तराई मधेश कार्यक्रममा १३ योजना छनोट
दाङमा तराई-मधेश समृद्धि कार्यक्रमका लागि १३ वटा योजना छनोट भएका छन्। तराई-मधेश समृद्धि कार्यक्रमका संयोजक रामहरि शर्माका अनुसार जिल्लाका १३ वटा योजनाका लागि रु ७ करोड ७५ लाख बजेट छुट्याइएको छ।
सरकारले मानव विकास सूचकांकमा तुलनात्मक रूपमा पछि परेका तराई-मधेशका स्थानीय तहमा भौतिक पूर्वाधारलगायत विकास कार्यक्रमलाई एकीकृत रूपमा सञ्चालन गर्न तराई-मधेश समृद्धि कार्यक्रम लागू गरेको छ।
तराई-मधेशका बासिन्दाको आर्थिक तथा सामाजिक रूपान्तरण, सार्वजनिक सेवामा पहुँच अभिवृद्धि तथा जीवनस्तरमा सुधार ल्याउने उद्देश्यले कार्यक्रम लागू गरिएको हो।
शक्ति प्रावि लमहीलाई रु ५० लाख, दलित सचेतनाको लागि भवन निर्माण लमहीलाई रु ३० लाख, जनता उच्च मावि गढवालाई रु ७० लाख, साधारण मावि गंगदी राजपुर भवन निर्माणका लागि ४० लाख, जनज्योति मावि बेला राजपुर भवन निर्माणका लागि रु ४० लाख, आधारभूत विद्यालय दुलैहैया राजपुरका लागि रु ४० लाख बजेट परेको छ।
राप्ती गाउँपालिकामा थारू संस्कृति भवन निर्माणका लागि रु ५० लाख र अस्पताल भवन निर्माणका लागि रु २५ लाख, साविक धर्नाको नैनावारमा थारू महिला भवन निर्माण गर्न रु ३० लाख, घोराही उपमहानगरपालिकामा मुक्त कमलहरी भवन निर्माण गर्न रु ८० लाख, स्वास्थ्य चौकी भवन निर्माण गर्न घोराही उपमहानगरपालिका १, ३ र ८ वडाका लागि रु ५० लाख बजेट विनियोजन भएको शर्माले जानकारी दिए। रासस