एभरेष्ट प्रिमियर लिग- विराटनगर समूह चरणबाटै बाहिरियो
काठमाडौं किङ्स-११ एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-२० क्रिकेटको क्वालिफायरमा प्रवेश गरेको छ।
त्रिवि मैदान कीर्तिपुरमा भएको खेलमा अघिल्लो संस्करणको विजेता टोली विराटनगर वारियर्सलाई ५ विकेटले पराजित गर्दै काठमाडौं क्वालिफायरमा पुगेको हो। विराटनगर भने प्रतियोगिताबाट बाहिरिएको छ।
विराटनगरले दिएको १०१ रनको लक्ष्य काठमाडौंले १७ ओभर ५ बलमा मात्र ५ विकेट गुमाएर पूरा गर्यो। काठमाडौंका लागि केभिन ओब्राएनले नटआउट ४५ रन जोडे । प्रदीप साहुले अविजित २१ रन जोडे।
विराटनगरका पारस खड्का र भान डेर मेर्वीले २-२ विकेट लिए। यसअघि टस हारेर ब्याटिङ पाएको पारस खड्काको कप्तानीमा रहेको विराटनगरले १७ ओभर ५ बलमा पूरै विकेट गुमाउँदै १०० रन मात्र बनाएको थियो। विराटनगरका लागि सुमित महर्जनले सर्वाधिक २५, हरिबहादुर चौहानले २२ र कप्तान खड्काले २१ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक बनाउन सकेनन्।
विराटनगरलाई सस्तैमा समेट्न काठमाडौंका केभिन ओब्राएनले ३, विक्रम भूसाल, रोहन मुस्तफा र प्रदीप साहुले २-२ विकेट लिएका थिए। जितसँगै काठमाडौंले ५ खेलबाट ८ अंकसहित लिगको दोस्रो स्थानमा रहँदै क्वालिफायरमा पुगेको छ।
काठमाडौंले अब फाइनल प्रवेशका लागि ललितपुर प्याट्रियट्ससँग खेल्नेछ। ललितपुर आठ अंक जोडेर शीर्ष स्थानमा रहँदै क्वालिफायरमा पुग्न सफल भएको छ। ललितपुर र काठमाडौंबीचको खेल ३ पुसमा हुनेछ। विराटनगर पराजित भएपछि चितवन टाइगर्स प्ले अफमा पुगेको छ। चितवनले अब इलिमिनेटरमा भैरहवा ग्लाडियटर्ससँग खेल्नेछ।
चितवन र विराटनगरको ५ खेलबाट समान ४ अंक रहे पनि रन रेटको आधारमा चितवन अघि रहँदै प्ले अफमा पुगेको हो। ईपीएलको नियममानुसार शीर्ष २ टोलीले क्वालिफायरमा स्थान बनाउनेछन्। क्वालिफायरमा विजेता हुने टोली सीधै फाइनलमा पुग्नेछ । ईपीएलमा ६ टोली थिए । विराटनगरसँगै पोखरा पनि समूह चरणबाटै बाहिरिएको छ। रासस