टिप्पणीशनिवार, पौष ७, २०७५

कसी लाउनु नपर्ने नुवाकोट

वसन्त महर्जन

लामो इतिहास र संस्कृति रहेको नुवाकोटलाई प्रचारप्रसार गर्ने नाममा काल्पनिक कथा–उपकथा सिर्जना गरिएको छ, जुन घातक छ ।

नुवाकोटको अशोकबारी नजिकै सिम्भूस्थानमा रहेको चैत्य । तस्वीर: वसन्त महर्जन

काठमाडौं उपत्यकाको उत्तरी भेगमा रहेको नुवाकोटबाट इतिहासका धेरै कुरा खोतल्न सकिन्छ । तर, ऐतिहासिक पात्रहरूको नाम जोडेर यहाँ नयाँ कथा–उपकथाको सिर्जना भइरहेको छ । ती कथाहरूले इतिहास अध्ययनमा प्रभाव पार्ने भएकाले यसतर्फ बेलैमा सचेत हुनु आवश्यक छ । 

नुवाकोटको ऐतिहासिक साततले दरबारलगायत क्षेत्रबाट उत्तर लाग्दै केही पूर्वतिर हान्निएपछि अशोकबारी आइपुग्छ । अशोक जातका रूख बढी भएकाले यो नाम रहन गएको बुझ्न सकिन्छ । केही वर्षअघि यो ठाउँमा पुग्दा स्थानीयले राजा अंशुवर्माको बाटिका भनेर चिनाएका थिए, अहिले भने सम्राट अशोक मौर्यको नाम जोड्ने गरेका छन् ।

सातौं शताब्दीमा राजा शिवदेव प्रथमका सामन्त अंशुवर्मा शक्तिसञ्चय गर्दै राजगद्दीमैै बस्न आइपुगेको बारे त इतिहास बोल्छ । तर, प्राचीन भारतको मगध राज्यका मौर्य सम्राट अशोकको नाम जोडिनु अनुमानभन्दा पनि टाढाको कुरा हो ।

अशोकबारीमा गणेश, भीमसेन, गरुडासन विष्णुमूर्तिलगायतका विभिन्न मूर्ति पाइएका छन् । दक्षिण–पश्चिम कुनामा रहेको ढिस्कोको संरचना बौद्ध स्तूपको हो । स्तूप र यसको आसपास उत्खनन् गर्ने हो भने केही नयाँ तथ्य पाइने सम्भावना पनि छ ।

अशोकबारीदेखि पूर्व अलि उकालो लागेपछि ‘सिम्भूस्थान’ नामको चैत्यस्थल पुगिन्छ । छरिएर रहेका ढुंगाका स–साना चैत्यहरूका बीच फराकिलो पीठको बीचमा सानो चैत्य छ । कीर्तिपुरस्थित ‘मजाःदेगः’ नामले चिनिएको चैत्यले नुवाकोटको यो चैत्यसँग सादृश्य राख्छ ।

नेपाली राजकुमारी भृकुटी, राजा श्रङ–चङ्–गम्पोसँग विवाह गर्न तिब्बत प्रस्थान गर्ने बेलामा सिम्भूस्थानको चैत्य बनाउन लगाएको भनी अर्को कथाको सिर्जना गर्न थालिएको छ । वास्तविकता के हो भने, भृकुटीबारे नेपाली ऐतिहासिक स्रोतहरूको अचम्मलाग्दो मौनता छ । तिब्बती स्रोतले पनि नेपाली राजकुमारी र बौद्ध धर्मबारे सामान्य मात्रै जानकारी दिन्छ ।

सिम्भूस्थानको यो चैत्य पृथ्वीनारायण शाहकालीन हो भनेर त्यहीं रहेको एउटा शिलालेखले स्पष्ट बताउँछ । शुभ संवत् भनी उल्लेख गरिएको ८९३ ‘नेपाल संवत्’ हो, जुन विक्रम संवत्मा रूपान्तरण गर्दा १८३० आश्विन शुक्लपूर्णिमा बृहस्पतिबार हुन आउँछ ।

‘श्री ३ धर्मधातु’ पनि भनिने यस चैत्यको निर्माण गरी लक्ष्मीसिं र मनोभागी दुई जनाले गुठी राखिदिएको र त्यसको आयस्ताले पूजा चलाउनुपर्ने बन्दोबस्त गरिएको शिलालेखमा उल्लेख छ । तर, पछिल्लो समय यो चैत्यको न पूजा हुन्छ, न त सम्पदाहरूको संरक्षण नै भएको छ ।

