टिप्पणीमंगलबार, ३ पौष , २०७५

सुदूरपश्चिमः रातमा देखिएकोे समृद्धि

हिमालखबर

सुदूरपश्चिमका डाँडापाखामा छरिएको उज्यालोले त्यहाँको दुःख हटाउने संभावना देखाएको छ ।

सुर्जे पनि अस्ताउन मात्रै आउँछन् हाम्रो पश्चिममा,
भाग्य पनि आउँदा आउँदै थाकिसक्छन् हाम्रो पश्चिममा ।

कवि राजेन्द्र थापाले सुदूरपश्चिमले भोग्दै आएको विभेद र उपेक्षाबारे कुनै बेला लेखेको कविताको अंश हो, यो । यसपटक आफैं त्यहाँ पुग्दा अनुभव भयो– एउटा कुरामा भने सुदूरपश्चिम देशका अन्य भागसँग समान भइसकेछ । त्यो हो, बिजुली ।

केही वर्षअघिसम्म बैतडी सदरमुकाम गोठालापानी वा शाहीलेकबाट रातमा महाकाली पारि हेर्दा पिथौरागढको झिलिमिलीले लघुताभास गराउँथ्यो । अहिले यता पनि उस्तै झिलिमिली भइसकेछ । डडेलधुराबाट देखिने पूर्व र उत्तरपट्टिका डाँडाकाँडाको झिलिमिली र दक्षिणपट्टिको अन्धकार जंगलले रोमाञ्चक अनुभूति हुन्छ ।

डडेल्धुराबाट पूर्वोत्तर लाग्दै गर्दा डोटी र अछाम उज्यालै देखिन्छन् । चौखुट्टेबाट ओर्लेपछि रातको साँफेबगर मनमोहक देखिन्छ । मानव विकास सूचकांकमा सबैभन्दा पछाडि रहेको बाजुराका गाउँबस्ती रातमा पनि ठम्याउन सकिन्छ ।

अहिले दूरदराजका गाउँसम्म राष्ट्रिय प्रसारण ग्रीड विस्तार भएको छ । जिल्ला सदरमुकाम जोड्न हिंडेका सडकैसडक राष्ट्रिय ग्रीड पनि पुगेको छ । यस्तो ग्रीडले जोडिन बाँकी ठाउँ पनि नेपालमा सफल मानिएको लघु जलविद्युत् परियोजनाहरूले झलमल्ल बनाएका छन् ।

केही वर्ष अघिसम्म रातिमा निदाउने लघु जलविद्युत् आयोजनाहरूमध्ये केही त सुत्नै छोडेछन् । बाँकीले पनि सुत्ने समय घटाएछन् । यो दृश्य र अनुभवले एउटा जिज्ञासा उब्जिन्छ, समग्र विकासबारे यसले के संकेत गर्छ त ?

उज्यालोको संकेत
सन् १९७० मै नासाको तथ्याङ्क (तस्वीर) लाई आधार मानेर वैज्ञानिकहरूले गरेको एक अध्ययनले रातिको उज्यालोले शहरको समृद्धि प्रतिविम्बित हुने मोटामोटी निचोड निकालेको थियो । तर, यो आर्थिक विकास नाप्न प्रयोग गरिने अन्य उपायहरू जस्तै भरपर्दो मानक थिएन । अर्थात् आर्थिक अवस्था एउटै भएका दुई शहरबीच पनि सांस्कृतिक वा अन्य कारणले उज्यालोको अवस्था भिन्न हुनसक्थ्यो ।

त्यसपछि सन् २०१२ मा फरकफरक समयमा एउटै शहरको उज्यालोको अवस्था र आर्थिक उन्नतिलाई तुलना गरेर भएको अध्ययनबाट भने उनीहरूले बढी भरपर्दो निष्कर्ष निकालेका छन् । आडम स्टोरिगार्ड, भर्नन हेन्डरसन र डेभिड वेइलले गरेको अध्ययनका अनुसार रातिमा देखिने उज्यालो अर्थात् त्यो उज्यालो उपभोग गर्न सक्ने क्षमताले त्यस क्षेत्रको विकास पनि प्रतिविम्बित गर्छ ।

अर्थात् जति उज्यालो शहर, त्यति नै विकसित । जनताको क्रयशक्ति पनि राम्रो । यो दृष्टिकोणबाट सुदूरपश्चिमले पनि बाँकी देशसँग आर्थिक विकास र समृद्धिमा समानता कायम गरेको भन्न सकिएला । तर, वास्तविकता यस्तै हो त ?

