व्यापार घाटा कम गर्न अर्थ मन्त्रालयले बनायो २ कार्यदल
अर्थ मन्त्रालयले बस्तु र सेवामा भइरहेको व्यापार घाटा कम गर्ने विषयमा अध्ययन गरी सिफारिस गर्न २ वटा कार्यदल गठन गरेको छ।
राजस्व सचिव लालशंकर घिमिरेको संयोजकत्वमा गठित दुवै कार्यदलमा ७ सदस्य छन्। दुवै कार्यदलमा अर्थ मन्त्रालयको आर्थिक नीति तथा विश्लेषण महाशाखा प्रमुख मुकुन्दप्रसाद पौडेल सदस्य-सचिव छन्।
चालु आर्थिक वर्षको ४ महिनामा व्यापार घाटा ३५.८ प्रतिशतले वृद्धि भएको छ। शोधानान्तर स्थिति (देशमा भित्रिनेभन्दा बाहिरिने विदेशी मुद्रा) नकारात्मक बनेपछि व्यापार घाटा चुनौतीका रूपमा देखिएको छ।
मन्त्रालयका प्रवक्ता सुमन दाहालका अनुसार बस्तु व्यापार कार्यदलमा भन्सार, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण, उद्योग र कृषि विभागका महानिर्देशक र राष्ट्र ब्यांकको अनुसन्धान विभाग निर्देशक सदस्य छन्। यस्तै, सेवा व्यवसाय कार्यदलमा पर्यटन, शिक्षा, स्वास्थ्य र श्रम विभागका महानिर्देशक र नेपाल राष्ट्र ब्यांकको विदेशी विनिमय विभागका निर्देशक सदस्य छन्।