टिप्पणीशनिवार, पौष ७, २०७५

तथ्यांकमा सुनाखरी, नमूना बेगरको नालीबेली

हिमालखबर

- कमल मादेन

संसारका विभिन्न संग्रहालयमा संग्रहित नमूनाका आधारमा नेपालमा ३८० प्रजातिका सुनाखरी पाइने सन् २०१७ मा प्रकाशित एक पुस्तकमा उल्लेख छ।

अद्भुत संरचना र विविध रङको सम्मिश्रणका कारण सुनाखरी अर्थात् ‘अर्किड’ को सुन्दरतादेखि मुग्ध नहुने कमै हुन्छन् । सुनाखरीका २५ हजारभन्दा बढी प्रजाति छन् । यति धेरै प्रजाति भए पनि फूलको संरचनाकै आधारमा तिनीहरूको आ–आफ्नै पहिचान बनेको छ । 

संसारभर पाइने सुनाखरीका प्रजातिमध्ये नेपालमा कति प्रजाति पाइन्छन् त ? यसबारे विभिन्न समयमा विभिन्न अध्ययन र प्रकाशन त भएका छन् । तर, ती अध्ययन र प्रकाशनमा फरक–फरक तथ्यांक रहेको छ ।

सुनाखरीको बाह्यपत्र (क्यालिक्स) र पुष्पपत्र (कोरल्ला) उस्ताउस्तै देखिन्छ, जसलाई संयुक्त रूपमा टेपल भनिन्छ । तीन वटा पुष्पपत्रमध्ये केन्द्रमा रहेको विशेष बनावटको पत्रलाई ‘लेबलम’ भनिन्छ । ल्याटिन शब्दावलीमा लेबलमको अर्थ ‘लिप’ अर्थात् ओठ हुन्छ । सुनाखरीको एकै जातिबाट लेबलमकै आधारमा भिन्न प्रजाति नामकरण गरिन्छ । तर, एकै प्रजातिका लेबलममा पनि विविधता हुने भएकाले पहिचान गर्न कहिलेकाहीं सुनाखरी विज्ञहरू नै अलमलमा पर्छन् ।

थरीथरी तथ्यांक
हामीकहाँ सुनाखरीको वैज्ञानिक अनुसन्धान सन् १८०२ देखि शुरू भएको हो । अहिलेसम्म आधा दर्जनभन्दा बढी नेपालीले नेपालकै सुनाखरी अनुसन्धानमा विद्यावारिधि गरिसकेका छन् । नेपालबाट संकलित सुनाखरीको नमूना संसारभरका ३८ भन्दा बढी संग्रहालयमा संग्रहित छन् ।

जसका आधारमा हामीकहाँ ३८० प्रजातिका सुनाखरी पाइने डा. केशवराज राजभण्डारी र संजीवकुमार राई लिखित ‘अ ह्यान्डबूक अफ द फ्लावरिङ प्लान्ट्स अफ नेपाल, भोलम वन’ मा उल्लेख छ (सन् २०१७; पृष्ठ ६८–१५७) । तर, त्यसअघि सन् २०१५ मा राजभण्डारी एक्लैले लेखेको पुस्तक ‘अ ह्यान्डबूक अफ द अर्किडस् अफ नेपाल’ का अनुसार, नेपालमा सुनाखरीका प्रजाति ४५१ छन् भन्ने जानकारी छ ।

राजभण्डारीको सन् २०१५ मा प्रकाशित पुस्तक संग्रहित नमूनाका आधारमा नभई प्रकाशित पुस्तक तथा जर्नलका विवरणबाट तयार गरिएको हो । तर, सन् २०१७ मा प्रकाशित पुस्तकमा सुनाखरी सम्बन्धी तथ्यांक राष्ट्रिय हर्वारियम तथा वनस्पति प्रयोगशाला, गोदावरी र त्रिभुवन विश्वविद्यालय केन्द्रीय वनस्पति विभागमा संग्रह गरिएका आधारमा तयार गरिएको हो ।

यी दुई संग्रहालयमा क्रमशः २७७ र १५३ प्रजातिका सुनाखरीका नमूना छन् । एउटा संग्रहालयमा भएका अधिकांश प्रजाति अर्को संग्रहालयमा पनि छन् । तर, यी दुवै संग्रहालयमा सूचीकृत ३८० प्रजातिमध्ये करीब ७० प्रजातिका नमूना संग्रह भएको देखिन्न । तिनीहरू विश्वका करीब तीन दर्जन संग्रहालयमा संग्रहित छन् ।

राजभण्डारीले नेपालका साथै भारत, बेलायत र जापानका संग्रहालयमा सुनाखरीका नमूना अध्ययन गरेका छन् । युवा पुस्तामा सुनाखरीको अनुसन्धानमा केन्द्रित डा. भक्त रास्कोटी हुन्, जसले विश्वका निम्ति एक दर्जनभन्दा बढी नयाँ सुनाखरी पत्ता लगाइसकेका छन् ।

पछिल्लो पुस्तकको भूमिकामा ‘पेनिसया पंचासीएन्सिस्’ भनिने प्रजातिको नाम अगाडि ‘एस्टरिक’ (८) चिह्न दिइएको छ । उक्त प्रजाति पत्ता लगाउने आविष्कार सुवेदीले यसको नमूना राष्ट्रिय हर्वारियम तथा वनस्पति प्रयोगशाला, गोदावरीमा संग्रह गरेको जनाएका छन् । तर, ‘एस्टरिक’ ले सम्बन्धित प्रजातिको नमूना कतै फेला नपरेको भन्ने जनाइएको छ । यसबाट नेपालमा सुनाखरीका प्रजाति ३७९ मात्र छन् भनेर बुझ्नु उपयुक्त हुन्छ ।