चैत्यको पूर्व दायाँ–बायाँ दुई वटा सिंहको मूर्ति हुनुले प्रवेश मार्ग त्यतै हो भन्ने जनाउँछ । यस्तै, चैत्यको अगाडि बायाँ भागमा गणेशको मूर्ति छ । सोही नापको भैरवको मूर्ति दायाँतिर हुनुपर्नेमा खाली छ ।

उत्तर पश्चिमतिर ठड्याइएको भैरवस्थानको भैरव मूर्ति चैत्यको अगाडिबाट उठाएर लगिएको बुझन सकिन्छ । महायानी बौद्ध सम्प्रदायअन्तर्गत काठमाडौं उपत्यकामा निर्मित विहारलगायत बौद्ध स्मारकको दायाँ–बायाँ गणेश र भैरवको मूर्ति द्वारपालको रूपमा राख्ने प्रचलन व्यापक छ ।

मुख्य चैत्य बाहेक यहाँ छरिएर रहेका स–साना चैत्यको विशेषता अन्यत्रको भन्दा फरक छ । निर्माण शैली हेर्दा यी चैत्यहरूमा बढी प्राचीनता पाइन्छन् । यसबाट अनुमान गर्न सकिन्छ, यो स्थान पृथ्वीनारायण शाहको समयभन्दा धेरै अगाडि नै बौद्ध धार्मिक स्थलका रूपमा प्रसिद्ध थियो । चैत्यस्थलभन्दा पश्चिमतिर अलि अग्लो स्थानमा टुटेफुटेका पुरातात्विक वस्तु तथा निर्माण संरचनाहरू यत्रतत्र देख्न पाइन्छन् ।

नुवाकोटको तादी नदीको किनारमा पाइएको लिच्छविकालीन अभिलेखमा ‘कोट्ट’ शब्द आएको र यहाँ विशेष बस्ती बसेको इतिहासविद् धनबज्र बज्राचार्यको अध्ययनमा उल्लेख छ । नुवाकोट डाँडामा निकै अगाडिदेखि ऋषिमुनिको बसोबास रहेको र पछि बस्तीको नाम ‘ऋषिपत्तन’ र ‘मुनिपत्तन’ रहन पुगेको उनी लेख्छन् ।

बज्राचार्यका अनुसार, नुवाकोट इलाकामा कोट्टको रूप दिन उपयुक्त थुम्काहरू धेरै भएकाले वर्तमान नुवाकोट डाँडालाई मूलकोट मानेर वरपरका बेलकोट, भैरवकोट आदिलाई संयुक्त रूपमा ‘नवकोट्ट’ नामकरण गरिएको र त्यही शब्द अन्ततोगत्वा ‘नुवाकोट’ का रूपमा प्रचलित भएको हो ।

लिच्छविकालदेखि नै नुवाकोट काठमाडौं उपत्यकाको राज्यअन्तर्गत रहेको देखिन्छ । गोपालराज वंशावलीलगायतका ऐतिहासिक स्रोत–सामग्रीमा यो सामन्त शासित क्षेत्र थियो भने पृथ्वीनारायण शाह अगाडिसम्म यो काठमाडौंका मल्ल राजाहरूको मातहत थियो ।

पृथ्वीनारायण शाहले नुवाकोटमाथि विजय हासिल गरेपछि राजधानी गोरखाबाट सारेर यता ल्याएका थिए । काठमाडौं आक्रमणका लागि नुवाकोटलाई आधार इलाका बनाएको पनि बुझ्न्छि । पछि राजा रणबहादुर शाह र गीर्वाणयुद्धको द्वैधशासनको बेला काठमाडौं र नुवाकोट गरी दुई वटा राजधानी कायम हुन पुगेको थियो ।

यस्तो लामो इतिहास र संस्कृति रहेको नुवाकोटलाई प्रचारप्रसार गर्ने नाममा काल्पनिक कथा–उपकथा सिर्जना गर्नु दुःखद् हो । ती काल्पनिक कुराले वास्तविकता ओझेलमा पार्ने मात्र नभई अन्योलग्रस्त बनाउने जोखिम हुन्छ ।

प्रतिकृया दिनुहोस