१७ पुसदेखि सत्याग्रह थाल्ने डा. गोविन्द केसीको चेतावनी
डा. गोविन्द केसीले सरकारले आफूसँग गरेका सम्झौता पालना नगरेको बताउँदै आन्दोलनको चेतावनी दिएका छन्।
तत्काल सम्झौता पालना नगरे १७ पुसदेखि सत्याग्रहको आन्दोलनमा उत्रिने डा. केसीले २ पुसमा विज्ञप्तिमार्फत चेतावनी दिएका हुन्।
विज्ञप्तिमा प्रत्येक प्रदेशमा कम्तीमा एउटा सरकारी मेडिकल कलेज खोल्न सरकारले अझै तदारुकता नदेखाएको उल्लेख छ। यस्तै, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पूर्वाधार र जनशक्ति हुँदाहुँदै पनि राजनीतिक दबाबका कारण स्नातकोत्तरको अनुमति दिन नेपाल मेडिकल काउन्सिलले आनाकानी गरिरहेको दाबी विज्ञप्तिमा गरिएको छ।
काठमाडौंमा निजी मेडिकल कलेज खोलेर व्यापार गर्न चाहनेहरू कर्णालीमा एमबीबीएस शुरु हुन नदिन अनेक प्रपञ्चमा लागिरहेको आरोप डा. केसीले लगाएका छन्। विज्ञप्तिमा स्वास्थ्य मन्त्रालयको सचिवमा कानूनबमोजिम चिकित्सकहरू मध्येबाट नियुक्त गर्नुपर्नेमा गैर–चिकित्सकलाई नियुक्ति दिइएकामा आपत्ति जनाइएको छ।