कला/साहित्यआइतबार, ८ पौष , २०७५

साहित्य महोत्सव- नेपाली साहित्य र संस्कृतिको अन्तर्राष्ट्रियकरण

मस्त केसी

साहित्य र विविध विषयमा विचार मन्थन, लेखक-पाठक अन्तरक्रिया र विदेशी स्रष्टासँग साक्षात्कार गराउने ‘नेपाल साहित्य महोत्सव’ नेपाली साहित्य र संस्कृतिलाई अन्तर्राष्ट्रियकरण गर्ने माध्यम बनेको छ।

‘जहाँ शब्दहरू जीवन्त हुन्छन्’ नारासहित पोखराको फेवाताल किनारमा सातौं संस्करणको ‘आईएमई नेपाल साहित्य महोत्सव’ शुरु भएको छ। ७ पुसमा शुरु भएको महोत्सव साहित्यिक र गैर-साहित्यिक विषयमा अन्तरक्रिया गर्दै १० पुसमा समापन हुनेछ।

पोखरामा यतिबेला विश्वका ख्यातिप्राप्त लेखकसँगै नेपाली लेखक-साहित्यकार, राजनीतिज्ञ, अभियन्ता, पत्रकार, कलाकार तथा सयौं पाठकको जमघट छ। महोत्सवमा साहित्यसँगै समसामयिक राजनीति, पर्यटन, समाज, संगीतलगायत विविध विषयमा बहस तथा अन्तरक्रिया भइरहेको छ।

महोत्सवमा मोहम्मद हनिफ, निकोला स्ट्रिटन, हरिश नाम्बियार, एएस पनिरसेल्भन, सब्रिना टोपालगायत विश्वचर्चित लेखक-साहित्यकार र पत्रकार पनि सहभागी छन्। साथै, महोत्सवमा नेपालका करीब १०० जना लेखक-साहित्यकार, कलाकार, राजनीतिज्ञ र पत्रकार सहभागी छन्।

महोत्सवले लेखक र पाठकबीच अन्तरक्रिया गर्ने मञ्च दिनुका साथै सामाजिक बहस र स्वतन्त्र विचार निर्माण गर्न सघाउने महोत्सव निर्देशक अजित बराल बताउँछन्। अन्तर्राष्ट्रिय लेखक-साहित्यकारको समेत सहभागिता, एकै थलोमा विविध विषयको जमघट आदिका कारण फरक विचार, भाषा र भूगोलबारेको छलफलले लोकतान्त्रिक अभ्यास बलियो बनाउन भूमिका खेल्ने उनको भनाइ छ।

“देश-विदेशका चर्चित साहित्यकार, लेखक, पत्रकारसँग पाठकले प्रत्यक्ष अन्तरक्रिया गर्ने हुँदा यसले विश्व-साहित्यको उतारचढावलाई बुझ्न मद्दत गर्छ,” बराल भन्छन्, “यसले विषयगत ज्ञानको दायरा फराकिलो पार्न र वैचारिक मत बनाउन सघाउँछ।” पाठकको प्रत्यक्ष उपस्थितिमा हुने अन्तरक्रियाले पठन संस्कृतिको विकासमा पनि टेवा पुर्‍याउने उनी बताउँछन्।

ऊर्जा र अवसर
साहित्य महोत्सव लेखक र पाठकले एकअर्कालाई भेट्ने मौका पनि हो। साहित्य महोत्सवले लेखक-साहित्यकारलाई थप ऊर्जा दिने बताउँछन् महोत्सव संयोजक रविन गिरी।

“साहित्यकार तथा पाठकका लागि यो आफैंमा उत्सव हो,” उनी भन्छन्, “पाठकले लेखकलाई प्रत्यक्ष भेट्न, सल्लाह-सुझाव दिन र लेखनबारे बुझ्न पाउने भएकाले पनि यसको विशेष महत्व छ।”

महोत्सव नेपालमा साहित्यको प्रवर्द्धन, पठन संस्कृतिको विकास तथा पुराना लेखकबाट नयाँले सिक्ने अवसर दिने थलो पनि भएको गिरीको भनाइ छ। यसका साथै फरक धारणा र विचारहरूलाई एउटै मञ्चमा स्थान दिएर नेपाललाई दक्षिणएशियाको ‘साहित्य राजधानी’ बनाउने अभियानमा लागेको उनको भनाइ छ।

महोत्सवका सत्र
महोत्सव अवधिभर ४१ वटा सत्र सञ्चालन हुनेछन्। ७ पुसमा उद्घाटनसहित ११ वटा सत्र प्रस्तुत भएका छन्। उद्घाटन समारोहमा ‘अन्यायमा महिला’ शीर्षकमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको विद्वत् प्रवचन विशेष आकर्षण बन्यो।

तस्वीरहरू- युवराज श्रेष्ठ

त्यस्तै, बलिउड अभिनेत्री मनीषा कोइरालाको पुस्तक ‘हिल्ड’ को ‘ग्लोबल लन्च’ र उनीसँग नायक राजेश हमालको अन्तरक्रिया विशेष रह्यो। सन् २०१२ मा क्यान्सर भएको पत्ता लागेपछि त्यो संकटसँग सामना गर्न जुटाएको हिम्मत र रोगलाई जितेर पाएको नयाँ जीवनबारे उनको पुस्तक केन्द्रित छ।

महोत्सवमा प्रमुख अतिथिको रूपमा लेखक जर्ज जोन र एलियाम्मा जोन सहभागी छन्। महोत्सवमा सहभागिता जनाउनकै लागि क्यानडाबाट आइपुगेकी छन्- मञ्जुश्री थापा। पछिल्लो समय महिलामाथिको यौन हिंसाविरुद्ध सामाजिक सञ्जालबाट उठेको अभियान ‘मिटू’ लाई पनि महोत्सवले समेटेको छ।

महोत्सव स्थललाई भूपी कक्ष र अलि मियाँ कक्ष गरी दुई भागमा विभाजन गरिएको छ। पाठक-श्रोताले आफ्नो इच्छानुसार रुचिको सत्रमा सहभागिता जनाइरहेका छन्। महोत्सवमा विभिन्न राजनीतिक सत्रहरू समेत सञ्चालन गरिनेछ।

‘प्रजातन्त्र र पुस्तक’ सत्रमा हरि शर्मा र सीके लालबीच बहस हुनेछ। ‘सय वर्षपछिको नेपाल’ शीर्षकमा विश्व पौडेल र सुधीर शर्माबीच अन्तरक्रिया हुनेछ। ‘अबको नेतृत्वः कसको, कस्तो ?’ सत्रमा नेताहरू नारायणकाजी श्रेष्ठ, रवीन्द्र मिश्र र गगन थापाबीच बहस हुनेछ।

‘भिजिट नेपाल २०२०’ लाई सहयोग पुग्ने गरी ‘किन घुम्ने नेपाल’ सत्रसमेत राखिएको छ, जसमा पर्यटनमन्त्री रवीन्द्र अधिकारी, व्यवसायी सुरज वैद्य र आङछिरिङ शेर्पा बोल्नेछन्। साहित्य समाजका गतिविधिसँग जोडिएको र राजनीति, अर्थलगायतले साहित्यमा प्रत्यक्ष प्रभाव पार्ने भएकाले साहित्यइतरका सत्रहरू पनि राखिएको महोत्सव निर्देशक बराल बताउँछन्।

प्रतिकृया दिनुहोस