संविधान संसोधनका लागि एमाले तयारः रविन्द्र अधिकारी
एमाले नेता रविन्द्र अधिकारीले आफ्नो दल संविधान संसोधनका लागि तयार रहेको बताएका छन् ।
आज वीरगञ्जमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अधिकारीले संविधानको कुन धारा केका लागि कसरी संशोधन गर्नुपर्ने हो भन्ने स्पष्ट खाका आए एमालेले आफ्नो धारणा बनाउने बताए ।
“संविधान गतिशिल दस्तावेज हो, संविधान संसोधन नगर्ने भन्ने पक्षमा एमाले छैन्,” उनले भने, “तर त्यो संशोधन औचित्यपूर्ण हुनुपर्छ ।”
संविधान संसोधनका लागि सरकारले नै स्पष्ट खाका ल्याउन नसकेको उनको आरोप छ ।
अधिकारीले स्थानीय निकायको निर्वाचन निकै जरुरी भइसकेको भन्दै त्यसका लागि एमाले हदैसम्म लचिलो भएर संविधान संशोधनका लागि समेत तयार हुने बताए ।
फरक प्रसंगमा उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमानसिंह कार्कीले अदालतको अवज्ञा गरेको, संसदको अपमान गरेको र समानान्तर सत्ता अभ्यास गरेकाले उनलाई हटाउनु परेको भन्दै महाभियोग प्रस्ताव पारित भइछाड्ने बताए ।
महाभियोग र संविधान संशोधनलाई जोडेर हेर्नु बिल्कुलै गलत भएको भन्दै अधिकारीले थपे, “महाअभियोग लोकमानको अपराध विरुद्ध हो, अपराध र राजनीतिलाई सँगै जोडेर हेर्नु हुँदैन ।”
उनले वीरगञ्जको विकासका लागि स्थानीय र मधेशकेन्द्रित नेताहरुले केही नगरेको आरोप समेत लगाएका थिए ।
सुरेश बिडारी, वीरगञ्ज