प्रिमियर लिगः लिभरपुल शीर्षस्थानमा, आर्सनल र युनाइटेड पराजित
लिभरपुल इङलिस प्रिमियर लिगको अंक तालिकामा पुनः शीर्ष स्थानमा उक्लिएको छ।
आइतबार राति सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडलाई ३-१ गोलले पराजित गर्दै लिभरपुलले लिगमा पुनः अग्रता कायम गरेको हो। यसअघि शीर्षस्थानमा रहेको लिभरपुललाई उछिन्दै म्यानचेस्टर सिटीले पहिलो स्थान ओगटेको थियो। सिटीले शनिबारको खेलमा एभर्टनलाई ३-१ गोलले नै पराजित गरेको थियो।
लिभरपुललाई शीर्षस्थानमा फर्काउन जद्रान शाक्विरीले २ र साडियो मानेले एक गोल गरे।
एनफिल्डमा सम्पन्न खेलमा लिभरपुलले पहिलो हाफमा मानेको गोलमा अग्रता लिएको थियो। तर, पहिलो हाफको अन्त्यतिर जेसी लिंगार्डले गोल गर्दै युनाइटेडलाई बराबरीमा ल्याएका थिए। दोस्रो हाफमा सब्स्टिच्युट खेलाडीका रूपमा मैदान प्रवेश गरेका शाक्विरीले दुर्इ गोल गरेपछि योर्गन क्लोपको टिमले एनफिल्डमा युनाइटेडविरुद्ध चार वर्षयताको पहिलो जित निकालेको हो।
यो जितसँगै लिभरपुल ४५ अंकसहित शीर्षस्थानमा छ। दोस्रो स्थानको सिटीको ४४, तेस्रो टोटनहमको ३९ र चौथो स्थानमा रहेको चेल्सीको ३७ अंक छ।
आइतबारको खेलमा चेल्सीले ब्राइटनलाई २-१ ले पराजित गर्यो। चेल्सीको जितमा इडेन हजार्डले गोल गरे भने उनले नै अर्को गोलका लागि पेड्रो रोड्रिग्वेजलाई शानदार पास उपलब्ध गराइदिएका थिए।
चेल्सीलाई पछ्याइरहेको आर्सनल भने आइतबारको खेलमा साउथह्याम्टनबाट ३-२ गोल अन्तरले पराजित भएको छ। समान खेलबाट आर्सनलको ३४ अंक छ।