पूर्वप्रधानमन्त्री डा. तुलसी गिरी रहेनन्
पूर्वप्रधानमन्त्री डा. तुलसी गिरीको ३ पुस बिहान निधन भएको छ। उनी कलेजोको क्यान्सरबाट पीडित थिए।
९२ वर्षीय गिरी काठमाडौं बूढानीलकण्ठमा बस्दै आएका थिए। १० दिनदेखि भैंसेपाटीस्थित मेडिसिटी अस्पतालमा उपचार गराइरहेका डा. गिरीलाई दुई दिनअघि परिवारले घर लगेको थियो। असोज १९८३ मा सिरहामा जन्मेका हुन्, डा. गिरी।
उनी तत्कालीन राजा महेन्द्र र वीरेन्द्रका पालामा मन्त्रिपरिषद् उपाध्यक्ष र प्रधानमन्त्री बनाइएका थिए। अन्तिम पटक तत्कालीन राजा ज्ञानेन्द्रले १९ माघ २०६१ मा शासन सत्ता हातमा लिएपछि पनि मन्त्रिपरिषद् उपाध्यक्ष बनाइए। २०६२-०६३ को परिवर्तनयता उनी सक्रिय राजनीतिमा थिएनन्।
डा. गिरीका श्रीमती, दुई छोरा र दुई छोरी छन्। ‘पञ्चायती व्यवस्थाको जननी’को संज्ञा पाएका डा. गिरी बहुदलीय प्रतिस्पर्धात्मक शासन व्यवस्थाका कट्टर आलोचक मानिँदै आएका थिए।