कर्णालीमा ‘कारागारलाई किताब अभियान’
कर्णाली प्रदेशमा ‘कारागारलाई किताब अभियान’ सञ्चालन गरिने भएको छ। प्रदेश प्रहरी कार्यालय सुर्खेतले त्यसका लागि समिति गठन गरेको छ।
वीरेन्द्रनगरमा ३ पुसमा प्रदेश प्रहरी प्रमुख डीआईजी महेशविक्रम शाहको संयोजकत्वमा १३ सदस्यीय समिति गठन गरिएको छ। समितिमा विभिन्न संघसंस्थाका पदाधिकारी र सञ्चारकर्मी छन्।
कारागारमा रहेका कैदी तथा थुनुवाहरूलाई असल नागरिक बनाई समाजमा घुलमिल गराउने उद्देश्यले यस्तो अभियान सञ्चालन गरिएको डीआईजी शाहले बताए।
कैदीबन्दीहरूलाई समाजमा पुनःस्थापना गर्न पुस्तक अध्ययन नै सशक्त माध्यम रहेको उनको भनाइ छ। यसबाट कैदीबन्दीहरूको समयको सदुपयोग पनि हुने डीआईजी शाहले बताए।
कर्णाली प्रदेशका १० वटा जिल्ला घुमेपछि कारागारमा किताबको आवश्यकता खड्किएको उनले बताए। उनका अनुसार कारागारमा उत्प्रेरणा, उत्साह दिने र जीवनबारे बुझाउने खालका पुस्तकहरू व्यवस्था गरिनेछ।
लक्ष्मी भण्डारी, सुर्खेत