नेकपा स्थायी समिति बैठकमा मन्त्रिपरिषद पुनर्गठनको माग
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जारी स्थायी समितिको बैठकमा मन्त्रिपरिषद पुनर्गठनको माग आएको छ।
स्थायी समिति सदस्य रघु पन्तले केही मन्त्रीहरूको काम कारवाही प्रभावकारी नभएको औंल्याउँदै पुनर्गठनको माग गरेका हुन्। बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा आफ्ना धारणा राख्दै नेता पन्तले मन्त्री फेरबदल गर्ने अधिकार प्रधानमन्त्रीको भएको बताए।
अर्का स्थायी समिति सदस्य लेखराज भट्टले सरकारको काम कारवाही प्रभावकारी नभएको बताउँदै यही गति कायम रहे आउँदो निर्वाचनमा पार्टीले गम्भीर धक्का खाने चेतावनी दिए।
विवादित एसिया प्यासिफिक समिटमा सरकार र पार्टीका वरिष्ठ नेताहरूको सहभागिताको विषयलाई लिएर बैठकमा आलोचना भएको छ। बैठकमा बोल्दै स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले विवादित एसिया प्यासिफिक समिटमा पार्टी र सरकारको सहभागिताको विषयमा आत्मालोचना गर्न सुझाव दिए।
उक्त सम्मेलनमा सक्रिय सहभागी र समन्वयकर्ताको भूमिका निर्वाह गरेका पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालको समेत उनले आलोचना गरे। नेता पाण्डे पार्टीभित्र नेपाल निकट मानिन्छन्।
४ पुसको बैठकमा देवप्रसाद गुरुङ, रघुवीर महासेठ, भीमप्रसाद आचार्य, रघु पन्त, वर्षमान पुन, सुरेन्द्र पाण्डे, लेखराज भट्ट र पुष्प कँडेलले आफ्ना धारणा राखेका थिए।