एभरेष्ट प्रिमियर लिग- ललितपुर प्याट्रियस फाइनलमा
काठमाडौं किङ्स-११ लाई अन्तिम बलमा पराजित गर्दै ललितपुर प्याट्रियस एभरेष्ट प्रिमियर लिग टी-२० क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा ३ पुसमा भएको पहिलो क्वालिफायरमा काठमाडौं किङ्स-११ लाई एक विकेटले पराजित गर्दै ललितपुर फाइनलमा पुगेको हो। ललितपुरको जितमा योगेन्द्रसिंह कार्की नायक बने। उनले ३ विकेट लिनुका साथै नटआउट २८ रनको योगदान गरे।
काठमाडौंले दिएको १०९ रनको लक्ष्य ललितपुरले पूरै २० ओभरमा ९ विकेट गुमाएर पूरा गर्यो। अन्तिम ओभरमा ललितपुरलाई जितका लागि ९ रन आवश्यक रहेको अवस्थामा योगेन्द्रले उत्कृष्ट ब्याटिङ गर्दै ललितपुरलाई जित दिलाए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले १९ ओभर ५ बलमा अलआउट हुँदै १०८ रन जोडेको थियो। काठमाडौंका लागि कप्तान रोहन मुस्तफाले सर्वाधिक ३२ रन जोडे। सागर पुनले २९ र सिद्धान्त लोहनी १६ रनमा आउट भए। अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन बनाउन सकेनन्।
काठमाडौंलाई १०८ रनमा समेट्ने क्रममा ललितपुरका पवन सरार्फ र योगेन्द्रले ३-३ विकेट र सन्नी पटेलले २ विकेट लिए। पराजित काठमाडौंले भने अब फाइनल प्रवेशका लागि इलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायर खेल्नेछ।