरेका थिए । चेम्जोङले गुम्बाको स्थापनाकाललाई आधार मान्नुका साथै राजा प्रतापसिंहको समय सन् १७७४ यतालाई मानेर दोस्रो अर्थात् अवतारी भन्दै सिरिजङ्गाको जन्म—मृत्यु सन् १७०४—४१ उल्लेख गरेका छन् ।

सिरिजङ्गाबारे अनुसन्धान अद्यापि जारी छ । हज्शन पाण्डुलिपिका अध्येता इतिहासकार डा. रमेश ढुङ्गेलले पाण्डुलिपिको खण्ड ८८ को पत्र ६ (क) मा रुपिहाङ नामका व्यक्तिले जयप्रकाश मल्ललाई पत्र लेखेको भनेर उद्धृत गरेका छन्– ‘स्वस्ति श्री सरव मंग (लं) (म) महाराज झ व्रराकास मल जय ।

श्री रुपिहां र योको सेव । सेव ।’ डा. ढुंगेलका अनुसार यी हरफ सिरिजङ्गा आफैंले तयार गरेकाले सिरिजङ्गा नै रुपिहाङ हुन् । रुपिहाङको नाम पाण्डुलिपिका अरू खण्डमा भने भेटिंदैन । रुपिहाङ नै सिरिजङ्गा हुन् भन्न गाह्रो होला, बरु सिरिजङ्गाका समकालीन आठ चेलामध्ये एक प्रमुख चेला हुन सक्छन् ।

सिक्किमका महाराजा नाम्ग्याल र महारानी दोल्माले लेखेको सिरिजङ्गाको हत्या भएको समय वा गोर्खाली राजा प्रतापसिंह शाहको शासनकाल र डा. ढुङ्गेलले हज्शन पाण्डुलिपिमा पाइएको रुपिहाङले जयप्रकाश मल्ललाई पत्र लेखेको समय एक–आपसमा धेरै नजिक छन् । त्यसैले सिरिजङ्गा एउटै मात्र देखिन्छन्– अठारौं शताब्दीताका ।

अनुसन्धानबाट भेटिए अनुसार, सिरिजङ्गाको जन्म याङरुप थुमको तेल्लोकमा मंसीर पूर्णिमाको दिन भएको थियो । उनी सिं (थेबे) थरी लिम्बूका गलिजङ्गाका नाति थिए । उनलाई याक्थुङ्बा लिम्बू भाषा पढाएको र सिरिजङ्गा लिपिमा लेखेको अभियोगमा सिक्किमको मार्ताममा आफ्ना चेलाहरूलाई पढाइरहेका बेला पेमियोन्चि गुम्बाका टछाङ (दरबारिया) लामाहरूले समातेर मौवाको रूखमा बाँधे, विषालु धनुकाँणले हानेर उनको मुखमा विष्टा कोचेर रेसीखोलामा फालेर हत्या गरेका थिए ।

सिरिजङ्गाले मर्नुअघि आफ्ना चेलाहरूलाई भनेका थिए– ‘इघोक युङमा केःबा आम्मेत्लो । केःबा पोङमा स्येःबा आम्मेत्लो ।। केःबा पोङमाआङ हिङमा नु ले कुइकेफेम्बा पोङमाआङ सिःमा नु रो । याक्थुङ साप्ला हुरुङ को रो एन मेसेराङ साङ ताःआरो ।।’

अर्थात्, नबोली बस्दा लाटो भन्छन् । लाटोको जीवन मरेतुल्य हुन्छ । लाटो भई बा“च्नुभन्दा वीर भई मर्नु निको । लिम्बू विद्या सिकाउ“दा म आज मारिए पनि फेरि आउनेछु ।

प्रतिकृया दिनुहोस