तस्कर समूहले खोस्यो प्रहरीको 'थ्री नट थ्री'
पेट्रोलियम पदार्थको तस्करीमा संलग्न समूहले गए राति प्रहरीको हतियार खोसेर फरार भएको छ।
पर्साको पाङ्डेपुरस्थित चौकीका प्रहरीलाई कुटपिट गर्दै हतियार लिएर फरार भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। करिब ४० जनाको समूहमा रहेका व्यक्तिले ३ जना प्रहरीको हतियार लुटेका हुन्।
स्थानीय औरही खोला हुँदै सीमावर्ती भारतको इनर्वा बजारतर्फ पेट्रोलियम पदार्थको तस्करी भइरहेको सूचनाका आधारमा प्रहरी त्यहाँ पुगेको थियो। तस्करीमा संलग्न समूहले प्रहरीलाई लाठी, भाटाले कुटपिट गरी एक नाल थ्रीनट थ्री बन्दुक लुटेको हो।
कुटाइबाट प्रहरी सहायक निरीक्षक विष्णुदेव यादव, प्रहरी जवान प्रेमबहादुर राणा र अर्जुन चौधरी घाइते भएका छन्। घाइतेको नेशनल मेडिकल कलेज र न्यूरो अस्पताल वीरगञ्जमा उपचार भइरहेको छ। तस्करी संलग्न समूहको खोजी भइरहेको पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले बताए। रासस