स्टोरिगार्ड, हेन्डरसन र वेइलको निचोड सुदूरपश्चिम वा नेपालका धेरै पहाडी क्षेत्रमा लागू नहुन सक्छ । किनकि नेपालका धेरै स्थानमा विद्युत्को उपयोग अझै पनि बत्ती बाल्नका लागि मात्र हुन्छ ।

उद्योग र उत्पादनमूलक कार्य त परको कुरा, खाना पकाउने जस्तो घरेलु प्रयोजनका काममा समेत बिजुली प्रयोग गर्नेको संख्या निकै सानो छ । रातमा हुने आर्थिक क्रियाकलाप नगन्य छन् । वैज्ञानिक अध्ययनमा उज्यालो भनेको बल्बबाट निस्कने प्रकाश मात्र नभएर गाडीहरूले बाल्ने चल्ती प्रकाश पनि हो जुन गाउँको सन्दर्भमा नगन्य नै हुन्छ । त्यसैले उज्यालो देखिनासाथ त्यो ठाउँ समृद्ध भयो भन्नु अतिशयोक्ति हुनेछ ।

तर स्टोरिगार्ड, हेन्डरसन र वेइलको निचोडलाई हाम्रो सन्दर्भमा व्याख्या गर्दा समृद्धिको पूर्वाधार तयार भएको मान्न भने सकिन्छ । किनकि अब गाउँमा बिजुलीलाई उत्पादनमूलक कामका लागि उपयोग गर्न सकिन्छ ।

पाखुराका बलमा वा डिजल–पेट्रोल खपत गर्ने जेनेरेटर चलाएर भइरहेका कामलाई विद्युत्ले सहज बनाएसँगै उत्पादन वृद्धि हुनेछ भने लागत कम हुनेछ । पानीघट्ट वा डिजल मीलको सट्टा विद्युतीय मील सञ्चालन गर्न सकिन्छ । गाउँलाई चाहिने चाउमिन, कुकिज, अचार, क्यान्डी, मिठाई आदि उद्योगहरू खोलेर पनि गाउँलाई आत्मनिर्भर बनाउन सकिन्छ ।

कृषि उपज भण्डारणका लागि शीतभण्डारहरू बनाउन सकिन्छ । दालमोठ उद्योग, मह प्रशोधन उद्योग, स्याउ वा अन्य फलफूलको सुकुटी बनाउने उद्योग, घिउ वा कुराउनी बनाउने डेरीहरू चलाउन सकिन्छ । र, अहिले भइरहेका उद्योगहरूलाई साँझ वा रातिमा केही घण्टा बढी चलाएर उत्पादकत्व बढाउन पनि सकिन्छ ।

आर्थिक विकासका लागि आवश्यक न्यूनतम पूर्वाधार बिजुली गाउँमै आइपुगेपछि हामीले उपयोगकोे दायरा पनि फराकिलो बनाउनुपर्छ । अहिले पनि धेरै ठाउँमा बिजुलीको प्रयोग रातिमा उज्यालोको लागि मात्र हो । त्यसैले लघु जलविद्युत् आयोजनाहरू मान्छेसँगै सुत्छन्, र उनीहरूसँगै उठ्छन् । यसले आर्थिक गतिविधि बढ्दैन । अहिले समयतालिका मात्र होइन प्रसारण र वितरणको प्रणाली एवम् पूर्वाधार पनि उपयुक्त छैनन् ।

राष्ट्रिय प्रसारण ग्रीड बल्ल लोडशेडिङको आतंकबाट मुक्त भएको छ । अब राष्ट्रिय प्रसारण ग्रीडबाट वितरण हुने बिजुली भरपर्दो बनाउनेतर्फ लाग्नुपर्छ ।

त्यसका लागि प्रसारण प्रणालीको स्तर वृद्धि गर्नुपर्छ र औद्योगिक प्रयोजनका लागि विद्युत् माग गर्ने ग्राहकहरूलाई प्राथमिकता दिन थाल्नुपर्छ । थ्री–फेज लाइन लिनकै लागि महीनौं कुर्नुपर्ने वा घुस खुवाउनुपर्ने, भोल्टेज अस्थिर हुने जस्ता अहिलेका समस्या रहनुहुँदैन ।

प्रतिकृया दिनुहोस