१० लाख बढी पर्यटक भित्रिएको खुशीयालीमा केक काटियो, प्रदेश मन्त्री भन्छन् ‘पर्यटनबाटै समृद्धि निश्चित’
एकै वर्षमा अपेक्षाभन्दा बढी बाह्य पर्यटक नेपाल भित्रिएको भन्दै गण्डकी प्रदेश सरकारले केक काटेर खुसीयाली मनाइएको छ ।
नेपालमा १० लाख बढी पर्यटक भित्रिएको उपलक्ष्यमा पर्वतमा आयोजना गरिएको कार्यक्रममा गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले केक काटेका हुन् ।
सन् २०१८ (डिसेम्बर महीनाको गणना नगर्दै) नेपालमा १० लाख एक हजार ३०० बाह्य पर्यटक भित्रिएको सरकारी तथ्याङ्क छ ।
यसअघि सबैभन्दा बढी सन् २०१५ मा आठ लाख ६० हजार पर्यटक नेपाल भित्रिएका थिए ।
कार्यक्रममा मन्त्री लम्सालले गत वर्षभन्दा पर्यटक आगमनको दर ३० प्रतिशतले बढेको बताउँदै पर्यटन क्षेत्रबाटै समृद्धि निश्चित भएको दाबी गरेका छन् ।
मन्त्री लम्सालले गण्डकी प्रदेशले सन् २०२२ लाई पर्यटन वर्षका रूपमा मनाउन लागेको उल्लेख गर्दै सो अवधिसम्म वार्षिक २० लाख पर्यटकको संख्या टाउको गनेरै देखाउने प्रतिबद्धता जनाएका छन् ।
उनले पर्यटकको आगमनलाई मध्यनजर गर्दै गण्डकीमा पर्यटन पूर्वाधार निर्माण गर्न थालिएको पनि जानकारी दिए ।
उनले भने, “प्रदेश सरकारले ११ वटै जिल्लामा रहेका पर्यटकीयस्थललाई प्राथमिकतामा राखेर पूर्वाधार निर्माणका लागि बजेट विनियोजन गरेको छ ।” रासस