कांग्रेस महासमिति बैठक ६ पुससम्मलाई लम्बियो
नेपाली कांग्रेसको जारी महासमिति बैठकमा राजनीतिक, सांगठनिक, समग्र आर्थिक नीति र पार्टीको आन्तरिक आर्थिक प्रतिवेदनमाथिको छलफल जारी छ। पार्टीको विधान मस्यौदा प्रतिवेदन भने ५ पुसमा मात्रै पेश हुनेछ।
विधान मस्यौदा प्रतिवेदनमा पदाधिकारीको संख्या र चयन प्रक्रियाको विवादले बैठकमा पेश हुनसकेको थिएन। कांग्रेस शीर्ष नेताले ३ पुस राति विधान मस्यौदा प्रतिवेदनमा देखिएको विवादको टुंगो लगाएका छन्। सहमतिअनुसार कांग्रेसको केन्द्रीय समिति १६१ सदस्यीय हुनेछ।
तीमध्ये ३३ केन्द्रीय सदस्य समावेशिताका आधारमा सभापतिबाट मनोनित हुनेछन्। यस्तै, सभापति, २ उपसभापति, २ महामन्त्री, २ सहमहामन्त्री र १ कोषाध्यक्षसहित ८ पदाधिकारी रहनेछन्। कोषाध्यक्षबाहेक सबै पदाधिकारी निर्वाचित हुने र कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यमध्येबाट सभापतिले मनोनयन गर्ने सहमति भएको छ।
कांग्रेसको हालको विधानमा कूल ८५ सदस्यीय केन्द्रीय समिति रहने व्यवस्था छ। त्यसमा सभापति, १ महामन्त्री र १ कोषाध्यक्ष निर्वाचित हुन्छन्। १ उपसभापति, १ महामन्त्री र १ सहमहामन्त्री मनोनयन हुने प्रावधान छ।
महासमिति बैठकमा हालसम्म करीब १५० सदस्यले आफ्ना धारणा व्यक्त गरिसकेका छन्। थप ५०० भन्दा बढीले बोल्न नाम टिपाएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।
बैठकमा बोल्ने सहभागीहरूले पार्टीलाई राजनीतिक एकता कायम गरी सशक्त बनाउन, सरकारका गलत कामको निगरानी गर्ने गरी खरो ढंगले उपस्थिति जनाउन, कांग्रेसले विगतमा गरेका कामको राम्रोसँग सम्पेषण गर्न, आम नागरिकलाई छुने गरी आगामी योजना र कार्यक्रम बनाउन सुझाव दिएका छन्।
कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक ४ पुसमा बस्दैछ, जसले विधान मस्यौदा पारित गर्ने प्रवक्ता शर्माले जानकारी दिए। यसअघि २९ मंसीर-३ पुसका लागि महासमिति बैठक तय भएको थियो। ६ पुससम्मका लागि बैठक लम्बिएको छ।