मोनोरेलको डीपीआरको जिम्मा चिनियाँ कम्पनीलाई
काठमाडौं महानगरपालिकाको चक्रपथमा मोनोरेल सञ्चालनका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माणको जिम्मा चिनियाँ कम्पनीलाई दिएको छ।
चाइना रेलवे २५ औं ब्युरो ग्रुप कम्पनीसँग डीपीआरका लागि ४ पुसमा सम्झौता भएको हो। काठमाडौंका मेयर विद्यासुन्दर शाक्य र रेलवे कम्पनीका ओभरसिज विजनेस म्यानेजमेन्ट विभाग प्रमुख चु ग्वाङविङले सम्झौतामा हस्ताक्षर गरेका छन्।
राजनीतिक दलहरूको साझा एजेण्डा र सबैको सपना मोनोरेल भएकाले राज्यलाई आर्थिक बोझ नहुने गरी चिनियाँ कम्पनीसँग सम्झौता गरिएको मेयर शाक्यले बताए। “संघ र प्रदेश सरकारसँगको समन्वयमा काम भएको छ,” शाक्यले भने, “मोनोरेल चल्यो भने काठमाडौंको प्रदूषण समस्या समाधानमा सहयोगी बन्छ।”
नेपालले विसं २०१२ बाटै मोनोरेलको अध्ययन थालेको थियो। स्वदेशमै विज्ञ र क्षमताको अभाव तथा खर्चिलो भएकाले हालसम्म निर्माणको चरणमा प्रवेश गरेको छैन। "तर, अब सपना साकार हुनेछ," मेयर शाक्यले भने, "निर्माण गर्दा कसैको घर पनि भत्काउनु पर्दैन।" डीपीआरपछि ठेक्का प्रक्रियामा शुरु हुने उनको भनाइ छ।
माटो परीक्षणसहित वातावरणीय प्रभाव मूल्यांकन (ईआईए), मोनोरेलको डिजाइन, प्राविधिक एवं निर्माण क्षमता, लागत अनुमान, ट्राफिक व्यवस्थापनको अनुमान, योजना सञ्चालनको चरण र लाभ विश्लेषणसहितको डीपीआर निर्माण हुने महानगरपालिकाले जनाएको छ।
यसअघि भएको सम्भाव्यता अध्ययनले गौशालादेखि चावहिलसम्मको सडक विस्तारमा देखिएको समस्या समाधानमा सरकारले सहयोग गरे विस्तारित चक्रपथको पैदलमार्गभित्रको दोस्रो लाइनमा मोनोरेल चलाउन सकिने देखिएको छ।
सम्भाव्यता अध्ययन प्रतिवेदनअनुसार उपत्यकाको २७ किमि चक्रपथमध्ये १० किमि ललितपुर महानगरपालिकाभित्र पर्छ। अहिलेको अवस्थालाई आकलन गर्दा तीन चरणमा निर्माण गर्न सकिने सम्भाव्यता अध्ययनले देखाएको छ।
पहिलो चरणमा कोटेश्वरदेखि कलंकीसम्म, दोस्रो चरणमा कलंकीदेखि महाराजगञ्ज र तेस्रो चरणमा महाराजगञ्जदेखि कोटेश्वरसम्म काम गर्दा उपयुक्त हुने अध्ययनको निष्कर्ष छ। मोनोरेल निर्माणका लागि करीब रु १ खर्ब १६ अर्ब लाग्ने अनुमान छ। रासस