समाचारबुधबार, ४ पौष , २०७५

मन्त्रीलाई खुशी पार्न विमानस्थलको ईआईएमा जलविद्युत आयोजनाको प्रतिवेदन

निजगढ विमानस्थलको ‘कट पेष्ट’ ईआईए अझै सच्याइएन

मुकेश पोखरेल

वन तथा वातावरण क्षेत्रका विज्ञहरूले बाराको निजगढमा बन्न लागेको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको विस्तृत वातावरणीय अध्ययन प्रतिवेदन (ईआईए) प्रतिवेदन सच्चाउनुपर्ने बताएका छन्। गल्ती भएको जान्दा जान्दै ईआईए रिपोर्ट पारित गरेर वन तथा वातावरण मन्त्रालयले गम्भीर गल्ती गरेको उनीहरूको भनाइ छ।

निजगढ विमानस्थलको स्केच ।

समयमै गल्ती सच्चाउनुको विकल्प नभएको वातावरण इन्जिनियर सलिल देवकोटा बताउँछन्। “मन्त्रालयले पास गरे पनि त्यसलाई पुनरावलोकन गर्ने ठाउँ छ,” देवकोटा भन्छन्, “मन्त्रालयले आफूले गरेको गल्तीलाई स्वीकार गर्ने तत्परता नै देखाएको छैन, गल्ती स्वीकार नगर्नु झन् ठूलो कमजोरी हो।”

गल्ती भएको कुरालाई सच्चाउनुको सट्टा यत्तिकै अगाडि बढ्दा आगामी दिनमा झन् अराजकता बढ्ने देवकोटाको भनाइ छ।

जलविद्युत आयोजनाको ‘कपी पेष्ट’ गरिएको र सम्झौताका शर्तअनुसार काम नगरिएको उक्त रिपोर्ट वन तथा वातावरण मन्त्रालयले ९ जेठ २०७५ मा स्वीकृत गरेको थियो। गलत रिपोर्ट स्वीकृत गरेकामा मन्त्रालयको आलोचना हुँदै आएको छ।

गैरजिम्मेवार मन्त्रालय
“हामीले ईआईए प्रतिवेदनलाई अध्ययन गरी भएका कमी कमजोरी सच्चाएर मात्र पारित गरौं भनेका थियौं। तर, जबर्जस्ती रूपमा पारित गरियो,” मन्त्रालयकै एक कर्मचारी भन्छन् “बरु ढिलो गरौं विवाद आउने काम नगरौं भनेर भन्दा ‘बाइपास’ गर्ने काम भयो।”

स्रोतका अनुसार मन्त्रालयका कर्मचारी तथा सरोकार निकाय र ईआईए तयार गर्ने कम्पनीका प्रतिनिधिहरू सम्मिलित समीक्षा बैठकमा प्रतिवेदन अपूरो भएकाले पुनर्लेखन गर्नुपर्ने सुझाव कर्मचारी र विज्ञहरूले दिएका थिए। तर, सुझावको सुनुवाइ नै नगरी दुई दिनभित्र प्रतिवेदन पारित गर्ने प्रक्रिया अगाडि बढाइएको थियो।

प्रतिवेदनको बुँदा नम्बर ४.६ को ‘नेशनल ईआईए गाइडलाइन’ शीर्षकमा संरक्षण क्षेत्रमा नदीको ५० प्रतिशत पानी छोड्नुपर्ने उल्लेख छ। उक्त विषय निजगढ विमानस्थलसँग मेल खाँदैन।

प्रतिवेदनको बुँदा नम्बर ७.३ को ‘विकल्पको तुलना’ (कम्प्यारिजन अफ अल्टरनेटिभ) शीर्षकमा विमानस्थललाई जलविद्युत आयोजनासँग तुलना गरिएको छ। ‘विकल्पको तुलना’ को शुरुमै नेपालले सार्वजनिक तथा निजीस्तरमा जलविद्युत आयोजनालाई प्राथमिकता दिएको र आयोजनाबाट वातावरणमैत्री स्वच्छ ऊर्जा उत्पादन भई त्यसले देशको आर्थिक तथा समाजिक विकासमा योगदान पुग्ने उल्लेख छ।

सम्झौताका शर्तमा जैविक विविधतामा पर्ने असर न्यूनीकरणबारे अध्ययन गर्नुपर्ने उल्लेख भए पनि यो विषयमा ईआईए रिपोर्ट मौन छ।

विमानस्थलको ईआईए प्रतिवेदन जीईओसीई कन्सल्ट्यान्ट्स प्रालिले तयार गरेको हो। यसका लागि वातावरणविद् सुवर्णबहादुर जोशी, नारायण सिंह, ज्याकर गौचन, रवीन्द्र श्रेष्ठ, सुशील श्रेष्ठ, आईएम श्रेष्ठ, भानु तिम्सेना, लालबहादुर गुरुङ र सरोज अधिकारी खटिएका थिए।

खुशी पार्न हतारो
कपी पेष्ट भएको र सम्झौताका शर्तअनुसार काम नभएको विषय समीक्षा बैठकमा उठ्दा उठ्दै पनि त्यसलाई सच्चाउनुको सट्टा पारित गर्न हतारो गर्नुका पछाडि राजनीतिक नेतृत्वलाई खुशी पार्ने उद्देश्य छिपेको मन्त्रालय स्रोत बताउँछ। ९ जेठमा ईआईए रिपोर्ट स्वीकृत गर्नुअघि संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीले मन्त्रालयको जैविक विविधता तथा वातावरण महाशाखा प्रमुख महेश्वर ढकाललाई बोलाएर तत्काल स्वीकृत गर्न निर्देशन दिएका थिए।

वन तथा वातावरण मन्त्री शक्ति बस्नेतले उक्त रिपोर्ट स्वीकृत गरेका थिए। तर, उक्त रिर्पोट महाशाखा र मन्त्रालयका सचिव विश्वनाथ ओली हुँदै मन्त्री बस्नेतकहाँ पुगेको थियो। वन तथा वातावरण क्षेत्रका विज्ञहरूले ईआईए रिपोर्टमा भएका कमी कमजोरीबारे प्रश्न उठाएपछि मात्रै मन्त्री बस्नेतले त्यसमा भएका कमजोरीबारे जानकारी पाएका थिए।

“प्रतिवेदनमा भएका प्राविधिक विषय मन्त्रीलाई जानकारी हुँदैन, मन्त्रीले नीतिगत निर्णय गर्ने हो,” मन्त्री बस्नेतको सचिवालयका एक सदस्य भन्छन्, “ईआईएमा आएको विषयलाई सम्बन्धित महाशाखा र सचिवले हेर्ने हो।”

यो पनि पढ्नूहोस्
निजगढ विमानस्थलको ईआईएमा लापरबाही, जलविद्युत आयोजनाको रिपोर्ट कपी–पेस्ट

 

प्रतिकृया दिनुहोस