ठेकेदार कम्पनी भाग्न खोजेपछि मेलम्ची फेरि अनिश्चित
राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजना निर्माण गरिरहेको इटालियन कम्पनी सीएमसी इन्जिनियरिङले थप काम गर्न नसक्ने जानकारी सरकारलाई दिएको छ। सीएमसीको घोषणासँगै बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजना सम्पन्न हुने मितिमा फेरि अनिश्चितता देखिएको छ।
सीएमसीका प्रतिनिधिले २ पुसमा परियोजनाबाट हात झिकेको जानकारी सरकारलाई दिएको छ। तर, मन्त्रालयका अधिकारीहरूले त्यसरी अकस्मात छोड्न नमिल्ने बताउँदै ठेकेदार कम्पनीलाई कारवाही गरिने बताएका थिए।
खानेपानी मन्त्रालयका सचिव गजेन्द्रकुमार ठाकुरले हिमालखबरसँग कुरा गर्दै सीएमसी इन्जिनियरिङलाई कारवाही गरिने बताए। “ठेकेदार कम्पनीले ठेक्का तोड्छु भन्दैमा तोडिँदैन, यो कम्पनीविरुद्ध कारवाही अघि बढाएका छौं,” ठाकुरले भने। यसभन्दा बढी विवरण दिन नमिल्ने उनको भनाइ छ।
नगद प्रवाहको समस्याका कारण सीएमसी टाट पल्टिएको बताइन्छ। डेढ दशकअघि निर्माण शुरु भएको मेलम्चीको निर्माण गत दशैंअघि नै सकिने सरकारी अधिकारीहरूले बताउँदै आएका थिए। तर, अझै निर्माण सकिएको छैन। एकाध महीनाभित्रै मेलम्चीको पानी काठमाडौं आइपुग्ने सरकारले दाबी गर्दै आएको थियो।
सीएमसीका अधिकारीहरू नेपाल सरकारलाई थाहै नदिई इटाली फर्किन लागेको सुइँको पाएपछि प्रहरीले १ पुस राति उनीहरूलाई पक्राउ गरेको थियो। सीएमसीका परियोजना व्यवस्थापक क्रिश्चियानो क्रोसे ८ कर्मचारीलाई प्रहरीले रोकेको छ। आइतबार राति उनीहरूलाई काठमाडौं ठमेलको एक होटलबाट शंकास्पद अवस्थामा नियन्त्रणमा लिई खानेपानी मन्त्रालयका अधिकारीहरूलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ।
प्रहरीको दरबारमार्ग वृत्तका नायब उपरीक्षक दानबहादुर मल्लका अनुसार उनीहरूलाई ठमेलको होटल पेन्गुइनबाट नियन्त्रणमा लिइएको हो। मल्लले भने, “शंकास्पद अवस्थामा नियन्त्रणमा लिइएका उनीहरू अहिले खानेपानी मन्त्रालयका अधिकारीहरूसँग छलफलमा छन्।”
एउटा होटलको कोठा बुक गरी अर्काेमा बसिरहेको रहेको अवस्थामा उनीहरू फेला परेका थिए। प्रहरी नायब उपरीक्षक मल्लले क्रिश्चियानो क्रोसेको राहदानी मन्त्रालयका अधिकारीहरूले लिएका छन्। उनीहरूमध्ये एक जना कसरी भाग्न सकिन्छ भनेर जान्न त्रिभुवन विमानस्थलसम्म पुगेको बताइएको छ।