कंग्रेस-आईका नेताको दाबी- नेपालमा भारतीय नोटमा प्रतिबन्ध लाग्नुमा मोदी सरकार दोषी
भारतको विपक्षी दल कंग्रेस-आईका वरिष्ठ नेता सकिल अहमदले नेपालमा भारतीय नोटहरूमा प्रतिबन्ध लाग्नुमा सत्तारुढ नेशनल डेमोक्रेटिक अलायन्स (एनडीए)को दम्भ प्रमुख कारक भएको आरोप लगाएका छन्।
नेपालमा मन्त्रिपरिषद्ले २४ मंसीरमा एक सयभन्दा माथिका भारतीय नोटमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो। १८ डिसेम्बरमा विहारको दरभंगामा बोल्दै कंग्रेस-आई नेता अहमदले समस्याको तत्काल समाधान खोज्न भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको सरकारसँग आग्रह गरे।
भारतीय नोटमा प्रतिबन्धबाट सीमा क्षेत्रमा बसोबास गर्ने दुवै मुलुकका नागरिकलाई समस्यामा पार्ने केन्द्र सरकारका पूर्वमन्त्रीसमेत रहेका अहमदको जिकिर थियो। “भारतको नेपालसँगको सम्बन्ध अपरिपक्वता र कमजोर बुझाइका कारण विगतमा तनावपूर्ण बन्ने गरेको छ,” अहमदले भने। पछिल्लो नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरमा मधेशका बासिन्दालाई सम्बोधन गरेपछि र त्यसलाई उल्लेख गर्दा भारतीय विदेश मन्त्रालयले ‘भारतीय नागरिक’ बताएका कारण पछिल्लो कूटनीतिक समस्या निम्तिएको उनको दाबी थियो।
दुवै मुलुकको सीमा क्षेत्रमा लाखौं मानिस बस्ने गरेको उल्लेख गर्दै अहमदले भारतीय नोटमा प्रतिबन्धका कारण उनीहरू समस्यामा परेको दाबी पनि गरे। प्रेस ट्रस्ट अफ इन्डिया