क्रिकेटर एलबी क्षत्रीको ‘कप्तान १९९८’ पुस तेस्रो साता
क्रिकेटर एलबी क्षत्रीको पुस्तक ‘कप्तान १९९८’ पुस तेस्रो साता बजारमा आउँदैछ। ४ पुसमा पुस्तकको कभर सार्वजनिक गरिएको छ।
नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान क्षत्रीको संस्मरणात्मक पुस्तक हो यो, जुन क्रिएटिभ बुक्सको पाँचौं प्रकाशन हो।
नेपालको पहिलो राष्ट्रिय टिमका उपकप्तान क्षत्रीले सन् १९९८ मा नेपालमा भएको दोस्रो एसीसी कप क्रिकेट प्रतियोगितामा कप्तानी सम्हालेका थिए। उक्त पुस्तकमा नेपाली क्रिकेटको इतिहास र समकालीन क्रिकेटरको संघर्षको कथा समेटिएको क्रिएटिभ बुक्सका अध्यक्ष टीएस ठकुरीले बताए। पत्रकार कुमार श्रेष्ठसँगको सहलेखनमा क्षत्रीले आत्मसंस्मरण लेखेका हुन्।
क्षत्रीले नेपालमा महिला क्रिकेटको अवधारणासहित शुरुवात, विकास र विस्तारको नेतृत्व गरेका थिए। उनकै नेतृत्वमा कोहलपुरमा अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माणको पहल भएको थियो। क्रिकेटर क्षत्रीले भारतको कोलकातामा क्रिकेट सिकेर त्यहीं ‘एक डिभिजन’ पनि खेलेका थिए।
“यस पुस्तकबाट आम क्रिकेटप्रेमी, खेलाडी र दर्शकलाई नजिकबाट नेपाली क्रिकेटबारे सिक्न, जान्न र बुझ्न सघाउने अपेक्षा लिएका छौं,” ठकुरीले भने।