उक्त पुस्तकमा केही प्रजातिको पहिचान नै गलत गरिएका कुरा पनि उल्लेख गरिएको छ । नेपालको रैथाने सुनाखरी भनेर एल.आर. शाक्य र आर.पी. चौधरीले ‘ओबेरिना नेपालेन्सिस्’ पत्ता लगाएका थिए । उक्त प्रजाति नयाँ नभई ‘ओबेरिना रुफिलब्रिज्’ को एक उप–प्रजाति हो भन्दै डा. केशवराज राजभण्डारी र रीता क्षेत्रीले ‘ओबेरिना रुफिलब्रिज उप–प्रजाति नेपालेन्सिस्’ नामकरण गरेका छन् । यसको अर्थ यो उप–प्रजातिलाई कुनै समय गलत पहिचान गरी ‘ओबेरिना नेपालेन्सिस्’ भनियो ।

केही सुनाखरी विज्ञले भने नेपालमा ४५१ प्रजातिकै सुनाखरी पाइन्छन् भन्ने तर्क गरेका छन् । उनीहरूका अनुसार, डा. राजभण्डारी र संजीवकुमार राईले पुस्तक लेख्दा संसारभरका संग्रहालयका सुनाखरी सम्बन्धी तथ्यांक हेर्न छुटाए । पक्कै पनि संग्रहित नमूनाको तथ्यांक फेला परे संख्या बढ्नेछ ।

यसबाट के सन्देश गएको छ भने, पुस्तक तथा जर्नलमा नेपालमा यति प्रजातिका वनस्पति छन् भनेर तिनीहरूका नालीबेली लेखेर मात्र हुन्न, तिनको नमूना कुनै न कुनै संग्रहालयमा संग्रहित हुनुपर्छ । एकीकृत रूपमा तथ्यांक तयार गरिंदा नमूना बाहेकलाई मान्यता दिइँदैन ।

नेपालमा पत्ता लागेको ‘सिम्बिडियम’
सुनाखरी अक्सर वैशाख–जेठ महीनामा बढी फुल्छ, कात्तिक–मंसीरतिर सीमित प्रजाति मात्रै फुल्छन् । यो सिजनमा फुल्नेमध्ये एक प्रजाति ‘सिम्बिडियम इरिडिओइड्स्’ हो । गएको कात्तिकमा संखुवासभाको भोटखोला गाउँपालिकास्थित गोलाबजार नजिकै यो प्रजाति प्रशस्त संख्यामा फुलेको देखियो । यसकै जस्तो लेबलम अन्य प्रजातिमा पनि पाइने भएकाले अलमलिएँ । त्यो कुन प्रजाति होला भनेर सामाजिक सञ्जालमा राखें । 

वरिष्ठ वनस्पतिविद् डा. केशवराज राजभण्डारीले तत्कालै प्रतिक्रिया लेखे, ‘फूलको व्यास ५ सेन्टिमिटरभन्दा बढी छ भने ‘सिम्बिडियम इरिडिओइड्स्’ हुनुपर्छ ।’ त्यसको व्यास ६ सेन्टिमिटरभन्दा बढी आकलन गर्न सकिन्थ्यो । यसको टेपलमा हल्का पहेंलो पृष्ठभूमिमा हल्का खैरो रङका धर्साहरू छन् ।

‘सिम्बिडियम इरिडिओइड्स्’ नेपालबाटै सन् १८२५ मा पत्ता लागेको हो । बेलायतस्थित न्याचुरल हिष्ट्री म्युजियम, लन्डन र रोयल बोटानिकल गार्डेन्स क्युमा संग्रह गरिएको नमूना अनुसार, त्यसको नमूना सन् १८१९ र १८२१ मा काठमाडौं उपत्यकाबाट संकलन भएका थिए । सन् १८१९ को नमूना नेपालस्थित इष्ट इण्डिया कम्पनीको स्थायी प्रतिनिधि इडवार्ड गार्डनर र सन् १८२१ को नमूना नाथानियल वालिचबाट संकलन गरिएको हो ।

‘सिम्बिडियम इरिडिओइड्स्’ को लेबलम लाम्चो र किनारा तल–माथि खुम्चिएको छ । ससाना रौंहरू अघिल्तिर कम र पछिल्तिर विशेष लामा र बाक्ला छन् । यस्तै, रुपरङको एक अर्को प्रजाति ‘सिम्बिडियम ट्रासियनम्’ नेपालमा आयातित मानिन्छ ।

यो सुनाखरी काठमाडौं उपत्यकामा दार्जीलिङ मिरिकबाट ल्याएको भेटेको छु । ‘सिम्बिडियम ट्रासियनम्’ को लेबलमको अघिल्तिरको भाग लाम्चो नभई फराकिलो हुन्छ । यसको लेबलममा दुवैतिरका किनार ‘सिम्बिडियम इरिडिओइड्स्’ को भन्दा चौडा आकारमा गहिरिएका छन् । रौंहरू बाक्लै र लामा छन् ।

पहिले नेपालमा पाइने भनिएका तर नमूना संग्रह गरिएको ठाउँबारे थाहा हुन नसकेका सुनाखरी धेरै छन् । तिनीहरू नेपालको कुन भागमा पाइन्छ, स्थलगत अध्ययनमा विश्वविद्यालय, वनस्पति विभाग तथा स्वतन्त्र अध्येताले काम अगाडि बढाए हाम्रो सुनाखरीको तथ्यांक बढ्नेछ ।

प्रतिकृया दिनुहोस