१५ अंकले बढ्यो नेप्से, ३ महीनाको व्यापारमा ३९ प्रतिशत ‘रिट्रेसमेण्ट’
नेप्से परिसूचक २ पुसमा १५.१७ अंक बढेको छ। लगातार घटिरहेको शेयर बजार १९ मंसीरमा १११८ अंकमा झरेपछि अहिले बढ्दो क्रममा छ।
शेयर बजारको प्राविधिक विश्लेषण गर्ने एउटा सूत्र (यसलाई प्राविधिक औजार पनि भनिन्छ) अनुसार बजारले तीन महीनायताको व्यापारमा अहिले ३९.५ प्रतिशत ‘रिट्रेसमेण्ट’ गरेको छ। अर्थात्, पछिल्लो पटक उच्च विन्दु बनाउने क्रममा ९ असोजमा १२८० अंकमा पुगेको शेयर बजार सूचकांक १९ मंसीरमा १११८ अंकमा झर्दा १६२ अंक झरेको थियो।
त्यसयता बढ्दो बजारले नेप्से सूचकांकलाई २ पुसमा ११८२ अंकमा पुर्याउँदा ६४ अंकको ‘जम्प’ गरेको छ। यसरी गएको ७० दिनमा बजार जति घटेको थियो, त्यसपछिका दुई सातामा ३९ प्रतिशतले बढेको छ। यसलाई प्राविधिक भाषामा ‘रिट्रेसमेण्ट’ भनिएको हो।
‘फिबोनासी रिट्रेसमेण्ट’ सिद्धान्तले घटिरहेको शेयर बजार कतिसम्म बढ्न सक्छ भन्ने पूर्वानुमान गर्छ। यसका लागि पाँच वटा ‘बेञ्चमार्क’ तोकिएको छ। २३.६, ३८.२, ५०, ६१.८ र १०० प्रतिशतसम्म रिट्रेसमेण्ट हुन्छ भन्ने यस सिद्धान्तको तर्कलाई मान्ने हो भने अहिले नै नेप्सेले शुरुका दुई स्तरको वृद्धिलाई उछिनिसकेको छ। अब नेप्सेले ५० प्रतिशतको वृद्धिलाई पछ्याउने छ, त्यस आधारमा नेप्से सूचक १९ मंसीरको न्यूनतम विन्दुबाट ८१ अंक बढ्न सक्छ। यसरी हिसाब गर्दा अब नेप्से ११९९ अंकसम्म बढ्छ भन्ने देखिन्छ।
इटलियन गणितज्ञ लियोनार्दो फिबोनाशीले १३ औं शताब्दीमा प्रयोग गरेको यो विधि त्यति धेरै भरपर्दो त मानिन्न तर विश्व धितोपत्र बजारमा यो प्राविधिक औजारका आधारमा विश्लेषण हुन भने छाडेको छैन।
पछिल्लो एक वर्षको व्यापारमा नेप्से ११६० देखि ११८० अंकको बीचमा धेरै पटक टेवा पाएर बढ्न थालेको देखिन्छ। अल्पकालीन व्यापारमा हालको स्तरबाट नेप्से केही माथि जान सक्ने संकेत यसले गरेको छ । त्यसो त, पछिल्लो एक वर्षको व्यापारमा ११९९ अंकमै पुगेर पनि थुप्रै पटक नेप्से ओरालो लागेको थियो।
प्राविधिक विश्लेषणको आधार नै ‘इतिहास दोहोरिन्छ’ भन्ने मान्यताबाट निर्देशित हुने भएकाले यस पाला पनि नेप्से १२ सय अंकको स्तरमा पुगेर झर्न सक्छ भन्ने सकिन्छ। नेप्से अझै बढ्यो भने १२५० अंकसम्म पनि पुग्न सक्छ। तर, १२८० अंकको प्रतिरोध तोड्नचाहिँ हालको शेयर बजारलाई ‘बूलिश’ प्रवृत्तीमा फर्कने बलियो आधार नै चाहिन्छ। फिबोनासी रिट्रेसमेण्ट विधिको चौथो ‘स्कोर’ भेट्टाउँदा पनि नेप्से १२१८ अंकसम्म मात्रै उक्लिन सक्ने देखाउँछ।
शेयर बजारमा बढ्दो नकारात्मक प्रभाव मत्थर पार्न अर्थ मन्त्रालयद्वारा राष्ट्र ब्यांकका डेपुटी गभर्नर शिवराज श्रेष्ठको नेतृत्वमा गठित अध्ययन समितिले सुधारका लागि सिफारिस गरेपछि लगानीकर्तामा मनोबल बढेको देखिएको छ। यसपछि सरकारले ती सुझाव र समग्र पूँजीबजारलाई उत्थान गर्न के कस्ता कदम चाल्छ भन्नेमा पनि आउँदा दिनमा नेप्सेको वृद्धि कतिसम्म पुग्छ भन्ने निर्धारण हुनेछ।
सोमवारको व्यापारमा भने लगानीकर्ता उत्साहित देखिन्छन्। यस दिन नेप्सेमा १५९ कम्पनीका १२ लाख ६० हजार ५१८ कित्ता शेयर रु. ४२ करोड ३ लाख ५३ हजार ५१५ मा किनबेच भए। यस दिन व्यापार समूहबाहेक सबै शेयर समूहगत सूचकांकहरू उकालो लागे। शेयर बजारको कुल मूल्य अर्थात् बजार पूँजीकरण रु. १४ खर्ब १० अर्ब ९१ करोड १८ लाख पुग्यो।
शेयर बजारमा सर्वसाधारणको स्वामित्वमा भएको शेयरको कुल मूल्य नै रु. ४ खर्ब ९१ अर्ब ३६ लाख नाघ्यो। सोमवारको व्यापारमा छिमेक लघुवित्त वित्तीय संस्थाको सर्वाधिक रु. ४ करोड ८३ लाख १३ हजारको शेयर व्यापार भयो। यस दिनको व्यापारमा मितेरी र कालिका लघुवित्तको शेयर मूल्य झण्डै १० प्रतिशत महँगिए। शेयर सस्तिने कम्पनीको अग्रस्थानमा पर्ने कालिका पावर कम्पनीको भाउ भने ३.७४ प्रतिशत सस्तियो।