म्यानचेस्टर युनाइटेडका प्रशिक्षक जोसे माउरिन्हो बर्खास्त
इङ्लिस फूटबल क्लब म्यानचेस्टर युनाइटेडले प्रशिक्षक जोसे माउरिन्होलाई बर्खास्त गरेको छ । क्लबले मंगलबार विज्ञप्तिमार्फत् माउरिन्हो अब युनाइटेडको प्रशिक्षक नरहेको स्पष्ट गरेको हो ।
जारी प्रिमियर लिगमा युनाइटेडको खराब प्रदर्शनलाई यसको प्रमुख कारण मानिएको छ । आइतबार रातिको खेलमा म्यानचेस्टरले शीर्षस्थानको लिभरपुलसँग ३-१ को हार व्यहोरेको थियो ।
प्रिमियर लिगको यो सिजनका १७ खेल सकिँदा युनाइटेड पाँच खेलमा पराजित भएको छ । अंक तालिकामा छैटौं स्थानमा रहेको युनाइटेड शीर्षस्थानको लिभरपुलभन्दा १९ र चौथो स्थानको चेल्सीभन्दा ११ अंकले पछाडि छ । युनाइटेडको खराब प्रदर्शनका कारण रेड डेभिल्स टिम च्याम्पियन्स लिगमा छनोट हुने सम्भावना पनि देखिँदैन ।
युनाइटेडको खराब प्रदर्शनमा माउरिन्होको खेलाडीहरूसँगको सम्बन्धलाई कारण मान्ने गरिएको छ । थुप्रै खेलाडीसँग उनको सम्बन्ध राम्रो नरहेको बताउँदै उनलाई यसअघि नै बर्खास्त गर्न लागिएको चर्चा चलेको थियो । पाउल पोग्बा, एन्थोनी मार्सियललगायत खेलाडीसँगको उनको असहज सम्बन्ध सार्वजनिक नै भएको थियो ।
माउरिन्होले भने ट्रान्सफर विन्डोमा नयाँ खेलाडी भित्र्याउन क्लब व्यवस्थापनले सहयोग नगरेको गुनासो गर्दै आएका थिए ।
गत सिजन भने माउरिन्होले युनाइटेडलाई लिगमा दोस्रो स्थानमा पुर्याएका थिए । तर, युनाइटेड लिग विजेता म्यानचेस्टर सिटीभन्दा १९ अंकले पछि थियो ।
माउरिन्होलाई दुई वर्षअघि टिमको खराब प्रदर्शनकै कारण चेल्सीले बर्खास्त गरेको थियो । त्यसबेला दोस्रो पटक चेल्सीको नेतृत्व सम्हालेका यी पोर्चुगिज प्रशिक्षकले पहिलो सिजन चेल्सीलाई लिग उपाधि जिताए पनि लगत्तै अर्को सिजमा चेल्सीले पूरै लय गुमाएको थियो । इङलिस प्रिमियर लिगमा आउनुअघि माउरिन्हो स्पेनिस क्लब रियल मड्रिडका प्रशिक्षक थिए ।