यस्ता छन् पकेटमारले सार्वजनिक यातायातमा प्रयोग गर्ने भाषा
प्रहरीले काठमाडौंको सार्वजनिक यातायातमा यात्रीका सामान चोरीमा संलग्न ७७ जनालाई पक्राउ गरेको छ। साथमा, उनीहरूले पकेट मार्दा र चोरी गर्दा प्रयोग गर्ने सांकेतिक भाषा पनि प्रहरीले पत्ता लगाएको छ।
प्रहरीका अनुसार पाकेटमारले सांकेतिक भाषामा पैसालाई ‘द’ भन्ने गर्छन्। मोबाइललाई ‘कान’, पकेटमारीबाट पीडित भएका व्यक्तिलाई ‘रामे’, पकेटमारी गर्ने व्यक्तिलाई ‘मास्टर’ र ‘काशी’ भन्ने गर्छन्। यस्तै, पैसा धेरै छ भन्नु परे ‘टानको द’, थोरै छ भन्नु पर्दा ‘जुटको द’ भन्छन्।
गाडीलाई ‘काँचा’, केटालाई ‘छापा’, केटीलाई ‘भद्रि’ पुलिस आएको जनाउ दिनुपरे ‘ठूल्दाइ आयो’, गाडी चालकलाई ‘माम’, खलासीलाई ‘मले’ भन्ने गर्छन्। गाडीबाट झरेर भाग भन्नु परे ‘टप्की’, गाडीभित्र अगाडि सर भन्नु पर्दा ‘अकल जा’ र गाडीभित्र पछाडि सर भन्नलाई ‘चिछल जा’ भन्ने गर्छन्।
प्रहरीले १५ मंसीरदेखि काठमाडौंमा सवारी साधनहरूमा पकेटमारी तथा चोरीका घटनाविरुद्ध अभियान चलाइरहेको छ। यातायात व्यवसायीहरूसँगको सहकार्यमा ५० जना सादा पोसाकका प्रहरीमार्फत् पकेटमारहरूलाई पक्राउ गरिएको हो।
प्रहरीका अनुसार सार्वजनिक बसहरूमा विभिन्न बस स्टेन्डबाट २-२ जनाका दरले ६ जनासम्मको समूह बनाई पकेटमारहरू बसभित्र छिर्ने गर्छन्। त्यसपछि पैसा भएको यात्रु पत्ता लगाई अगाडि र पछाडिबाट घेराबन्दीमा पार्छन्। अनि, ठेलमठेलको अवस्था बनाई मोबाइल, नगद र सुनचाँदी पकेट मारेर पालै पालो ओर्लने गर्छन्।
पक्राउ परेका पकेटमारहरूबाट ५ लाख ९६ हजार नगद बरामद भएको छ। उक्त नगद तत्काल सम्बन्धित पीडितहरूलाई प्रहरीले फिर्ता दिएको छ। यस्तै, मोबाइल ३९, आइप्याड ४ र ल्यापटप ५ थान बरामद भएको प्रहरीले जनाएको छ।