लाओसलाई पराजित गर्दै नेपाल एएफसी सोलिडारिटी कपको फाइनलमा (भिडियो)
नेपाल एएफसी सोलिडारिटी कपको फाइनलमा पुगेको छ । मलेसियाको कुचिङस्थित नेगरी रंगशालामा २७ कार्तिकमा नेपालले लाओसलाई पेनाल्टी सुटआउटमा ३–० गोलले पराजित गरेको हो ।
टीम नेपालका गोलकिपर किरण चेम्जोङले दुई खेलाडीको पेनाल्टी प्रहार बचाएका थिए । चेम्जोङले लगातार दुई गोल बचाएपछि तेस्रो खेलाडीले पोष्ट बाहिर प्रहार गरे ।
१८ औं मिनेटमा लाओसले अग्रता लिएको थियो । मध्यान्तरसम्म एक गोलले पछि परेको टीम नेपालका लागि विमल घर्ती मगरले ४७ औं मिनेटमा बराबरी गोल गरेका थिए । विमलले भरत खवासको क्रसमा हेडद्वारा गोल गरेका हुन ।
निर्धारित ९० मिनेटमा १–१ गोलको बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलियाे । १०४औं मिनेटमा अनन्त तामाङले हेडद्वारा नेपालका लागि दोस्रो गोल गरे । अनन्तले ८८ औं मिनेटमा मैदान प्रवेश गरेका हेमन गुरुङको क्रसमा गोल गरेका हुन । अञ्जन विष्टको ठाउँमा हेमनलाई पठाइएको थियो ।
टीम नेपाल अन्तिम तीन मिनेट सम्हालिन नसक्दा खेल पेनाल्टी सुट आउटमा गएको थियो । ११७ औं मिनेटमा लाओसका खेलाडीले बराबरी गोल गरे ।
पेनाल्टीमा हेमन गुरुङ, विक्रम लामा र सुजल श्रेष्ठले गोल गरेका थिए ।
नेपालले ३० कार्तिकमा मकाउ र ब्रुनाई मध्येको विजेतासँग फाइनल खेल्नेछ ।
टीम नेपालको पहिलो ११ जनाः किरण चेम्जोङ, रविन श्रेष्ठ, विराज महर्जन, अनन्त तामाङ, आदित्य चौधरी, विक्रम लामा, विमल घर्ती मगर, सुजल श्रेष्ठ, अन्जन विष्ट, नवयुग श्रेष्ठ र भरत खवास ।
टीम नेपालका बाँकी खेलाडीः विकेश कुथु, दिपक गुरुङ, विशाल राई, रञ्जन विष्ट, अनिल गुरुङ, हेमन गुरुङ, कमल श्रेष्ठ, सुमन लामा, देवेन्द्र तामाङ, विशाल श्रेष्ठ, राजेन्द्र रावल र रन्जित धिमाल ।